साढे २ सय म्यानपावर कम्पनीले १ जना पनि विदेश पठाउन सकेनन्
काटमाठौं । २०६० सालपछि पहिलो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकमा गिरावट आएको छ । कोरोना भाइरस महामारीका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा गिरावट आएसँगै यससँग सम्बन्धित निजी क्षेत्र संकटतर्फ धकेलिएको छ ।
वैदेशिक रोजगारीमा पठाउनेमा ठूलो भूमिका रहेको म्यानपावर व्यवसायी कोभिड-१९ ले गर्दा संकटतिर धकेलेको हो । विगतको दिन सबैभन्दा बढी आम्दानी गर्ने म्यानपावर व्यवसायी करिब १७ महिनादेखि थलिएको अवस्थामा छन् ।
कोरोना महामारीले ठप्प भएका अधिकांश व्यापार व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आए पनि म्यानपावर व्यवसाय हालसम्म सञ्चालनमा आउन सकेका छैनन् । यसले गर्दा अधिकांश व्यवसायी संकटतर्फ धकेलिएको व्यवसायीहरू बताउँछन् ।
आर्थिक वर्ष २०७७÷७८ मा म्यानपावर व्यवसायीको तर्फबाट ६१ हजार ४ सय २८ जना विदेशिएका छन् । तर, गत वर्ष अधिकांश म्यानपावर कम्पनीले १ सयभन्दा बढी श्रमिक पठाउन सकेका छैनन् ।
देशभर ८ सय ५४ वटा म्यानपावर व्यवसायी छन् । तीमध्ये गत वर्षमा एक सय पनि श्रमिक पठाउन नसकेको अवस्थाले गर्दा व्यवसाय टिकाउनै मुस्किल भएको व्यवसायीहरूको भनाइ छ ।
वैदेशिक रोजगार विभागले एजेन्सीमार्फत् वैदेशिक रोजगारीमा पठाउने श्रमिकको सार्वजनिक विवरण अनुसार गत वर्ष २ सय ५१ म्यानपावर कम्पनीले कुनै पनि वैदेशिक रोजगारीमा श्रमिक पठाउन सकेका छैनन्् । यसले गर्दा अधिकांश व्यवसायी विस्थापन हुने क्रममा रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताए ।
कोभिडकै समयमा भए पनि १ सय बढी श्रमिक पठाउने १ सय २३ वटा म्यानपावर कम्पनी मात्रै रहेका छन् । सरकारले म्यानपावर व्यवसायीहरूलाई श्रमिक पठाउनको लागि २ करोडदेखि ५ करोडसम्म धरौटी राख्नु पर्ने व्यवस्था गरेको थियो ।
उक्त धरौटी राखेपनि म्यानपावर कम्पनीले एक सय पनि वैदेशिक रोजगारीमा पठाउन नसके पछि अधिकांश म्यानपावर व्यवसायी अप्ठ्यारोमा रहेको महासचिव श्रेष्ठको भनाइ छ ।
एक हजार बढी पठाउने ९ कम्पनीमात्रै
गत वर्ष १ हजार भन्दा बढी श्रमिक विदेश पठाउने ९ म्यानपावर कम्पनी मात्रै रहेका छन् । जसमा एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रालिले २४ सय ४७ जना कामदार विदेश पठाएर सबैभन्दा बढी पठाउने पहिलो सूचीमा परेको छ ।
त्यस्तै दोश्रोमा २२ हजार ७२ जना विदेश पठाएर शान नेपाल प्रालि परेको छ । यी दुई म्यानपावर कम्पनीले उल्लेख्य संख्यामा कतारमा कामदार पठाएर पहिलो र दोश्रोमा परेका हुन् । यी दुई कम्पनीले दुई हजार बढी श्रमिक वैदेशिक रोजगारीमा पठाएका छन् भने अन्य ७ वटा म्यानपावर कम्पनीले १ हजार भन्दा बढी श्रमिक पठाउन सफल भएका छन् ।
जसमा स्काई स्टार रिक्रुटमेन्टले १४ सय ६२, प्याराडाइज इन्टरनेशनलले १४ सय ४५, एसओएस म्यानपावर सर्भिसले १४ सय २९, भिजन एम्प भ्यालु ओभर्सिजले १३ सय ५५, द रिभर ओभरर्सिजले १३ सय १०, अक्सफोर्ड इन्टरनेशनलले १२ सय ३३ र एएल समित म्यानपावरले ११ सय ३९ कामदार विदेश पठाएका छन् ।
सयभन्दा बढी पठाउने १ सय ७५ म्यानपावर मात्रै
गतवर्ष ८ सय ५४ म्यानपावर कम्पनीमध्ये १ सय ७५ व्यवसायीले मात्रै १ सयभन्दा बढी वैदेशिक रोजगारीमा पठाएका छन् । उक्त कम्पनीहरूमध्ये १० वटा म्यानपावर कम्पनीले ५ सय बढी पठाउन सफल भएका छन् भने ४७ वटा कम्पनीले दुई सयदेखि ४ सय बढी वैदेशिक रोजगारीमा पठाएका छन् ।
साथै, १ सय १६ कम्पनीले १ सयदेखि करिब २ सयको हाराहारीमा वैदेशिक रोजगारीमा पठाएका छन् । त्यसैगरी, १८४ म्यानपावरले ५० देखि ९९ सय जना पठाएका छन् भने ३ सय ३३ जना म्यानपावरले १ देखि ५० जना मात्रै श्रमिक पठाउन सकेका छन् ।
धरौटी रकम फिर्ता भएमा २ सय बढी विस्थापन हुने
सरकारले इजाजत पत्र म्यावनपार व्यवसायीलाई कामदार पठाउनेको आधारमा बैंक धरौटी राख्नुपर्ने व्यवस्था छ ।
श्रम मन्त्रालयले ऐन संशोधन गरेर वार्षिक ५ हजारसम्म कामदार पठाउने म्यानपावर संस्थाले धरौटीबापत १ करोड रुपैयाँ नगद र दुई करोड रुपैयाँको बैंक ग्यारेन्टी बुझाउनुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्थाले गर्दा म्यानपावर व्यवसायीहरू विस्थापन हुन नसकेको महासचिव श्रेष्ठको भनाइ छ ।
‘सरकारसँग बारम्बार छलफल तथा ज्ञापनपत्र बुझाउँदा समेत हालसम्म म्यानपावर व्यवसायीको धरौटी रकम फिर्ता पाएको छैन,’ उनले भने, ‘अझै सरकारसँग वार्ता गर्ने तयारी गरेका छौं । त्यसबाट केही व्यवसायीलाई बचाइराख्न सरकारले सकारात्मक ढङ्गले निर्णय गर्ने आशावादी छौं ।’
वैदेशिक राजगार ऐनको पाँचौं संशोधनमा कुनै पनि धरौटी रकम दुई वर्षसम्म फिर्ता नपाउने उल्लेख गरेको छ । यसले गर्दा अधिकांश म्यानपावर कम्पनीले धरौटी रकम फिर्ता नपाउने भएकाले यसबाट विस्थापन हुन नसकेको उनले बताए ।
उनका अनुसार यदि सरकारले संकटको बेला म्यानपावर कम्पनीले राखिएको धरौटी रकम फिर्ता भएमा करिब २ सय म्यानपावर कम्पनी पूर्णरुपमा विस्थापन हुने भएको हो ।
‘अधिकांश वैदेशिक रोजगारीमा श्रमिक पठाउन नसक्ने व्यवसायीहरू कोही कृषि, कोही घर फर्किसकेका छन् । साथै वैदेशिक रोजगारको भविष्य केहो भन्ने निश्चितता छैन,’ उनले भने ।
अहिले अधिकांश व्यापार व्यवसाय पूर्णसञ्चालनमा रहेको अवस्थामा समेत ५० प्रतिशतमात्रै म्यानपावर व्यवसायी सञ्चालनमा रहेकाले यस क्षेत्रमा आबद्ध व्यवसायी धारासायीमा रहेको उनले जिकिर गरे ।