दुई ठूला संकटबीच विष्णु पौडेलका दुई बजेटः दुवै कार्यान्वयन गर्न पाएनन्



काठमाडौं । निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेट ल्याउने र कार्यान्वयन गर्ने सन्दर्भमा आफ्ना दुबै कार्यकालमा अवसर पाएनन् ।

पौडेलले विनाशकारी भूकम्प र कोभिड १९ महामारीका बीच २ पटक मन्त्री भए र दुबै पटक बजेट ल्याउने अवसर पाएँ । तर कार्यान्वयन गर्ने समयमा अर्थमन्त्रालयको जिम्मेवारी छाड्नु पर्यो । जसका कारण आफैले ल्याएको बजेट कार्यान्वयन गर्न पाएनन् ।

संकटका बेला आएका ती दुवै बजेट कार्यान्वयन गर्न पाएनन् । उनले अरुले ल्याएको बजेट कार्यान्वयन गरे । आफ्नै बजेट कार्यान्वयन गर्ने मौका उनलाई जुरेन ।

नेपालको २९औं अर्थमन्त्रीका रुपमा पौडेलले २०७२ कात्तिकदेखि २०७३ साउनसम्म पहिलो कार्यकाल सम्हालेका थिए । उनको त्यो कार्यकाल डा. रामशरण महतले ल्याएको बजेट कार्यान्वयनमा बित्यो । उनले आर्थिक वर्ष २०७३/७४ को बजेट ल्याए पनि त्यसको कार्यान्वयन गर्न पाएनन् । पौडेलले त्यो बेला ल्याएको बजेट कृष्णबहादुर महराले कार्यान्वयन गरे ।

त्यो अवस्थाको पुनरावृति अहिले फेरि दोहोरियो । पौडेलले अध्यादेशमार्फत् आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याए । तर यसपटक पनि उनलाई कार्यान्वयनको मौका जुरेन । यसपटक उनको बजेट जनार्दन शर्माले कार्यान्वयन गर्नेछन् ।

पौडेलले ल्याएका दुबै बजेट कार्यान्वयन माओवादी केन्द्रबाट आएका अर्थमन्त्रीले गर्नु पनि अर्को संयोग बन्यो ।

राजनीतिक रस्सारक्सी र खल्बलिएको सत्ता समीकरण कै बीच गतवर्ष असोजमा पौडेलले नेपालको ३३औं अर्थमन्त्रीका रुपमा सपथ लिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकार भएपनि अर्थमन्त्रीका रुपमा डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेट उनले कार्यान्वयन गरेका थिए ।

यसरी, पौडेल अघिल्लोपटक र यसअघिको सरकारमा अरुले ल्याएको बजेट कार्यान्वयन गर्ने गरी जिम्मेवारीमा आए । तर आफूले ल्याएको बजेट दुबै कार्यकालमा कार्यान्वयन गर्न पाएनन् । राजनीतिक परिस्थीति र सत्ता समीकरणको लेखाजोखाले पौडेललाई दुवै कार्यकालमा उस्तै संयोग सिर्जना गर्यो ।

प्रतिकुल समयमा अर्थमन्त्री, आर्थिक वृद्धिदर दुवैपटक कम
ओलीको अघिल्लो कार्यकालमा पनि पौडेल नै अर्थमन्त्री थिए । अघिल्लो पटक अर्थमन्त्री हुँदा पनि उनले मुलुकको अर्थतन्त्र अत्यन्त खराब भएको अवस्थामै जिम्मेवारी सम्हालेका थिए ।

विनाशकारी भूकम्प पछिको पुनर्निमाण र नयाँ संविधान जारी भएपछि भारतको नाकाबन्दी खेपिरहेको अवस्थामा उनले आर्थिक वर्ष २०७३/७४ को बजेट ल्याएका थिए । अहिले कोभिड १९ महामारीको संकटका बीच उनले बजेट ल्याए ।

पौडेलले अर्थमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेको पहिलो वर्ष भूकम्प र नाकाबन्दीका कारण अर्थतन्त्र धराशायी अवस्थामा पुगेको थियो । आर्थिक वर्ष २०७२/७३ मा नेपालले ०.२ प्रतिशतको मात्र आर्थिक वृद्धि हासिल गर्न सकेको थियो ।

उनको दोस्रो कार्यकाल अर्थात् गत आर्थिक वर्ष पनि आर्थिक वृद्धिदर निकै कम भयो । गत आर्थिक वर्ष २०७६/७७ मा नेपालले २.१ प्रतिशतको ऋणात्मक बृद्धिदर भोग्नुपर्यो ।

पुँजीबजारका लागि सफल
पुँजीबजारका लागि भने अर्थमन्त्रीका रुपमा विष्णु पौडेललाई लगानीकर्ताले मन पराएँ । अघिल्लो पटक अर्थमन्त्री बन्दा नेप्से तत्कालीन समयमा सबैभन्दा माथिल्लो विन्दु १८ सय पार गरेको थियो । त्यसपछिका मन्त्रीको पालामा पनि पुँजीबजार ओरालो यात्रा कायमै गर्यो । अझ अर्थमन्त्रीका रुपमा डा. युवराज खतिवडाको पालामा त पुँजीबजारका लागि लगानीकर्ताका लागि खराब समय रह्यो भन्दा फरक पर्दैन् । तर त्यसपछि पौडेल अर्थमन्त्री बने लगत्तै पुँजीबजारमा लगानीकर्ता मात्रै थपिएनन्, नेप्से परिसूचकले १८ सयको विन्दु पार गर्दै ३२ सयसम्मको विन्दु छोयो । यसअर्थमा पुँजीबजारका लगानीकर्ताका लागि पौडेल राम्रो मन्त्रीमा गनिए ।


क्लिकमान्डु