तालिबानी अर्थव्यवस्था र अफिमसँगको सम्बन्ध



तालिबानले गरेको दावीअनुसार उनीहरुले अफगानिस्तानमा शासन गर्दा अफिममा बन्देज लगाएका कारण ड्रग्सको गैरकानूनी कारोबार रोकिएको थियो ।

सन् २००१ ताका अफगानिस्तानमा अफिमको उत्पादनमा कमी आएको थियो तर केही वर्षपछि भने तालिबानको कब्जामा रहेका स्थानमा अफिमको फेरि खेती बढ्न थालेको थियो ।

अफिमलाई परिष्कृत गरेर अत्यधिक नशालु हुने हिरोइन जस्तो ड्रग्स तयार पारिन्छ ।

युनाइटेड नेसन्स अफिम अन ड्रग्स एण्ड क्राइम्स (यूएनओडीसी)का अनुसार अफिमको सबैभन्दा ठूलो उत्पादक अफगानिस्तान हो ।
विश्वभरमा उत्पादित अफिमको ८० प्रतिशतभन्दा धेरै हिस्सा अफगानिस्तानले ओगटेको छ ।

२०१८ मा यूएनओडीसीको आँकलनअनुसार अफगानिस्तानको कुल अर्थव्यवस्थामा ११ प्रतिशत योगदान अफिमको थियो ।

अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने, ‘जब–जब हाम्रो सरकार बनेको छ तब ड्रग्सको उत्पादन बन्द भएको छ, पुनः एकपटक हामी अफिम खेतीलाई शुन्यमा पुर्याउने छौँ, कुनै तस्करी हुनदिने छैनौँ ।’

तालिबानको तथ्यांक के छ ?
अमेरिकी विदेश मन्त्रालयका अनुसार तालिबानको शासनकालमा अफिमको खेती झनै बढेको छ । यो क्रम १९९८ मा ४१ हजार हेक्टर जमिनमा हुन्थ्यो भने २००० मा यो बढेर ६४ हजार हेक्टरमा खेती हुन थालेको थियो ।

संसारभरमा कुल अफिम उत्पादनको करीब ३९ प्रतिशत अफगानिस्तानको हेलमन्द प्रान्तमा उत्पादन हुन्छ र यस प्रान्तका अधिकांश भूभाग तालिबानको नियन्त्रणमा छन् ।

तर, जुलाई २००० मा तालिबानले आफ्नो नियन्त्रणमा रहेका भूभागमा अफिम खेतीमा बन्देज लगाएको थियो ।

सन् २००१ मे महिनामा प्रकाशित यूएनको रिपोर्टअनुसार तालिबान नियन्त्रित भू–भागमा अफिमको उत्पादनमा लगाइएको बन्देज पूर्णरुपमा सफल भएको थियो ।

तालिबानले अफिम खेतीमा बन्देज लगाएपछि अन्तर्राष्ट्रियस्तरमा पनि अफिम र हिरोइन समातिने क्रममा कमी आएको थियो ।
तर, यसपछि स्थितिमा केही परिवर्तन आउन थाल्यो ।

अफगानिस्तानको अघिल्लो सरकारले अफिमको नियन्त्रित खेती गरेको भएपनि धेरैजसो अफिम भने तालिबान नियन्त्रित भू–भागबाट नै उत्पादन हुन्थ्यो ।

उदाहरणका लागि हेलमन्द दक्षिणी अफगानिस्तानको प्रान्त हो । यहाँका अधिकांश जमिनमा सन् २०२० मा अफिमको खेती गरिएको थियो । त्यो भू-भाग तालिबानको नियन्त्रणमा थियो ।

अफिमबाट तालिबानको आम्दानी
अफगानिस्तानमा अफिमको खेती रोजगारको सबैभन्दा बलियो क्षेत्र हो । यूएनओडिसीको अफगानिस्तामा अफिमको सर्भेअनुसार लगभग १ लाख २० हजार मानिसहरु अफिम खेतीमा निर्भर थिए ।

अमेरिकी विदेश विभागका अनुसार तालिबानले अफिममा कर लगाएर आम्दानी गर्दछ । साथै गैरकानूनीरुपमा अफिम राख्दा र त्यसको तस्करी गर्दा पनि अप्रत्यक्षरुपमा आम्दानी हुन्छ । अफिम खेतीगर्ने किसानबाट १० प्रतिशत कर असुल गरिन्छ ।

अफिमबाट हिरोइन बनाउने प्रक्रिया ल्यावबाट पनि कर असुल गरिन्छ । र, यसको कारोबारीले पनि कर बुझाउँछन् । एउटा सर्वेक्षणका अनुसार गैरकानूनी रुपमा ड्र्ग्सको कारोबारबाट पनि तालिबानले कम्तीमा १०० देखि ४०० मिलियन डलर प्रतिवर्ष आम्दानी गर्दछ ।

अमेरिकी वाचडग स्पेशल इन्स्पेक्टर जनलरल फर अफगान रिकन्स्ट्रक्सनका अनुसार तालिबानको प्रतिवर्ष आम्दानीमा ६० प्रतिशत हिस्सा गैरकानूनी ड्रग्स कारोबारबाट भएको आम्दानीको हुन्छ ।

ड्रग्सको प्रयोग कहाँ हुन्छ ?
अफगानिस्तामा उत्पादन हुने अफिमबाट हिरोइन बनाइन्छ । जसको ९५ प्रतिशत प्रयोग यूरोपमा हुन्छ ।

अमेरिकी ड्रग इन्फोर्समेन्ट एजेन्सीका अनुसार अमेरिकामा हिरोइन आपूर्तिको एक प्रतिशत हिस्सा अफगानिस्तानबाट आउँछ । अमेरिकामा आपूर्ती हुने ड्रग्सको अधिकांश हिस्सा भने मेक्सिकोबाट आउँछ । सन् २०१७ र २०२० का बीचमा ९० प्रतिशतभन्दा धेरै लागूपदार्थको तस्करी सडकको माध्यमबाट भएको थियो । तर अहिले हिन्द महासागर र यूरोपकाबीचमा समुद्रमार्गबाट धेरै ड्रग्स बरामद गरिएको छ ।

अफिमको खेती, उत्पादन र त्यसलाई बरामद गर्ने मामिलालाई ग्राफमा हेर्ने हो भने बितेका दुई दशकमा अफगानिस्तानमा यो क्रम निरन्तर बढिरहेको स्पष्ट देख्न सकिन्छ ।

अमेरिकी वाचडग स्पेशल इन्पेक्टर जनरल फर अफगान रिकन्स्ट्रक्सनका अनुसार अफिम बरामद र तस्करहरुको गिरफ्तारीले यसमा कुनैपनि असर गरेको देखिन्न ।

जसअनुसार सन् २००८ देखि हालसम्म जतिपनि अफिम बरामद भएको छ त्यो २०१९ को उत्पादनको जम्मा ८ प्रतिशत मात्रै हिस्सा हो । –बीबीसी


क्लिकमान्डु