निजी क्षेत्रका कम्पनीले अर्बौ कमाउदा सरकारी स्वामित्वको उदयपुर सिमेन्ट किन सधैं घाटामा ?



काठमाडौं । निजी क्षेत्रका सिमेन्ट कम्पनीहरुले वार्षिक अर्बौ रुपैयाँ नाफा गर्दा पनि सरकारी सिमेन्ट कम्पनीहरु भने निरन्तर घाटामै छ । निजी क्षेत्रबाट सञ्चालन भइ सूचिकृत भएको कम्पनी शिवम् सिमेन्टको वार्षिक १ अर्ब रुपैयाँ बढी हुँदा सरकारी कम्पनीमा पनि किन निरन्तर घाटा भइरहेको देखिएको छ ।

आखिर किन सबै घाटामै सञ्चालन हुन बाध्य छन् त सरकारी स्वामित्वका सिमेन्ट उद्योग ?

उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपाने लगातार घटामा जानुमा सञ्चालन खर्च बढी भएका कारणले भएको बताउँछन् भने अर्को पुरानो प्रविधिमै सञ्चालन गर्न बाध्य हुनु रहेको तर्क गछ्र्रन् ।

‘एउटा सिमेन्ट कम्पनीको आयु औसतमा ३० वर्षको हुन्छ, उदयपुर सिमेन्ट ३० वर्ष पुग्न लागेको छ । यस्तो अवस्थामा पनि हामी पुरानै प्रविधिमा आधारित उद्योग हुन बाध्य छौं । जबकी निजी क्षेत्रका कम्पनीहरुले नविनतम प्रविधिको प्रयोग गरिरहेका छन्,’ उनले भने ।

उनका अनुसार अहिले उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन हुने गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा ७५६ रुपैयाँ छ । जसमा उद्योगलाई अहिले पनि १ सय रुपैयाँ घाटा छ ।

प्रतिबोरा सिमेन्टमा भएको घाटा कम गर्न वा नाफा गर्नका लागि उत्पादन क्षमता वृद्धि गर्नुपर्ने हुन्छ । हाल उद्योगको प्रतिदिन ८ हजार मेट्रिक टन अर्थात् १६ हजार बोरा उत्पादन गर्ने क्षमता छ । तर उद्योगमा औसतमा २५० बोरा सिमेन्ट मात्रै उत्पादन भइरहेको छ ।

‘उद्योगमा भइरहेको घाटा नहुनका लागि कम्तीमा दैनिक ८ हजार बोरा उत्पादन गर्नुपर्ने हुन्छ । त्यसभन्दा माथि उत्पादन हुन थालेपछि मात्रै उद्योगले प्रतिबोरामा बेहोर्दै आएको घाटा नाफामा परिणत हुन थाल्छ,’ न्यौपानेले क्लिकमाण्डूसँग भने ।

उनका अनुसार अहिले उद्योगमा भइरहेको अतिरिक्त खर्च कम गर्नुका साथै मर्मतका लागि ठूलो बजेट खर्च भइरहेको छ ।

‘अहिले आरएसपी र किल सेल मर्मत गर्नुपर्ने छ, आरएसपीका लागि अनुमानित २५ करोड र किल सेल मर्मतका लागि अनुमानित ६ करोडभन्दा बढी खर्च हुन्छ । यो मर्मतको काम आगामी नोभेम्बर र डिसेम्बरसम्म सकिन्छ । त्यसपछि मात्रै उत्पादन बढाउन सकिन्छ,’ उनले भने ।

उनले उद्योगमा अहिले केही ठाउँमा कर्मचारीको संख्या बढी र केही ठाउँमा कम भएको बताए । यसका लागि अहिले उद्योगले ओएनएम सर्भे भइरहेको बताए । उनका अनुसार अहिले उद्योगमा ३२८ जना स्थायी गरी कुल ५५० जनाको हाराहारीमा कर्मचारी कार्यरत छन् ।

त्यसबाहेक अहिले एनएफआरएस प्रणाली लागू गर्नका लागि तयारी भइरहेको बताए ।

‘एनएफआरएस लागू भइसकेपछि उद्योगको सम्पत्तिको वास्तविक मूल्यांकन हुनेछ भने यो लागू भइसकेपछि खर्च कटौतीका लागि पहिचान पनि हुनेछ, यसले सञ्चालन खर्च कम गर्न सहयोग पुग्छ,’ उनले भने ।

त्यसबाहेक उद्योगमा जापान सरकारको १ अर्ब ७२ करोड ५० लाख रुपैयाँ ऋण छ । त्यसको ब्याजदरका कारण पनि सञ्चालन खर्च बढेको छ । यसका लागि उद्योगले सरकारको ऋण र ब्याजलाई पुँजीकरण गर्ने प्रस्ताव पनि साधारणसभामार्फत् पारित गरिसकेको छ । यसले आगामी दिनमा ब्याजको भार कम पर्न जाँदा सञ्चालन खर्च पनि घट्ने उनको भनाइ छ ।

कति छ उदयपुर सिमेन्टको घाटा ?
उदयपुर सिमेन्ट आव २०७१/७२ मा १७ करोड ९० लाख र आव २०७२/७३ मा १९ करोड २५ लाख घाटामा थियो ।

तर त्यसपछिका २ आर्थिक वर्ष आव २०७३/७४ मा २ करोड ७७ लाख र आव २०७४/७४ मा १४ करोड २४ लाख नाफामा थियो । तर त्यसपछि फेरि आव २०७५/७६ मा १९ करोड ६३ लाख र आव २०७६/७७ मा ३३ करोड ३६ लाख घाटामा छ । कम्पनीको कुल सञ्चित घाटा आव २०७६/७७ मा बढेर ५ अर्ब २५ करोड १५ लाख रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु