बैंक तथा वित्तीय संस्था र जलविद्युत् कम्पनीको नाफा कोर बिजनेसभन्दा सेयर आम्दानीबाट बढी



काठमाडौं । नेपाल बंगलादेश बैंक(एनबी) बैंकले ब्याज आम्दानी घटेपनि ८४ प्रतिशतले नाफा बढाउन सफल भयो । बैंकको ब्याज आम्दानी घटेपनि ट्रेडिङले साथ दिएका कारण एनबी बैंक नाफा ८४ प्रतिशतले बढाउन सफल भएको हो ।

पछिल्लो एकवर्षमा सेयर बजार बढ्दो क्रममा भएपछि एनबी बैंकले यसको फाइदा उठाउँदा ब्याज आम्दानी घटेपनि नाफा बढाउन सफल भएको हो ।

सरकारी लगानीको कृषि विकास बैंकले पनि ब्याज आम्दानी घटेपनि ११ प्रतिशतले नाफा बढाएको छ । कृषि विकास बैंकले नाफा बढ्नुको पछाडि सेयर ट्रेडिङबाट भएको आम्दानी तथा बैंकले जग्गा बेचेको कारण नाफा बढेको छ ।

सेयर बजारमा बढी लगानी गर्ने भनेर चिनिएको मन्जुश्री फाइनान्सले पनि ब्याज आम्दानी घटेपनि सेयर बजारबाट गरेको फाइदाको कारण गत वर्ष ५६ करोड ८१ लाख रुपैयाँ नाफा गरेको छ । मन्जुश्री फाइनान्सको ब्याज आम्दानी ११ करोड रुपैयाँले घटेपनि अन्य सञ्चालन आम्दानी ५६ करोडले बढ्दा नाफा बढाउन सफल भएको हो ।

पछिल्लो एकवर्षदेखि सेयर बजार बुलिस ट्रेण्डमा छ । पछिल्लो एकवर्षमा कतिपय बैंक तथा वित्तीय संस्थाको ध्यान नै व्यवसाय बढाउन भन्दा सेयर बजारबाट आउने आम्दानीलाई फोकस गर्न हुन थालेपछि नेपाल राष्ट्र बैंकले यसमा कडाइ गरेको थियो ।
बैंक तथा वित्तीय संस्थालाई अल्पकालीन सेयर कारोबार गर्नका लागि राष्ट्र बैंकले रोक नै लगाएको छ ।

गत आर्थिक वर्षमा सेयर बजारबाट पूँजीगत लाभकर करिब १४ अर्ब रुपैयाँ उठेको छ । यसरी करिब गत आर्थिक वर्षमा मात्र सेयर बजारबाट साढे २ खर्ब रुपैयाँ लाभ भएको देखिएको छ ।

नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहाल पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाल कोभिडको समयमा किस्ता र ब्याज उठ्नुमा सेयर बजारबाट भएको आम्दानी पनि प्रमुख रहेको बताउँछन् ।

बढ्दो सेयर बजारमा गरिएको ट्रेडिङबाट लाभ उठाउनेमा बैंक तथा वित्तीय संस्थामा मात्र रहेका छैनन् ।

जलविद्युत् कम्पनी न्याङ्दी ग्रुप पावर लिमिटेडको पनि जलविद्युत् बेचेरभन्दा सेयर ट्रेडिङबाट हुने आम्दानी बढी छ । न्याङ्दी ग्रुप पावरले अघिल्लो वर्षभन्दा विजुली बेचेर आउने आम्दानी करिब ५ करोड रुपैयाँले घटेको छ । तर, सेयर ट्रेडिङबाट भने १२ करोडले आम्दानी बढाएको छ ।

सेयर बजारका जानकार दिलिप मुनकर्मी जुन व्यवसायका लागि संस्था खोलिएको हो त्यो भन्दा फरक व्यवसायबाट नाफा बढ्नुको विषयलाई गम्भीर रुपमा हेर्नुपर्ने बताउँछन् ।

‘बैंक तथा वित्तीय संस्थाले ब्याज आम्दानी व्यवसाय गर्न नसक्नु, जलविद्युत्ले विजुली बिक्रीबाट आउने आम्दानीले संस्था चलाउन नसक्नु तर, अन्य सञ्चालन आम्दानीमा भर पर्नुले भविष्यमा समस्या निम्तन सक्छ,’ उनले भने ।

सेयर बजार अहिले बुलिस ट्रेण्डमा गएको अवस्थामा क्षणिक लाभ भएपनि संस्था जुन उद्देश्यका लागि खोलिएको त्यसको आम्दानी बढ्न नसकेमा ति संस्थाले गर्ने व्यवसायमाथि प्रश्न उठ्न सक्ने उनको बुझाइ छ ।


क्लिकमान्डु