चालु आवको पहिलो महिनामै निर्यातमा उल्लेखनीय वृद्धि, कुनको निर्यात कति ?



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा निर्यात उल्लेखनीय रुपमा बढेको छ ।

वैदेशिक व्यापार वस्तुस्थिति व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा निर्यात ९.७ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको पहिलो महिनामा नेपालले १ खर्ब ७१ अर्ब ५० करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।

पहिलो महिनामा निर्यात ११५.९ प्रतिशतले वृद्धि भई २० अर्ब ७७ करोड पुगेको छ भने आयात ७५.७ प्रतिशतले वृद्धि भई १ खर्ब ६० अर्ब ७३ लाख पुगेको छ ।

कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १२.१ प्रतिशत र ८७.९ प्रतिशत रहेको छ ।

केन्द्रका अनुसार उक्त अवधिमा नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरूमा भटमासको तेल, पामतेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, जुट तथा जुटका सामानहरू, सूर्यमुखी तेल, तयारी पोशाक, फेल्टका उत्पादन, जुस, अलैंची, चिया, कपडा, पश्मिना शल, चाऊचाऊ, फलाम तथा फलामका उत्पादन छन् ।

चालु आवको पहिलो महिनामै आयात तथा निर्यातको ग्राफ उच्च बनेको छ । नेपालबाट मुख्य निर्यातित वस्तुमध्ये साउन महिनामा पोलिष्टर यार्नको निर्यात उच्च भएको देखिन्छ ।

केन्द्रको तथ्याङ्क अनुसार एक महिनाको अवधिमा धागो (पोलिष्टर यार्न) को निर्यात ९९.३ प्रतिशतले वृद्धि भएको छ । नेपालले साउन महिनामा मात्रै १ अर्ब १० करोडको धागो निर्यात भएको छ ।

त्यस्तै, भटमासको तेलको निर्यातमा २९५.८ प्रतिशतले वृद्धि भएको छ । नेपालले भटमासको तेल मात्रै एक महिनामा ८ अर्ब ९९ करोडको निर्यात गरेको छ । साथै भारतले पामआयल निर्यातको बाटो खुल्ला गरेसँगै नेपालबाट २ अर्ब १६ करोडको निर्यात भएको छ ।

परम्परागत नेपाली निर्यातजन्य वस्तु ऊनी गलैंचाको निर्यातमा १७.३ प्रतिशतले वृद्धि भई ८० करोड १२ लाख रुपैयाँको निर्यात गरेको छ ।

त्यसैगरी जुट तथा जुटका उत्पादनको निर्यातमा ६४.२ प्रतिशतले वृद्धि भई ७९ करोड ७१ लाख रुपैयाँको निर्यात गरेको तथ्याङ्कले देखाउँदछ ।पछिल्लो समय सूर्यमुखी तेल पनि नेपालको प्रमुख निकासीयोग्य वस्तुमा प्रमुख देखिएकोमा नेपालले एक महिनाको अवधिमा सूर्यमुखी तेल ७९ करोड १९ लाखको निर्यात गरेको छ । त्यस्तै नेपालको अर्काे परम्परागत निर्यातजन्य वस्तु तयारी पोशाकको निर्यातमा २२ प्रतिशतले वृद्धि भई ६३ करोडको निर्यात गरेको छ ।

अर्को प्रमुख निर्यातजन्य वस्तु फेल्टको निकासीमा २०.५ प्रतिशतले वृद्धि भई ५० करोडको, जुसको निकासीमा २४१.३ प्रतिशतले वृद्धि भई ४६ करोडको निर्यात गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा प्रशोधित खाद्य तेल (भेटमासको तेल, पामआयल, सूर्यमुखी तेल) को निर्यातले नेपालको कुल निर्यातमा ५७.५ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रुपमा अगाडि देखिएको छ । यस अवधिमा यी वस्तुहरुको कुल निर्यात १२ अर्ब २० करोड रहेको छ ।

प्रशोधित खाद्य तेलको निर्यातमध्ये भटमासको तेल, पामतेल तथा सूर्यमुखी तेलको निर्यातको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः ४३.३ प्रतिशत, १०.४ प्रतिशत र ३.८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा नगण्यरुपमा निर्यात भइरहेको पामआयलको निर्यात चालु आर्थिक वर्षको पहिलो महिनामै २ अर्ब १५ करोड बराबरको हुनु सकारात्मक पक्ष रहेको केन्द्रको भनाई छ ।

निर्यात घटेका वस्तुहरू
कृषिजन्य वस्तुको निर्यातमा मुख्य स्थान लिइरहेको उत्पादन अलैँचीको निर्यातमा चालु आवको पहिलो महिनामै २५.१ प्रतिशतले घटेको छ । सो अवधिमा अलैँचीको निर्यात ३५ करोड ६५ लाखमा सीमित हुन पुगेको छ ।

त्यसैगरी चियाको निर्यातमा ५७.९ प्रतिशतले घटेर ३३ करोडमा सीमित हुन पुगेको छ । आइरन तथा स्टिल सामग्रीमा २२.७ प्रतिशतले कमी हुन गई १४ करोड ८७ लाखमा सिमित भएको छ । साथै औषधीजन्य जडीबुटीमा १८.६ प्रतिशतले, अदुवाको निर्यातमा ०.२ प्रतिशत, अन्य तेलमा २८.४ प्रतिशत र लेन्टिल्समा २२.२ प्रतिशतले ह्रास आएको छ ।

नेपालबाट निकासी हुने प्रमुख गन्तव्यमध्ये प्रमुख स्थान भारततर्फको निर्यातमा १६७ प्रतिशतले वृद्धि भई १६ अर्ब ८७ करोड रुपैयाँको निर्यात भएको छ ।

नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६५.७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा सो हिस्सा बढेर ८१.२ प्रतिशत पुगेको छ ।

नेपालको निर्यातमा ५७.६ प्रतिशत योगदान दिने भटमास, पामआयल र सूर्यमुखी तेलहरुको निर्यात भारतमा नै धेरै भइरहेकाले नेपालको कुल निकासीमा भारततर्फको हिस्सामा यस्तो बढोत्तरी देखिएको हो ।

नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकहरुमा संयुक्त राज्य अमेरिका, जर्मनी, टर्की, बेलायत, फ्रान्स, जापान, अष्ट्रेलिया, इटाली, क्यानडा, चीन, नेदरल्याण्ड्स, डेनमार्क, बंगलादेशआदि रहेका छन् ।

फलाम तथा स्टीलजन्य कच्चा पदार्थको आयातमा ११५ प्रतिशतले वृद्धि
आव २०७८/७९ को प्रथम महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थमा १३२.९ प्रतिशतले वृद्धि भई १६.१८ अर्बको आयात गरेको छ ।

त्यसैगरी फलाम तथा स्टील र तिनका उत्पादनहरूको आयातमा ११५.२ प्रतिशतले वृद्धि भई १६ अर्ब ६२ करोड, मेशिनरी तथा पार्ट्समा ८९.३ प्रतिशतले वृद्धि भई १० अर्ब ८४ करोड, यातायातका साधन र तिनका पार्टपुर्जामा १२३.८ प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीहरूमा ७६.४ प्रतिशतले वृद्धि भई ६ अर्ब ११ करोड, अन्नको आयातमा १.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ७१ करोड, तयारी पोशाकको आयातमा ३१.५ प्रतिशतले वृद्धि भई २ अर्ब ४८ करोडको आयात गरेको छ ।

औषधीको आयातमा ६९.८ प्रतिशतले वृद्धि भई ३ अर्ब २० करोड पुगेको छ । कच्चा भटमाटको तेलको आयातमा २२५.१ प्रतिशतले वृद्धि भई ८ अर्ब ३२ करोडको आयात भएको छ । दूरसञ्चारका सामग्रीको आयातमा २६.७ प्रतिशतले वृृद्धि भई ६ अर्ब १२ करोडको आयात भएको छ ।

नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकहरुमा भारत, चीन, अर्जेन्टीना, युएई, इन्डोनेसिया, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, पाराग्वे, क्यानडा, ब्राजील, जापान, हङकङ, युक्रेन तथा मलेसिया जस्ता मुलुकहरु रहेका छन् ।

भौतिक संरचना निर्माणका सामाग्रीहरु जस्तैः फलाम, स्टील तथा तिनका सामानहरु, आल्मुनियम, तामा जस्ता वस्तुहरुको आयातमा भएको वृद्धिले मुलुकको विकासमा सकारात्मक योगदान दिएको केन्द्रले उल्लेख गरेको छ । मुलुकका लागि अतिआवश्यक कच्चा पामआयल, कच्चा भटमासको तेल, कच्चा सूर्यमुखी तेल, पोलिथिन ग्य्रानुअल, रबर, रसायन जस्ता कच्चापदार्थहरुको आयातमा उल्लेख्यरुपमा वृद्धि भएको छ ।

पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएतापनि पेट्रोलियम पदार्थको अधिकांश आयात औद्योगिक उत्पादन, मालवस्तु ढुवानी तथा सार्वजनिक यातायातमा खपत भइरहेका सन्दर्भमा यी वस्तुहरुको आयातले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन महत्वपूर्ण योगदान दिएको केन्द्रले गरेको समीक्षामा उल्लेख छ ।


क्लिकमान्डु