आधाभन्दा बढी राष्ट्रियस्तरका विकास बैंकले खुद नाफा आर्जनमा वाणिज्य बैंकलाई उछिने



काठमाडौं । गत आर्थिक वर्षमा राष्ट्रियस्तरका विकास बैंकहरुले खुद नाफा साढे ५ अर्ब रुपैयाँ बढीले कमाएका छन् । जुन अघिल्लो आवको तुलनामा ६८.९५ प्रतिशत अर्थात् २ अर्ब २८ करोड ४९ लाख रुपैयाँ बढी हो ।

अघिल्लो आवको राष्ट्रियस्तरका विकास बैंकहरुको खुद नाफा ३ अर्ब ३१ करोड ३९ लाख रुपैयाँ थियो ।

साथै, सो अवधिमा ८ वटा राष्ट्रिय विकास बैंकहरुले ४ अर्ब १० करोड ५८ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेका छन् । गत आवको असार मसान्तसम्म ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुको कुल चुक्ता पुँजी २६ अर्ब ९२ करोड ३३ लाख रुपैयाँ छ ।

जसका आधारमा राष्ट्रियस्तरका विकास बैंकहरुले गत आवको नाफाबाट लगानीकर्तालाई औषतमा १५.२५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छन् ।

हाल नेपालमा १८ वटा विकास बैंकहरु सञ्चालनमा छन् । जसमध्ये ८ वटा राष्ट्रियस्तरका र १० वटा क्षेत्रीयस्तर र जिल्लास्तरका विकास बैंकहरु हुन् ।

हाल राष्ट्रियस्तरका विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवाविकास बैंक, लुम्बिनी विकास बैंक, साइनरेसुंगा डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंक हुन् ।

वाणिज्य बैंकहरुलाई पछि पार्दै राष्ट्रियस्तरका आधा बढी विकास बैंक
राष्ट्रियस्तरका विकास बैंकहरु सबैले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । सो अवधिको वित्तीय विवरण वाणिज्य बैंकहरुले समेत सार्वजनिक गरिसकेका छन् । जसमा आधाभन्दा बढी राष्ट्रियस्तरका विकास बैंकहरुले भने वाणिज्य बैंकहरुले भन्दा धेरै खुद नाफा आर्जन गरेका छन् ।

खुद नाफामा वाणिज्य बैंकहरुलाई समेत पछि पार्नेमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंकले वाणिज्य बैंकहरुभन्दा बढी खुद नाफा कमाएका छन् ।

मुक्तिनाथ विकास बैंकले नेपाल एसबीआई बैंक, सेञ्चुरी बैंक र सिभिल बैंकलाई खुद नाफा आर्जनमा पछि पारेको छ भने गरिमा विकास बैंकले सेञ्चुरी र सिभिल बैंकलाई पछि पारेको छ ।

साथै, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंकले सिभिल बैंकको भन्दा बढी खुद नाफा कमाएका छन् । नेपाल एसबीआई बैंकले गत आवमा ९६ करोड, सेञ्चुरी बैंकले ७५ करोड र सिभिल बैंकले ५५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

कुन विकास बैंकको खुद नाफा र लाभांश क्षमता कति ?
मुक्तिनाथ विकास बैंकः
बैंकले गत आर्थिक वर्षमा १ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६२.७० प्रतिशत अर्थात् ४४ करोड ३५ लाख रुपैयाँ बढी हो । यो नाफा नेपाल एसबिआई बैंक, सेञ्चुरी र सिभिल बैंकको भन्दा धेरै हो ।
साथै, सो अवधिमा बैंकको ८६ करोड ५ लाख ३२ हजार रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ४ अर्ब ८१ करोड १५ लाख रुपैयाँको आधारमा बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई १७.८८ प्रतिशत लाभांश वितरण गर्न सक्छ ।

गरिमा विकास बैंकः बैंकले गत आर्थिक वर्षमा ८२ करोड ५२ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४२.९७ प्रतिशत अर्थात् २४ करोड ८० लाख ३२ हजार रुपैयाँ बढी हो । बैंकको यो खुद नाफा सेञ्चुरी र सिभिल बैंकको भन्दा धेरै हो ।
साथै, सो अवधिमा बैंकको ६० करोड ५७ लाख १२ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँको आधारमा बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई १८.७० प्रतिशत लाभांश वितरण गर्न सक्छ ।

ज्योति विकास बैंकः बैंकले गत आर्थिक वर्षमा ७४ करोड १६ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५१.९७ प्रतिशत अर्थात् २५ करोड ३२ लाख २३ हजार रुपैयाँ बढी हो । बैंकको यो खुद नाफा सिभिल बैंकको भन्दा धेरै हो ।
साथै, सो अवधिमा बैंकको ६० करोड ३० लाख ३४ हजार रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँको आधारमा बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई १५.६८ प्रतिशत लाभांश वितरण गर्न सक्छ ।

महालक्ष्मी विकास बैंकः बैंकले गत आर्थिक वर्षमा ७३ करोड २९ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७१.०२ प्रतिशत अर्थात् ३० करोड ४३ लाख ५१ हजार रुपैयाँ बढी हो । बैंकको यो खुद नाफा सिभिल बैंकको भन्दा धेरै हो ।
साथै, सो अवधिमा बैंकको ५६ करोड ३८ लाख ५५ हजार रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँको आधारमा बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई १६.९६ प्रतिशत लाभांश वितरण गर्न सक्छ ।

कामना सेवा विकास बैंकः बैंकले गत आर्थिक वर्षमा ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४ सय ८४.९० प्रतिशत अर्थात् ५८ करोड ५ लाख २१ हजार रुपैयाँ बढी हो । बैंकको यो खुद नाफा सिभिल बैंकको भन्दा धेरै हो ।
साथै, सो अवधिमा बैंकको ४३ करोड ४५ लाख २१ हजार रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड १९ लाख रुपैयाँको आधारमा बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई १६.३८ प्रतिशत लाभांश वितरण गर्न सक्छ ।

लुम्बिनी विकास बैंकः बैंकले गत आर्थिक वर्षमा ५१ करोड ६२ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३६.३८ प्रतिशत अर्थात् १३ करोड ७७ लाख २७ हजार रुपैयाँ बढी हो ।
साथै, सो अवधिमा बैंकको ३७ करोड ७ लाख ९३ हजार रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ९० करोड ६४ लाख रुपैयाँको आधारमा बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई १२.७६ प्रतिशत लाभांश वितरण गर्न सक्छ ।

साइनरेसुंगा डेभलपमेन्ट बैंकः बैंकले गत आर्थिक वर्षमा ५१ करोड ४५ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २१.६८ प्रतिशत अर्थात् ९ करोड १६ लाख ६४ हजार रुपैयाँ बढी हो ।
साथै, सो अवधिमा बैंकको ३७ करोड ८९ लाख ५७ हजार रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ४० करोड ८४ लाख रुपैयाँको आधारमा बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई ११.१२ प्रतिशत लाभांश वितरण गर्न सक्छ ।

सांग्रिला डेभलपमेन्ट बैंकः बैंकले गत आर्थिक वर्षमा ४१ करोड ६९ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १ सय १८.१८ प्रतिशत अर्थात् २२ करोड ५८ लाख ८३ हजार रुपैयाँ बढी हो ।
साथै, सो अवधिमा बैंकको २८ करोड ८३ लाख ९३ हजार रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ७३ करोड ६९ लाख रुपैयाँको आधारमा बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई १०.५४ प्रतिशत लाभांश वितरण गर्न सक्छ ।


दिलु कार्की