बाइक छाडेर स्कुटर चढ्ने बढे



काठमाडौं । काठमाडौं कपन बस्ने कौशल जोशीले बजाज डिस्कभर मोटरसाइकल बेचेर टीभीएसको एन्टर्क स्कुटर खरिद गरे । स्कुटर बहुपयोगी भएकाले मोटरसाइकल बेचेर स्कुटर खरिद गरेको उनी बताउँछन् । स्कुटरले उनको किराना व्यवसायमा पनि सहयोग पुर्याइरहेको छ ।

‘मोटरसाइकलको तुलनामा स्कुटरमा सामान राख्न सजिलो छ । मोटरसाइलकमा डोरीले बाँधेर सामान राख्नुपथ्र्याे,’ उनले भने, ‘स्कुरटको अघिल्लो खाली भागमा समान राख्न सकिन्छ ।’ स्कुटर खरिद गरेदेखि सामान डेलिभरी गर्न सहज भएको उनको अनुभव छ ।

त्यसमाथि, एनर्टकको स्मार्ट फिचरले स्कुटरले किन्न आकर्षित गरेको उनको भनाई छ । एनर्टकमा मोबाइल कनेक्ट गर्ने विकल्प छ । मोबाइलमा एप डाउनलोड गरेपछि ब्लूटूथबाट स्कुटरमा मोबाइल कनेक्ट गर्न सकिन्छ । स्कुटरको डिजिटल कन्सोलमा कसैको फोन वा म्यासेज आएको देख्न सकिन्छ । उक्त फिचरका कारण कन्सोलमा हेरेरै फोन रिसिभ गर्ने कि नगर्ने भन्ने निक्र्यौल निकाल्न सकिन्छ ।

विगत २ वर्षदेखि स्कुटर चढ्दै आइरहेका भक्तपुर बालकोटका रवि पण्डित स्कुटर ‘फेमिली ट्रान्सपोर्टेसन’ बन्न रुचाउँछन् । स्कुटर महिला पुरुष दुवैका लागि उपयुक्त छ । स्कुटर खरिद गरेसँगै श्रीमतीलाई पनि सजिलो भएको उनको बुझाइ छ ।

‘मोटरसाइकल श्रीमतीले चलाउन सक्दिनन् थिइन्,’ पण्डितले भने, ‘अहिले उनले पनि चलाउन सक्ने भएकी छन् ।’

आवश्यकता अनुसार दुवैले प्रयोग गर्न सक्ने भएकाले सरसमान खरिदका लागि बजार जान सहज भएको उनको भनाइ छ । चलाउन सजिलो र समान राख्न मिल्ने हुँदा स्कुटरमा आकर्षण बढेको हो ।

कलेजमा पढ्ने युवायुवती होऊन् वा अफिसमा काम गर्ने, उद्यम व्यवसाय गर्नेदेखि गृहिणीसम्मको रोजाइमा स्कुटर पर्ने गरेको छ । केटाहरुबीच पनि अरूको भन्दा आकर्षक स्कुटर चढ्ने होडबाजी चलेको देखिन्छ ।

पछिल्लो समय सडकमा स्कुटर र मोटरसाइल सरोबरी देखिने गरेको छ । यसले पनि स्कुटरमा उपभोक्ताको आकर्षण बढेको देखिन्छ ।

कुनै समय यस्तो थियो, स्कुटर भन्नेबित्तिकै केटीमात्र चढ्ने बुझिन्थ्यो । सडकमा पनि फाट्टफुट्ट स्कुटरहरू कुदेको देखिन्थ्यो । केटा साथीले स्कुटर चढे गिज्याउँथे । तर, समय परिवर्तन भइसकेको छ । अब स्कुटर केटाकेटी दुवैको यात्राको सारथी भएको छ । स्कुटर केटाहरूको पनि रोजाइमा पर्न थालेको छ । अहिले स्कुटर चलाउने युवायुवतीहरू सरोबरी भेटिन्छन् ।

नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल दुई पांग्रे सवारीका सभापति अभिक ज्योति नेपाली बजारमा स्कुटर सेगमेन्ट भित्रिएदेखि नै यसको बजार प्रयोग बढ्दो क्रममा रहेको बताउँछन् ।

‘सुरुवाती दिनका स्कुटर महिलाका लागि भनेर डिजाइन गरिएको हुन्थ्यो । स्कुटर चढ्ने पनि महिला नै धेरै हुनुहुन्थ्यो,’ सभापति ज्योतिले क्लिकमाण्डूसँग भने, ‘अहिले महिलाले मात्र स्कुटर चढ्नुपर्छ भन्ने मान्यता हराइ सकेको छ । स्कुटर पारिवारिक सवारीसाधनको रुपमा विकास भइरहेको छ ।’

विगतका दिनमा घरमा एउटा मोटरसाइकल भयो भने बुवा र छोराले प्रयोग गर्नुहुन्थ्यो । स्कुटर आमा र छोरीका साथै परिवारका सबै सदस्यले चलाउन सक्छन् । मोटरसाइकलको जस्तो गियर नहुने भएकाले स्कुटर चलाउन तथा सिक्न सजिलो छ ।

स्कुटरको सुरुवात नेपालमा बजाजको चेतकबाट भएको थियो । त्यसपछि हिरो र होण्डको जाइन्ट भेञ्चरमा तयार भएको काइनेटिक स्कुटर नेपाल प्रवेश गरेको उनी स्मरण गर्छन् । एक दशक अघिसम्म स्कुटरको बजारमा होण्डा र हिरोको दबदबा थियो । अहिले स्कुटर बिक्री गर्ने २ दर्जनभन्दा धेरै ब्राण्ड छन् । स्कुटर पनि मोटरसाइकल जस्तै आकर्षण लुक्स र उच्च इञ्जिन क्षमतामा उपलब्ध छ ।

शुरुवातमा स्कुटरको हिस्सा २५ प्रतिशत रहेकोमा अहिले त्यो बढेर करिब ३३ प्रतिशतको हाराहारीमा पुगेको सभापति ज्योति बताउँछन् ।

आकर्षण स्वरुप र उच्च प्रविधिको स्कुटर भित्रिएसँगै ग्राहकको आकर्षण स्कुटरप्रति बढेको सुजीका मार्केटिङ अधिकृत सोयम बस्नेत बताउँछन् ।

‘२/३ वर्ष अघि स्कुटर खोज्न आउने केटाहरु फाट्टफुट्ट भेटिन्थे,’ बस्नेतले भने, ‘अहिले केटाहरु पनि स्कुटर किन्न लालाहित छन् ।’

केटाहरुमा सकभर हेभी तथा महँगा मोटरसाइकल चढौं भन्ने सोच हुन्छ । आर्थिक अवस्थाका कारण धेरैले हेभी मोटरसाइकल किन्न सक्दैन् ।

नव युवाहरु सकभर इन्ट्रीलेभलको मोटरसाइकल चढ्न रुचाउँदैन । इन्ट्रिलेभल मोटरसाइकलकै मूल्यमा स्कुटर खरिद गर्न सकिन्छ । यसले गर्दा पनि धेरै यूवाको रोजाइमा स्कुटर पर्ने गरेको व्यवसायीहरु बताउँछन् ।

इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर बिक्रेता सुपर शोकोका शोरुम सेल्स अधिकृत विवेक खड्का अनुसार स्कुटर मल्टी च्वाईस भएकाले महिला र पुरुष दुबैको रोजाइमा पर्ने गरेको छ ।

‘स्कुटर पारिवारिक सवारीसाधनको रुपमा प्रयोग भइरहेको छ । विवाहितहरुको पहिलो रोजाइ स्कुटर नै हुन्छ । स्कुटर महिला पुरुष दुवैले सजिलै चलाउन सक्छन्,’ खड्काले भने, ‘साथै घरायसी सरसामन बोक्न पनि सहज हुने भएकाले पारिवारिक व्यक्तिको रोजाइमा पर्ने गरेको छ ।’

स्कुटर छोराछोरी दुबैले चलाउन मिल्नेगरी डिजाइन गरिएकाले पछिल्लो समय धेरै परिवारको रोजाइमा स्कुटर पर्ने गरेको बाइक राइडर तथा स्टन गर्ल सुजना श्रेष्ठ बताउँछिन् ।

‘पहिला आमाबुवाले छोराका लागि भनेर मोटरसाइलक किनिदिन्थे । तर अहिले परिस्थिति बदलिएको छ’, श्रेष्ठले भनिन्, ‘मोटरसाइकल किनिदयो भने छोराले मात्र चढ्छन् । तर स्कुटर खरिद गरियो भने दुबैले आवश्यक अनुसार प्रयोग गर्न सक्छन् ।’

छोराछोरीलाई समान नजरले हेर्ने प्रवृत्ति सुधार हुँदै गएकाले पनि स्कुटरको प्रयोग बढेको हुन सक्ने उनको ठम्माइ छ ।

नेपालमा अहिले दुई दर्जनभन्दा धेरै ब्राण्डका स्कुटर बिक्री भइरहेको छ । होण्डा, हिरो, टीभीएस, यामाहा, बेला, अप्रिला, भेस्पा, यूएम, महिन्द्रा, सुजुकी लगायत कम्पनीले स्कुटर बिक्री गरिरहेका छन् ।

केही चिनियाँ ब्राण्डका इलेक्ट्रिक स्कुटर पनि नेपाल भित्रिएका छन् । हरेक वर्ष नयाँ ब्रान्डका स्कुटर नेपाल आइरहेको व्यवसायी बताउँछन् । ग्राहकले आफ्नो आवश्यकता र बजेट अनुसार स्कुटर खरिद गर्न सक्छन् ।


क्लिकमान्डु