निषेधाज्ञा खुकुलो भएपछि बिजुलीको माग बढ्यो, मध्य वर्षामा समेत भारतबाट आयात



C

काठमाडौं । बाढी पहिरोको असर कम भएपछि नेपाल विद्युत् प्राधिकरणको प्रणाली सुव्यवस्थित रुपमा चल्दा बिजुलीको माग बढेको छ । प्रणालीमा मंगलबार, बुधबार र बिहीबारसम्म कुनै अवरोध नरहेको प्राधिकरणको भारप्रेषण केन्द्रले जनाएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको निषेधाज्ञा क्रमशः खुकुलो बन्दै जाँदा उद्योग प्रतिष्ठानहरु पनि क्रमशः चल्न थालेका छन् । बजार तथा व्यवसाय समेत सञ्चालन हुन थालेको छ । आर्थिक गतिविधि बढ्दै जाँदा विद्युत् माग समेत क्रमशः बढेको हो ।

प्रणालीमा झण्डै १४०० मेगावाटको हाराहारीमा बिजुली उपलब्ध हुने अवस्था छ । सोही कारण पनि माग अनुसार बिजुली उपलब्ध गराउन कुनै समस्या छैन । तर, बाढी तथा पहिरोका कारण केही दिन देशैभरको प्रणालीमा समस्या देखिएको थियो ।

असार १ गते आएको बाढी पहिरोका कारण झण्डै डेढ दर्जन आयोजनामा क्षति पुगेको थियो र प्रणालीबाट झण्डै ५०० मेगावाट बिजुली प्रणालीबाट बाहिरिएको थियो ।

बाढी पहिरोका कारण बन्द भएका आयोजना समेत निरन्तर सञ्चालनमा आएका कारण बिजुली उतपादन समेत यथेष्ठ रुपमा बढेको छ । देशको कूल जडित क्षमता नै १६१० मेगावाटको हाराहारीमा पुगेको छ ।

माथिल्लो तामाकोशीको पहिलो युनिटबाट कूल ७६ मेगावाट बिजुली उत्पादन गरिने भनिए पनि आवश्यकताका आधारमा मात्रै उत्पादन गरिएको आयोजनाले जनाएको छ ।

निजी क्षेत्रका आयोजनाले पनि पूर्णक्षमतामा नै बिजुली उत्पादन गरेको छ । यसबीचमा प्रणालीमा कुलेखानी जलाशयको बिजुली भने उत्पादन गरिएको छैन । सो आयोजनामा ३ वटा यूनिट रहेको छ । पहिलो यूनिटबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट बिजुली उत्पादन हुन्छ ।

प्राधिकरणको प्रणालीमा बिजुली बढी माग हुने साँझको समयमा कूल बिजुली माग बढेर १४३० मेगावाट पुगेको छ । माग अझै बढ्न सक्ने प्राधिकरणको प्रक्षेपण रहेको छ । हाल प्राधिरकणका आयोजनाबाट ९०६९ मेगावाट घण्टा बिजुली उत्पादन भइरहेको छ ।

प्राधिकरणका आयोजनाका तुलनामा निजी क्षेत्रका आयोजनाबाट बढी बिजुली उत्पादन भएको देखिन्छ । निजी क्षेत्रका आयोजनाले १२ हजार ४२१ मेगावाट घण्टा बिजुली उत्पादन गरिरहेको छ । बर्षाको समयमा सेत ८६९७ मेगावाट घण्टा बिजुली आयात भइरहेको छ ।

बाढी पहिरोका कारण कुन बेला के हुन्छ भन्ने ठेगान नभएका कारण भारतबाट पनि नियमित रुपमा बिजुली आयात भइरहेको प्राधिकरणको दावी छ । तुलनात्मक रुपमा कम बिजुली आयात गरिएको प्राधिकरणको भनाइ छ ।

यस्तै कूल माग भने मेगावाट घण्टामा ३० हजार १८७ पुगेको छ । देशभर कुनै पनि प्रसारण लाइनमा समस्या नभएको र कुने पनि अवरोध नभएको बताइन्छ ।

प्राधिकरणले बिजुलीको माग बढाउनका लागि कुनै पनि प्रयास नगरेको भनेर आलोचना समेत भइरहेको छ । रातको समयमा भने ठूलो मात्रामा बिजुली खेर गइरहेको छ ।

खेर गएको बिजुलीलाई खपत गर्नेतर्फ उद्योग प्रतिष्ठानलाई मागे जति बिजुली दिनुपर्ने अवस्था छ । तर, प्रसारण लाइनको अभावमा सो काम हुन सकेको छैन ।

होङसी शिवम् सिमेन्ट उद्योग जोड्ने प्रसारण लाइनको काम झण्डै ९० प्रतिशत सकिएको छ । एक महिनापछि सो उद्योगले थप ८० मेगावाट बिजुली पाउने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु