लाइसेन्स लिन चाहने ४ लाख, ट्रायल कहिले खुल्छ ?



काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा अनिश्चित बनेको छ । सरकारले २०७८ बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेसँगै यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन र ट्रायल परीक्षा स्थगन गरेको थियो । लाइसेन्सको आवेदन तथा ट्रायल परीक्षा नखुल्दा लाइसेन्सको परीक्षामा रहेका लाखौं सेवाग्राही मर्कामा परेका छन् ।

विभागका अनुसार लाइसेन्सको आवेदन बन्द हुन अघि करिब ४ लाखभन्दा धेरै सेवाग्राहीको आवेदन परेको छ ।

लाइसेन्स आवेदन तथा परीक्षा स्थगित भएको करिब ३ महिना पुरा हुन लाग्दा पनि आवेदन तथा परीक्षा खुल्ने मिती तय हुन सकेको छैन ।

लाइसेन्सको ट्रायल परीक्षा स्थगन हुँदा धेरै सवारी चालक लाइसेन्स बिनै सवारी चलाउन बाध्य छन् । यसले गर्दा लाइसेन्सका लागि आवेदन दिएका र परीक्षाको मिती कुरेर बसेका समस्या परेका छन् ।

लाइसेन्सको परीक्षा सञ्चालन नहुँदा ट्रायलको पालो कुरेर बसेका सेवाग्राही मर्कामा परेको विभागका महानिर्देशक नमराज घिमिरे स्वीकार गर्छन् ।

लाइसेन्स परीक्षा खुलाउनका लागि प्रदेश अन्तर्गतका लाइसेन्स कार्यालयसँग विभागले छलफल गरिसकेको घिमिरेले जानकारी दिए ।

‘ट्रयाल परीक्षा सञ्चालन गर्नका लागि यातायात कार्यालयहरु तयार देखिएका छन् । तर विभाग र कार्यालयले मात्र चाहेर ट्रायल परीक्षा सञ्चालन सकिने अवस्था छैन । कोरोना महामारीका कारण मुलुकमा निषेधाज्ञा जारी छ,’ घिमिरेले भने, ‘सरकारले भिडभाड हुने सेवा सञ्चालन नगर्नु भनेको छ । सीसीएमसी र प्रदेश सरकारको अनुमतिको आवश्यक पर्छ ।’

सीसीएमसी र प्रदेश सरकारले अनुमती दिए ट्रयाल परीक्षा सञ्चालन गर्न सकिने उनी बताउँछन् । विभागले साउन ९ गतेदेखि नै लाइसेन्सको आवेदन र ट्रयाल परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।

लाइसेन्सको परीक्षा सञ्चालनका लागि सीसीएमसीले अनुमति प्रदान गरिसकेको छैन । अनुमति प्राप्त नभई सकेकाले साउन ९ गतेदेखि आवेदन र ट्रयाल परीक्षा सञ्चालन गर्न सम्भव देखिएको छैन । सीसीएमसीको अनुमतिलाई प्रदेश सरकारले अनुमोदन गरेको एक साताभित्रमा लाइसेन्सको आवेदन र ट्रयाल परीक्षा सञ्चालन गर्न सकिने उनको दावी छ ।

ट्रायल परीक्षाका लागि आवश्यक पूर्वतयारीका लागि लाइसेन्स कार्यालयलाई एक साताको समय दिनुपर्ने हुन्छ ।

२०७६ चैतमा सरकारले लकडाउन जारी गर्दा पनि विभागले लाइसेन्सको आवेदन लिने काम स्थगित गरेको थियो । २०७७ असारदेखि यातायात कार्यालय खुले पनि नयाँ लाइसेन्सको सेवा अवरुद्ध नै थियो ।

२०७७ पुसमा लाइसेन्सको आवेदन विभागले खुलाएको थियो । करिब १० महिनासम्म लाइसेन्सको आवेदन अवरुद्ध हुँदा लाइसेन्स लिन चहानेको संख्या स्वभाविक रुपमा उच्च हुन पुगेको थियो । तत्कालिन समयसम्म लाइसेन्स कार्यालयहरुले देनिक निश्चित कोटाका आधारमा मात्र लाइसेन्स फारम स्वीकार गर्थे । निश्चित कोटा पुर्ती भएपछि सफ्टवेयरले स्वतः आवेदन स्वीकार गर्दैन थियो ।

कोटा प्रणालीका कारण धेरै सेवाग्राहीले लाइसेन्सको फारम भर्न नपाएको भन्दै विभागले २०७७ माघदेखि उक्त व्यवस्था हटायो । नयाँ व्यवस्था अनुसार सेवाग्राहीले जुन पनि समयमा आवेदन दिन सक्ने भए ।

तर सेवाग्राहीको चाप अनुसार यातायात कार्यालयहरुसँग लाइसेन्स परीक्षा सञ्चालन गर्ने आवश्यक पूर्वाधारको अभाव थियो । कार्यालयहरुले आफ्नो क्षमताका अनुसार दैनिक लाइसेन्स परीक्षा सञ्चालन गर्दै आइरहेका छन् ।

कार्यालयहरुको दैनिक क्षमताभन्दा बढी आवेदनलाई भिजिटिङ मिती तोक्दै फारम स्वीकार गर्दै गयो । सफ्टवेयर अनलिमिटेड फारम स्वीकार गर्दा सेवाग्राहीको चाप पनि बढ्दै गयो । चाप उच्च हुँदा लाइसेन्सको आवेदन दिएको एक वर्षभन्दा लामो समयसम्म पालो पर्खेर बस्नु पर्ने बाध्यता देखिएको छ ।

विभागसँग कार्ड छैन

महानिर्देशक घिमिरेका अनुसार विभागसँग स्मार्टकार्डको स्टक लकभग समाप्त भइसकेको अवस्था छ । हाल विभागले स्टक रहेको कार्ड अत्यावश्यक सेवाग्राहीका लागि मात्र उपलब्ध गराउँदै आएको छ । अध्ययन, रोजगारी, शान्ति मिसनलगायत कामका लागि विदेश जानेहरुले आवश्यक कागजात पेश गरेर यस्तो लाइसेन्स पाउँदै आएका छन् ।

ट्रयाल परीक्षा पास भएका र नविकरणका लागि आवेदन दिएका ६ लाखभन्दा धेरै स्मार्ट लाइसेन्स लिन बाँकी रहेको घिमिरेले जानकारी दिए ।

विभागले १४ लाख स्मार्ट कार्ड आपूर्तीका लागि २०७७ मंसिरमा फ्रान्सको कम्पनी ‘सेल्प’ छनौट गरिसकेको छ । तर आपूर्तीका लागि सम्झौता भने भइसकेको छैन ।

यसअघि विभागले मद्रास सेक्यूरिटीसँग खरिद गरेको प्रिन्टर र कार्डबाट लाइसेन्स वितरण गर्दै आइरहेको थियो । विभागले सफ्टवेयर, प्रिन्टर, इडीएल, भीआरएस सिस्टम मद्रासको प्रयोग गर्दै आइरहेको भने कार्ड भने सेल्प कम्पनीको प्रयोग गर्न खोजिरहेको छ । प्रविधि र कार्ड फरकफरक कम्पनीको भएकाले केही प्राविधिक समस्या देखिएको उनले स्वीकार गरे ।

कार्डको आवश्यक परीक्षण बिना स्मार्ट लाइसेन्स छपाइ गर्न उपयुक्त हुँदैन । यसका लागि विभागले परीक्षणका लागि सेल्पसँग ५०० कार्ड माग गरेको छ । ५०० सय कार्डको ल्याब परीक्षणपछि मात्र प्रयोगमा ल्याइनेछ ।

तर, कार्डको ल्याब परीक्षण गर्ने सुविधा नेपालमा छैन । यसका लागि विदेश पठाउनुपर्ने हुन्छ । ल्याबले यो कार्ड स्मार्ट लाइसेन्स छपाईका लागि उपयुक्त हुने प्रमाणपत्र दिएपछि मात्र सेल्पसँग खरिद सम्झौता अघि बढाइनेछ । कोरोनाका कारण कम्पनीले परीक्षणका लागि आवश्यक कार्ड उपलब्ध गराउन नसकेकाले पनि समस्या भएको उनको भनाई छ ।

विभागले २०७२ साल मंसिरदेखि स्मार्ट लाइसेन्स वितरण शुरु गरेको थियो । शुरुवाती चरणमा साविकको बाग्मती अञ्चलबाटै स्मार्ट कार्ड वितरण शुरु गरिएको थियो । तयारी बिनै २०७३ सालदेखि नै अन्य अञ्चलबाट समेत स्मार्टकार्ड वितरण शुरु भएदेखि नै लाइसेन्स वितरण सुस्ती हुँदै आइरहेको छ ।

७० अंक ल्याए लाइसेन्स पाइने

विभागले सवारी चालक अनुमतीपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ जारी गरेको छ । लाइसेन्स लिनको लागि विभिन्न समस्या झेल्दै आएको सर्वसाधारणहरूको सहजताका लागि परीक्षाको नयाँ मापदण्ड गरिएको हो ।

उक्त व्यवस्था नयाँ लाइसेन्सको ट्रयाल खुलेपछि लागू हुनेछ । हाल विधिमान व्यवस्था अनुसार लाइसेन्सको प्रयोगात्मक परीक्षामा सानो गल्ती भए पनि फेल हुन्छ । साथै, पास हुनको लागि १०० पूर्णाङ्कै ल्याउनुपर्ने व्यवस्था रहेको छ । यसले गर्दा सर्वसाधारणले सँधै गुनासो गर्ने भएकाले विभागले सर्वसाधारणको सहजताको परीक्षाको लागि नयाँ निर्देशिका कार्यन्वयनमा ल्याएको विभागको भनाइ छ ।

मोबाइल एपबाट अनुगमन

नयाँ लाइसेन्स लिनका लागि ट्रयाल परीक्षाको अनुगमन मोबाइल एपबाट गरिन्छ । कार्यविधिको व्यवस्थाअनुसार सम्पूर्ण मूल्यांकनका प्रावधान एपमा समावेश गरिएको छ ।

मूल्यांकन अधिकारीले मोबाइल एपमार्फत् ट्रायलको अनुगमन तथा निरिक्षण गर्छन् । ट्रायल दिने व्यक्तिको सवारीसाधनले ८ मा पहिलोपल्ट छोए एप प्रयोग गर्ने अधिकारीले माइनस १० थिच्छन् । दोस्रो पल्ट फेरि छोए फेरि मानइस १० थिच्छन् । तेस्रोपल्ट पनि छोए फेल हुन्छ । परीक्षार्थी ८ भन्दा अघि जान पाउँदैन ।

‘एल’ ब्याकमा पनि एकपटक पछाडि आए माइनस १० हुन्छ र दुईपटक भए फेल हुन्छ । तर र्याम्पमा भने पास हुनैपर्छ । एप लिएर बसेका अधिकारीले हरेक ट्रायल दिने व्यक्तिले सवारी स्टेप स्टेपमा बसेका कर्मचारीले एपबाट अपडेट गर्दै जान्छन् । विभागको केन्द्रिय प्रणालीमा नजिता तयार हुन्छ ।


क्लिकमान्डु