सुनकोशी मरिण डाइभर्सन आयोजना, आगामी चैतदेखि खन्नेछ टिबिएमले सुरुङ



काठमाडौं । भेरी बबई डाइभर्सन आयोजनाको सफलतापछि सुनकोशी मरिण डाइभर्सन आयोजनामा समेत टनेल बोरिङ मेशिन (टिबिएम)ले सुरुङ खन्ने भएको छ ।

आगामी चैतदेखि सुरुङ खन्ने तयारी गरिएको छ । टिबिएमका लागि आवश्यक अर्डर दिइसकिएको आयोजनाले जनाएको छ । आयोजनका सम्वद्ध अधिकारीका अनुसार आगामी ३ महिनाभित्रमा टिबिएम तयार भएर आयोजना स्थलमा आइपुग्नेछ ।

भेरी बबई आयोजनामा चिनियाँ प्रविधिको अमेरिकन कम्पनीले बनाएको टिबिएम प्रयोग भएको थियो । नेपालको सुरुङ निर्माणको इतिहासमा टिबिएमको प्रयोग नौलो हो । भेरी बबईमा तोकिएको समयमै टिबिएमले सुरुङ खनेकाले सुनकोशी मरिणमा समेतमा सोही प्रविधिको प्रयोग गर्न लागिएको हो ।

सम्बद्ध प्राविधिकहरुका अनुसार कुनै कठिनाई उत्पन्न नभएमा आयोजना स्थलमा आगामी ३ महिनामा नै टिबिएम मेशिन आइपुग्छ । त्यसलाई जडान गर्न बढीमा १५ दिन लाग्नेछ । आवश्यक तयारी गरिसकेपछि आगामी चैतदेखि सुनकोशी मरिणमा दोस्रो पटक प्रविधिको प्रयोग गरिन्छ । विशेष गरी चीनमा जुनसुकै साइजका टिबिएम मेशिनको प्रयोग गरेर सुरुङ खन्ने गरिएको छ । संसारका धेरै देशमा सहज रुपमा टिबिएमको प्रयोग भइरहेको छ ।

नेपालको भौगोलिक धरातल अनुसार पनि टिबिएम नै उपयुक्त हुने देखिन्छ । सुनकोशी मरिणमा जडान हुने टिबिएमले पनि भेरी बबईको जस्तै प्रभावकारी काम गर्ने गरी आवश्यक डिजाइन बनाउन भनिएको छ ।

भेरीमा जस्तै सुनकोशीमा पनि चिनियाँ कम्पनीले नै ठेक्का पाएको छ । केही समय पहिले सिँचाइ विभागले सुरुङ खन्ने ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङलाई दिएको थियो । टिबिएम जडान भएको मितिले करिब २७ महिनामा सुरुङ निर्माण सम्पन्न गर्नुपर्नेछ ।

सिँचाइ विभागले चिनियाँ कम्पनलिाई सो आयोजनाका लागि १० अर्ब रुपैयाँमा ठेक्का लगाएको हो । आयोजनाले महोत्तरी, सर्लाही, धनुषा, रौतटह, बारा र पर्साका कूल १ लाख २२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ ।

आवश्यक तयारी नै नभई खड्ग ओलीले आफूले काम गरेको देखाउन गत फागुन २० गते सो आयोजनाको शिलान्याश गरेका थिए ।

‘शिलान्याश नै गरिहाल्ने समय त भएको थिएन । प्रधानमन्त्री कार्यालयबाट चर्को दबाव आयो, मन्त्री, सचिवलगायतले दबाव थेग्न सक्नु भएन , सोही कारण शिलान्याश गरियो ’ सुनकोशी मरिण डाइभर्सन आयोजनाका एक प्राविधिकले भने ।

उनका अनुसार सुरुङ निर्माण बाहेक अन्य कामका लागि बल्ल ठेक्का प्रक्रिया अगाडि बढाइएको छ । त्यसका लागि सबै प्रक्रिया पूरा गर्न थप समय लाग्नेछ ।

आयोजनाबाट कूल २८.६२ मेगावाट बिजुली समेत उतपादन हुने भएकाले त्यसलाई बहुउद्देश्यीय परियोजनाका रुपमा लिइएको छ । सो आयोजनामा समेत टिबिएमले राम्रो र प्रभावकारी काम गरेको खण्डमा अन्य आयोजना समेत सोही प्रविधिको प्रयोग गर्ने तयारी छ ।

निजी क्षेत्रको ऊर्जा उत्पादनहरुको संस्था नेपाल (इपान)ले यसअघि नै आफूहरु समेत टिबिएममा इच्छुक रहेको बताए पनि हालसम्म उनीहरुले प्रयोग गर्ने आट गरिसकेका छैनन् । तर, अन्य आयोजनाका लागि पनि टिबिएम प्रभावकारी हुने अनुमान गर्न सकिन्छ ।

नेपालमा निर्माण भएका अधिकांश सुरुङ ड्रिलिङ एण्ड ब्लास्ट प्रविधिबाट नै निर्माण भइरहेको छ । जापानी कम्पनी हाज्मा आन्द्रो जेभीले नागढुङ सिस्नेखोलमा निर्माण गरिरहेको सुरुङ समेत ड्रिलिङ एण्ड ब्लास्ट प्रविधिमा नै निर्माण गरिरहेको छ ।

चीनमा त सडक निर्माणमा समेत टिबिएमको प्रयोग भएका समाचार विवरणहरु बेला बेलामा सार्वजनिक हुने गरेको छ ।

भारतमा साना आकारका टिबिएम मेशिन ९० लाख भारुमा पाइन्छ । यस्तै ठूला मेशिनको ४ लाख ५० हजार डलर मूल्यका टिबिएम समेत पाइन्छ ।

यस्तै ठूला साइजका टिबिएमको मूल्य ४५ लाख डलरदेखि ५६ लाख डलरसम्मका छन् ।

टिबिएममा विशेष गरी अमेरिकन कम्पनीको रविन्सन बढी लोकप्रिय रहेको छ । सोही कम्पनीको टिबिएमले टर्कीको १०.१ किलोमिटर लामो सुरुङ निर्माण गरिरहेको छ ।

भारतको आन्ध्रप्रदेश, चीनको सान्छी प्रान्तमा ठूलो जलविद्युत् परियोजना, रसियाको रसिया मेट्रोमा रविन्सनको टिबिएम प्रयोग भइरहेको छ । सिड्नी अर्वान रेलमार्ग, बोस्टन हार्बर परियोजनामा समेत रन्सिनको टिबिएम प्रयोग भएको छ । नेपालको भेरी बबई डाइभर्सन आयोजनमा समेत सोही कम्पनीको टिबिएम प्रयोग भएको हो ।

जेम्स हेनरी गूेथेडले टिबिएमको आविस्कार गरेका थिए । सन् १९५२ मा जेम्स रोविन्सनले आधुनिक टिबिएम मेशिनको विकास गरेका हुन् । उनको पहिलो टिबिएम ओहाइ बाँध परियोजना अमेरिकाको दक्षिण डाकोटामा प्रयोग गरेका थिए ।

चीनको ग्वानजाऊमा मात्रै ७६ वटा टिबिएम मेशन प्रयोग गरेर ४०० किलोमिटर लामो मेट्रो रेल्वे लाइन निर्माण गरिएको छ । सन् २०१९मा मात्रै सबै मेट्रो लाइन सञ्चालनमा आएको हो ।

नेपालको हकका भेरी बबई डाइभर्सन आयोजनाको १२.२१ किलोमिटर लामो सुरङ निर्माण भइसकेको छ । यस्तै, सुनकोशी मरिणमा १३.१ किलोमिटर लामो सुरुङमार्ग निर्माण हुनेछ ।


क्लिकमान्डु