नेटवर्किङ चक्रव्यूहः संसदीय समितिको निर्देशन विपरीत वाणिज्यले दियो २ कम्पनीलाई इजाजत



काठमाडौं । संसदीय समितिको निर्देशन विपरीत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्री–वितरण गर्ने २ वटा कम्पनीलाई खुसुक्क इजाजत दिएको छ ।

वस्तुको प्रत्यक्ष बिक्री वितरणका नाममा इजाजत लिएका कम्पनीहरुले अवैध नेटवर्किङ धन्दा चलाउन खोजेपछि संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले २०७७ साउन १६ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई त्यस्तो इजाजत नदिन निर्देशन दिएको थियो ।

सांसद सोमप्रसाद पाण्डेयको संयोजकत्वमा गठित अध्ययन उपसमितिले दिएको सुझावअनुसार समितिले मन्त्रालय र विभागलाई १८ बुँदे निर्देशन दिँदै तत्काल इजाजत रोक्न भनेको थियो । तर समितिको उक्त निर्देशनपछि पनि वाणिज्य विभागले २ वटा कम्पनीलाई इजाजत दिएको तथ्य क्लिकमाण्डूले फेला पारेको छ ।

विभागले केयर नेसन इन्टरनेसनल र अपि लाइफ प्राइभेट लिमिटेडलाई इजाजत दिएको हो ।

केयर नेसनलका संस्थापक भनिएका राजु गौतम र विनिता गुरुङ विगतमा युनिटी ठगी काण्डमा मुछिएका व्यक्तिहरु हुन् । त्यस्तै, अपि लाइफ प्राइभेड लिमिटेडमा अर्घाखाँचीका नेपाली कांग्रेसका नेता रामबहादुर बिसी र म्याग्दीका ओम पुनको लगानी रहेको छ ।

नयाँ कम्पनीलाई इजाजत दिन रोक लगाएको संसदीय समितिले इजाजत लिइसकेका कम्पनीको कारोबार रोक्ने भन्ने विषयमा भने कुनै निर्देशन दिएन । ती कम्पनीले अहिले पनि निर्वाध रुपमा व्यवसाय चलाइरहेका छन् ।

हाइप्रोफाइलको नेटवर्किङ धन्दाः यी कम्पनी र व्यक्तिले गर्दैछन् प्रत्यक्ष बिक्रीको नाममा ठगी
गतवर्ष साउनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइबोस ग्लोबल लाइफ इन्टरनेसनललाई वस्तुको प्रत्यक्ष बिक्रीका लागि भन्दै पहिलो इजाजत दियो । त्यसयता नेचरहब्र्स इन्टरनेसनल प्रालि, न्यू विवेक इन्टरनेसनल प्रालि (डिएक्सएन) युटर्न इन्टरनेसनल प्रालि, केयर मार्टस् इन्टरनेसनल प्रालि, ग्लोबल ओरियन्स प्रालि र हेल्दी लिभिङ प्रालिका नाममा कम्पनीहरु वाणिज्य विभागमा दर्ता भएका छन् ।

यी कम्पनीमा संलग्न व्यक्तिहरु यसअघि नेपालमा अवैध नेटवर्किङ व्यवसाय चलाएर अर्बौं ठगी गरेका व्यक्तिहरु हुन् । यसअघि नेपालमा युनिटी, हर्बो, विन–विन, गोल्डक्वेस्ट, क्युनेट, डियोसफ्ट, प्राइम, एलटी एभरेस्ट हर्बल, क्विक अर्निङ, ड्रिम डेभलपर्स ट्रेडमार्क, फुल्टन ट्रेडमार्कलगायतका नामबाट नेटवर्किङ धन्दा चलिरहेका थिए ।

डाइरेक्ट सेलिङ एसोसियसन नेपालका नामबाट संगठनसमेत खुलेको छ । नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी यसका अध्यक्ष हुन् । पूर्व न्यायाधिवक्ता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख बाबुराम कुँवरको नाम नेचर हब्र्ससँग जोडिन्छ । त्यस्तै, पूर्वडिआइजी छवि जोशी पनि नेचर हर्ब्ससँग जोडिएका अर्का हाइप्रोफाइल व्यक्ति हुन् ।

नेचर हर्ब्सका सञ्चालक आफूलाई गीतेन्द्रबाबु राई र जीबी राई भनेर चिनाउने गीतेन्द्र बहादुर राई हुन् । राई र जोशी हालै स्थापना भएको ठूलो लगानी एक टेलिभिजनका सञ्चालकसमेत हुन् ।

अनन्त बाबु राई र निशा राईको नाम पनि यो कम्पनीको संस्थापनसँग जोडिन्छ । त्यस्तै, नेत्रपाणि बाँस्तोला, कुमार रम्तेल, माधव खनाललगायतका व्यक्तिहरु यो कम्पनीको माथिल्लो रहेका व्यक्तिहरु हुन् । एनआरएन मलेसियाका पूर्वअध्यक्ष विश्व राई, महासचिव हेमराज सापकोटालगायत व्यक्तिहरुले विदेशमा काम गर्न गएका नेपाली कामदारलाई नेटवर्किङको जालमा फसाउने काम गर्दै आएका छन् ।

न्यू विवेक राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रहेका भीमसेन गुरुङको कम्पनी हो । डिएक्सएन नामले चिनिने यो कम्पनीमा मुक्तिसेन गुरुङ डाइरेक्टर हुन् । मलेसियामा डिएक्सएनका नामले चिनिएको यो नेवर्किङ कम्पनीलाई नेपालमा शाखाका रुपमा ल्याएको देखिन्छ ।

भारतमा नेटवर्किङ सञ्जाल फैलाइरहेको कम्पनी भेस्टिजको शाखाका रुपमा हेल्दी लिभिङ प्रालिले नेपालमा काम गरिरहेको देखिन्छ । रिद्धिआनन्द शिल्पकार र टेम्पा शेर्पाले यो कम्पनी चलाइरहेका छन् । मल्टि लेभल मार्केटिङ (एमएलएम) भनेर यो कम्पनीले नेपालमा लामो समयदेखि नेटवर्किङ व्यवसाय चलाइरहेको छ ।

अहिले इजाजत पाएको अर्को कम्पनी ग्लोबल ओरियन्स प्रालिसँग जोडिएका थुप्रै व्यक्तिलाई पनि यसअघि प्रहरीले पक्राउ गरिसकेको छ । २०७६ कात्तिकमा ग्लोबल मार्केटिङ प्रालिका नामबाट कञ्चनपुर, कैलाली, बाँके, बर्दिया दाङ लगायत जिल्लाबाट ५ जना पक्राउ परेका थिए ।

इजाजत पाएको अर्को कम्पनी युटर्न इन्टरनेसनल प्रालिसँग पनि हाइप्रोफाइल व्यक्तिहरु जोडिन्छन् । लायन्स क्लब काठमाडौंका केही पूर्वपदाधिकारी तथा पदाधिकारी यसमा जोडिएका छन् ।

अवैध नेटवर्किङ धन्दाका घटना
२०७५ वैशाखमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइबोस ग्लोबल मार्केटिङका नामबाट ठगी गर्ने ७ जनालाई पक्राउ गर्यो । सिआइबीले पक्राउ गर्दा यो कम्पनीको सञ्चालक काभ्रेका राजकुमार दंगाल रहेको विवरण सार्वजनिक गर्यो । यो ठगी प्रकरणमा रामेछापका भक्तबहादुर नेपाली, रवीन नेपाली, पूर्णबहादुर श्रेष्ठ, तिर्सना सुनुवार, भक्तपुरका नारायण शिवाकोटी र सोलुखुम्बुका प्रदीप राईलगायत संलग्न रहेको सिआइबीको रेकर्डमा देखिन्छ ।

२०७६ साउनमा प्रहरीले नेटवर्किङ व्यवसायमा गर्ने ३ जनालाई चितवनबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पोखरामा गण्डकी हर्बल स्टोर्स चलाइरहेका पर्वत जलजला गाँउपालिका वडा नम्बर ७ मिलनचोकका होमनाथ जैसी र सोही स्थानमा बस्ने २४ वर्षे सरोज शर्मा तथा काठमाडौं महानगरपालिका वडा नम्बर ४ टोखा बस्ने प्रदीप रिजाल थिए । यी व्यक्तिहरुसँग ग्लोबल ओरियन्सको नाम जोडिएको थियो ।

गोल्डक्वेस्टले ठगी गरेको भन्दै यसका सदस्यहरुको गुनासो बढ्न थालेपछि यहि समूहका व्यक्तिहरुले युनिटीका नामबाट अर्को नेटवर्क चलाए । त्यहि समूहका केहि व्यक्तिहरु अहिले पनि ठगी धन्दामा सक्रिय छन् ।

प्रहरीले २०७४ जेठ २८ गते पुरानो बानेश्वरको सिद्धार्थ फुडल्याण्डमा छापा हान्यो । ‘क्यु नेट’ का नामबाट ठगी धन्दा चलाइरहेको व्यक्तिहरुले आफ्ना सदस्यहरुलाई प्रशिक्षण दिईरहेको अवस्थामा त्यहाँबाट १ सय २ जना पक्राउ परे । त्यसमध्ये १४ जनालाई क्युनेटको सञ्चालक रहेको भन्दै प्रहरीले बाँकीलाई रिहा गर्यो । क्युनेट प्रकरणमा सौरभ गोयन्का, सुमित श्रेष्ठ, श्वेता बस्नेत, प्रकृति बुढाथोकी, नरेश मल्ल, सिर्जना सिंह, अंकिता श्रेष्ठ, विकल्प श्रेष्ठ, क्षितिज पौडेल, ओम गुरुङ, विशन गुरुङ, किरण जोशी, सुमित मानन्धर, र प्रमेश मानन्धरलगायतको नाम जोडिएको थियो ।

त्यस्तै, २०७४ माघमा ‘विन–विन’ का सञ्चालकहरु प्रहरीको फन्दामा परे । यो समूहसँग अरु तीनवटा समूहहरु ड्रिम डेभलपर्स ट्रेडमार्क प्रालि, विनविन ट्रेडमार्क प्रालि र फुल्टन ट्रेडमार्क प्रालिको सम्बन्ध थियो । ठगीको यो प्रकरणमा दर्पण लामा, कुशलराम चौधरी, रञ्जित मगर, सुमिना लिम्बू, प्रेम गोतामे, डम्मर प्रधान, मेघराज तामाङ, तासी लामा, सन्तोष खरेल, पशुपति तामाङ, केहरमान गुरुङ, प्रजा छन्त्याल, सुमित्रा लिम्बू र रामप्रसाद चौधरीलगायतका व्यक्तिहरुको नाम जोडिएको थियो ।

ज्ञानेन्द्र मगरल, आकाश रानाभाट, कृष्ण बुढाथोकी, निरु रानामगर, सुदर्शन थापा, प्रितम पाठक, गौतम गुरुङ, रश्मी गुरुङ, दिनेश चौधरी र त्रिलोक रानामगरसमेत यो ठगी प्रकरणमा जोडिएका नामहरु हुन् ।

त्यो बेला उनीहरु विरुद्ध ३७ लाख ५८ हजार रुपैयाँ बराबर बिगो दावी गरी अदालतमा मुद्दासमेत दायर भएको देखिन्छ । चन्दित सिंह मोक्तान, दावा लामा, देवराज कार्की, जित लामा, जुना मगर, तासी लामा, जमुना गुरुङ, वसन्त थापा, अमिर गुरुङ र मोहन गिरीलाई पनि प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेको थियो ।

यी व्यक्तिहरु अहिले पनि कुनै न कुनै रुपमा नेटवर्किङको ठगी धन्दामा संलग्न रहेको हुनसक्न भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

२०७६ साउनमा चितवनमा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने एलटी एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रालिका अध्यक्ष सुनसरी धरान उपमहानगरपालिका ७ बस्ने सुमन भनिने ३७ वर्षीय जहरमान घिसिङ तथा सदस्यहरु गोरखा पालुङटार नगरपालिका १० का ३९ वर्षीय डिबी भनिने दलबहादुर गुरुङ र रुपन्देहीको बुटवल महानगरपालिका ९ का ४३ वर्षीया पार्वती केसी पक्राउ परे ।

२०७४ चैतमा अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने दुई विदेशी नागरिकलाई पनि प्रहरीले पक्राउ गर्यो । महानगरीय प्रहरी परिसरको टोलीले नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने भारतका तरसेम शर्मा र बंगलादेशका राहत हसन राणालाई पक्राउ गरेको थियो । शर्मा र राणाले फोरक्स अनलाइन मनी मार्केट कम्पनीमा रहेको वेस्टर्न एफएक्स कम्पनीको नेपाली एजेण्ट भएको भन्दै ठगी गरेका थिए ।


क्लिकमान्डु