बैंकिङ प्रणालीमा एक महिनामै ५२% ले घट्यो तरलता, ब्याजदर बढ्ने निश्चित




काठमाडौं । बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) संकुचन हुँदै गएको छ । तरलता अभाव हुँदै गएपछि बैंकहरुले आपसमा सापटी लिएर गर्जो टार्न थालेका छन् ।

हाल बैंकिङ प्रणालीमा १७ अर्ब ९४ करोड रुपैयाँ तरलता मौज्दात छ । गत साउन २१ गतेसम्म बैंकिङ प्रणालीमा ३७ अर्ब ३७ करोड रुपैयाँ बढी लगानी योग्य रकम थियो । एक महिना नबित्दै प्रणालीबाट ५२ प्रतिशत अर्थात् १९ अर्ब ४२ करोड रुपैयाँले घटेको छ ।

कर्जाको मागको तुलनामा बैंकहरुले निक्षेप संकलन गर्न नसक्दा प्रणाली तरलता घट्दै गएको हो । यसबीच केही संस्थाहरुलाई राष्ट्र बैंकले तोकेको सीआरआर र एसएलआर समेत व्यवस्थापन गर्न समस्या परेको राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बताए ।

‘अहिले बैंकहरुमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढ्न सकेको छैन्, केही बैंकहरुलाई पास भइसकेको कर्जा, सीआरआर र एसएलआरसमेत व्यवस्थापन गर्न समस्या छ,’ प्रवक्ता ढकालले क्लिकमाण्डूसँग भने, ‘यसले गर्दा बैंकहरुले गर्जो टार्नका लागि आपसी सापटी गर्दा अन्तर बैंक कारोबारको ब्याज समेत बढेको छ ।’

बैंक तथा वित्त कम्पनीहरुले कुल निक्षेपको ३ प्रतिशत सीआरआरमा राख्नु पर्छ ।

‘राष्ट्र बैंकमा राख्नु पर्ने सीआरआर नपुग्दा बैंकहरुले अन्तर बैंक सापटी लिएका हुन्,’ ढकालले भने, ‘दिनभरी आउने डिपोजिटभन्दा झिक्ने रकम बढी हुने बित्तिकै बैंकहरुले एक अर्कासँग सापटी लिएर जम्मा गर्नु पर्ने ठाँउमा गर्छन् ।’

अनुमानितभन्दा बढी कारोबार भएपछि बैंकहरुलाई सीसआरआरमा राख्नुपर्ने पैसा राख्न आपसी सापटी कारोबार बढाएसँगै ब्याजदर पनि बढेको हो । प्रणालीमा मौज्दात लगानी योग्य रकम नहुँदा अन्तर बैंक कारोबारमा बैंकहरुले माग बढाउँदा अन्तर बैंक ब्याजदर बढेको उनको भनाइ छ ।

एक बैंकले अर्को बैंकसँग ७ दिनसम्मका लागि निश्चित ब्याजदरमा सापटी लिन पाउने सुविधा राष्ट्र बैंकले दिएको छ । यस्तो कारोबारको ब्याजदर हाल ४.८६ प्रतिशत पुगेको छ । एक महिनाबीचमा अन्तर बैंक ब्याजदर ३.९२ बिन्दु प्रतिशतले बढेको हो ।

गत साउन २१ गते बैंकहरुले ०.९३ प्रतिशत ब्याजदरमा अन्तर बैंक कारोबार गरेका थिए । सो समयमा बैंकहरुले १२ अर्ब ५५ करोड रुपैयाँ बराबरको अन्तर बैंक सापटी कारोबरा गरेका थिए ।

ब्याजदर बढेता पनि अन्तर बैंक कारोबार भने १० अर्ब रुपैयाँ बराबरको मात्र भएको छ ।

बैंकहरुले आफ्नो संस्थामा थप लगानी गर्ने रकम सकिन्दै गएपनि अर्को बैंकमा सापटीको डिमाण्ड उच्च ब्याजदरमा गर्छन् । जसले गर्दा गर्जो टार्नै समस्या भएको बैंकहरुले उच्च ब्याजदरमा अन्तर बैंक सापटी लिइरहेका छन् । यस्तो कारोबारको ब्याजदर प्रणालीमा तरलता बढ्दै जाँदा घट्दै जान्छ ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी २८ अर्ब ८२ करोड रुपैयाँ अन्तर बैंक कारोबार साउन २५ गते ३.१९ प्रतिशत ब्याजदरमा भएको थियो । सो समयमा बैंकिङ प्रणालीमा १८ अर्ब ५० करोड तरलता मौज्दात थियो । चालु आवमा सबैभन्दा थोरै साउन ३ गते बैंकहरुले ३ अर्ब रुपैयाँमात्र अन्तर बैंक सापटी कारोबार गरेका थिए । सो समयमा यस्तो कारोबारको ब्याजदर ०.७३ प्रतिशत थियो भने, प्रणालीमा १ खर्ब १८ अर्ब ४४ करोड रुपैयाँ तरलता मौज्दात थियो ।

बैंकहरुले मागअनुसार कर्जा आपुर्ति गर्न संस्थामा पर्याप्त रकम नहुँदा अर्को बैंकबाट सापटी लिन्छन् । तर, नयाँ कर्जा प्रवाह गर्न भने अन्तर बैंक सापटी बैंकहरुले लिदैँनन् । पास भइसकेको कर्जा तोकिएको समयमा दिनको लागि संस्थामा पैसा भएन भने बैंकहरुले अर्को बैंकबाट सापटी लिने हुन् ।

यसरी छोटो अवधिका लागि लिइने कर्जाको ब्याजदर बैंकको आवश्यकता र मागअनुसार घटबढ भइरहन्छ । प्रणालीमा तरलता सहज हुँदा अन्तर बैंक ब्याजदर घट्ने र तरलता संकुचन हुँदै जाँदा ब्याजदर बढ्ने प्रचलन रहेको प्रवक्ता ढकालले जानकारी दिए ।


क्लिकमान्डु