असोज मसान्तसम्म १ करोड २ लाख खोप प्राप्त हुने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज मशान्तसम्ममा थप १ करोड २ लाख खोप प्राप्त हुने बताएका छन् ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म १ करोड ८ लाख ६० हजार १ सय ७० मात्रा कोभिड १९ विरुद्धको खोप प्राप्त भएको जानकारी दिए ।

उनले असोज मशान्तसम्म १ करोड २ लाख प्राप्त हुने र माघ मशान्तसम्ममा ३ करोड २३ लाख मात्रा खोप प्राप्त हुने बताए । त्यस्तै माघ महिनासम्ममा ५ करोड २३ लाख मात्रा उपलब्ध हुनेपनि उनले बताए ।

‘हालसम्म प्राप्त भइसकेको १ करोड ८ लाख ६० हजार १ सय ७०, प्रक्रियामा रहेको खोप ३ करोड ३६ लाख ७१ हजार ९ सय ५०, जसमध्ये असोज मसान्तसम्म १ करोड २ लाख प्राप्त हुने, माघ मसान्तमा ३ करोड २३ लाख थप प्राप्त हुने, माघसम्म आपुर्ति हुने अनुमान ५ करोड २३ लाख डोज खोप उपलब्ध हुनेछ ।’उनले भने ।

राज्यमन्त्री श्रेष्ठले नेपाली जनतालाई कुल ५ करोड ५० लाख खोप आवश्यक रहेको उल्लेख गर्दै केपी ओली नेतृत्वको सरकारले ९७ लाख खोप प्राप्त गरी असार महिनाको अन्तिमसम्ममा ४२ लाख खोप जनतालाई उपलब्ध गराइएको बताए ।

उनले नयाँ सरकारले ७५ लाख खोप लगाएको पनि उल्लेख गर्नुभयो । वर्तमान सरकारले दैनिक १ लाख ५० हजारदेखि २ लाखसम्म खोप लगाएको जानकारी दिए ।

‘नेपाली जनतालाई कुल ५ करोड ५० लाख खोप आवश्यकता छ । पुर्ववर्ती सरकारको पालामा ९७ लाख खोप प्राप्त गरी असार महिनाको अन्तसम्म ४२ लाख खोप मात्र जनतालाई उपलब्ध गराइएको थियो । नयाँ सरकार आएपछि हिजोसम्म ७५ लाख खोप लगाइएको छ । वर्तमान सरकारले खोपलाई अभियानको रुपमा प्रत्येक दिन १ लाख पचासहजार देखि २ लाख खोप लगाउने थालनी गरेको छ । असोज मसान्त सम्म भुटानबाट प्राप्त समेत १ करोड ८ लाख प्राप्त हुने सुनिश्चित भएको छ । सुनिश्चित भए अनुसार नेपाली जनतालाई कमसेकम ३३ प्रतिशत जनतालाई खोप लगाउने कार्यक्रमहरु राखिएको छ ।’ श्रेष्ठले जानकारी दिदै भने ।

विगत एक हप्ताको आँकडा अनुसार कोभिड १९ संक्रमणदर बढेकोले सबैलाई जनस्वास्थ्यको मापदण्ड अपनाएर सुरक्षित हुन अपिल गरे ।
राज्यमन्त्री श्रेष्ठले हाल ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु १९ पुगेको जानकारी दिनुभयो । आगामी पाँच महिनामा थप अनुमानित १ लाख ९३ हजार संक्रमित हुने। करिब ३८ हजारलाई अस्पताल भर्ना आवश्यक पर्ने र ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्ने प्रक्षेपण मन्त्रालयले गरेको उनले उल्लेख गरे ।

‘विगत एकहप्ताको कोभिडको आँकडा हेर्दा फेरी कोभिडको संक्रमणदर क्रमशः बढ्दै गइरहेको छ । यतिबेला देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार नाघिसकेको छ । अहिलेको संक्रमणदर २५ प्रतिशतको हाराहारीमा रहेको छ । म यो सदनमार्फत् सबैलाई सावधानीपूर्वक जनस्वास्थ्यको मापदण्ड अपनाउन पुन अपिल गर्न चाहान्छु । कोभिड १९ बाट हालसम्म ७ लाख ७५ हजार ३ सय ९१ जना संक्रमित भएका छन् भने ६ लाख ७५ हजार ८३ जना निको भइसकेको छ । १० हजार १ सय ८० जनाले अमुल्य जीवन गुमाउनु परेको छ ।

हालसम्म कुल जनसंख्याको १३ प्रतिशतको परिक्षण भएको । हालसम्म कुल जनसंख्याको २.६ प्रतिशत संक्रमित भएका छन् । औसत पोजेटिभ प्रतिशत १९.४ प्रतिशत रहेको । हाल देशभरी संक्रमित ३८ हजार ३३ रहेका छन् । मृत्युदर १.५ हिजोदेखिको मितिबाट १० हजार १ सय ८० दुखद निधन भएको तथ्यांक छ ।

हाल ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु १९ पुगेको छ । आगामी पाँच महिनामा थप अनुमानित १ लाख ९३ हजार संक्रमित हुने करिब ३८ हजारलाई अस्पताल भर्ना आवश्यक पर्ने र जसमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्ने प्रक्षेपण अनुसार द्रुत कार्ययोजना बनाएर तयारी गरिएको छ ।’

बन्द रहेको विद्यालयहरुमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्नका लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारीका लागि खोप ल्याउने गृहकार्य पनि अगाडी बढाइएको जानकारी स्वास्थ्यराज्यमन्त्री श्रेष्ठले दिए ।

‘लामो समयदेखि बन्दप्राय रहेका पठन पाठन लगायत शैक्षिक क्रियाकलापको निरन्तरको लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारी छ यसको लागि किशोर किशोरी लक्षित खोप ल्याउने गृहकार्य अगाडी बढाइएको सम्मानीत सदनलाई जानकारी गराउन चाहान्छु ।’उनले भने ।


क्लिकमान्डु