भू-सेवा केन्द्र सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थाले कस्तो प्रक्रिया अपनाउनु पर्छ ?



काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले भू-सेवा केन्द्र सञ्चालन २०७६ को पहिलो संशोधन गरेको छ ।

उक्त संशोधन गरिएको निर्देशिकामा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाले ऋण लिन धितो बन्धक राख्ने प्रक्रियाका लागि मात्रै भू–सेवा केन्द्र सञ्चालन पाउने गरी निर्देशिका संशोधन गरिएको छ ।

विभागले भू-सेवा केन्द्र सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था समेटिएसँगै अब बैंक तथा वित्तीय संस्थाले सजिलै सञ्चालन गर्न पाउनेछन् ।

जसमा बैंक तथा वित्तिय संस्थामा राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्न स्वीकृत लिएका वाणिज्य, बैंक विकास बैंक, फाइनान्स र माक्रोफाइनान्सले अनलाइनबाट धितोबन्धक रोक्का, फुकुवाको निवेदन फाराम भरी भू-सूचना प्रणालीमा दर्ता पहुँच भएको हुनुपर्नेछ ।

साथै विभागले विभिन्न प्रक्रिया तथा के कस्ता पूर्वाधारको व्यवस्था  गर्नुपर्ने भन्ने उल्लेख गरेको छ । त्यस्तै उक्त भू-सेवा सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थाले के कस्ता प्रक्रिया र के-कस्ता पूर्वाधारको व्यवस्था गर्नुपर्ने भन्ने तोकेको छ ।

यस्तो छ प्रक्रिया
भू-सेवा केन्द्र सञ्चालन गर्न चाहने कर्मचारी सञ्चय कोष, नागरिक लागानी कोष, बैंक तथा वित्तिय र सहकारी संस्थाले https://public.dolma.gov.np वेवसाइटमार्फत् अनलाइन निवेदन दिनुपर्ने पर्नेछ ।

उक्त निवेदन दिँदा संस्थाहरूले केन्द्रीय कार्यालय रहेको क्षेत्र हेर्ने कार्यालयमा निवेदन दिनुपर्नेछ । निवेदन पेश गर्ने संस्थाले निवेदन साथ संलग्न गरेका कागजातहरूको सक्कल प्रति अनलाइन निवेदन पेश गरेको सात दिनभित्र अनुसुची-१ बमोजिमको निवेदनसहित सम्बन्धित कार्यालयमा पेश गरी रूजु गराउनुपर्नेछ ।

जसमा विभागले आवश्यकता र औचित्यका आधारमा अवधि तोकी अनुमतिपत्रको लागि निवेदन खुला गर्न सक्नेछ । यस्तै, संस्थाहरूले युजर अकाउन्ट खोल्नका लागि ५ हजार दस्तुर बुझाउनु पर्नेछ । जसमा दुई लाख धरौटी÷बैंक ग्यारेन्टी राख्नुपर्नेछ ।

त्यस्तै, आर्थिक वर्षमा संस्थाहरूले धितो बन्धक रोक्का, फुकुवा प्रयोजनका लागि मात्रा आफ्नो प्रधान कार्यालय रहेको कार्यक्षेत्रभित्रको मालपोत कार्यालयमा अनलाइन निवेदन पेश गरी अनुमति प्राप्त गर्नुपर्नेछ ।

साथै, प्रधान कार्यालयले यसरी अनुमति प्राप्त गरेपछि संस्थाले पाँच वटा मुख्य युजर कार्यालयले दिने र आवश्यकता अनुसार कार्यक्षेत्रका आधारमा आफैले युजर थप गरी सञ्चालन गर्न सक्नेछ । तर, कार्यक्षेत्रभन्दा बाहिरबाट कार्य सञ्चालन गर्न भने पाउने छैन ।

यस्तो छ आवश्यक योग्यता र पूर्वाधार
भू-सेवा केन्द्र सञ्चालन गर्न चाहने संस्थाको हकमा प्रचलित कानूनी बमोजिम सेवा प्रदायक संस्थाको रुपमा नेपाली नागरिकले दर्ता, स्थापना र सञ्चालन गरेको, स्थायी लेखा नम्बर लिएको कर चुक्ताको प्रमाणपत्र भएको हुनुपर्नेछ । साथै, संस्थामा काम गर्ने व्यक्तिलाई पनि व्यक्तिगत रुपमा सञ्चालन गर्ने योग्यताका र भौतिक पूर्वाधारको भएको हुनुपर्नेछ ।

विभागले बैंक तथा वित्तिय संस्थाहरूको लागि कम्प्यूटर, प्रिन्टर, पाउजर ब्याकअप सिस्टम, स्क्यानर, भू–सूचना प्रणालीसँग कम्प्याटिबल हुने बायोमेट्रिक डिभाइस, वेब क्यामेरा तथा दस्तखत मेसीन जस्ता उपकरण आवश्यक पर्दछ । र, कम्तीमा ५÷५ एमबीपीएसको इन्टरनेट कनेक्टिभिटीको व्यवस्था हुनुपर्नेछ ।

साथै, संस्थाको काम गर्ने व्यक्तिको उमेर १८ वर्ष पूरा भएको हुनुपर्ने कम्प्यूटर विषय लिई प्सल टु वा सो सरह उत्तीर्ण गरेको वा अन्य विषयामा सो सरहको योग्यता भई कम्प्यूटर सम्बन्धि कम्तीमा ६ महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ ।

त्यस्तै कानुन बमोजिम स्थायी लेखा नम्बर लिएको, नैतिक पतन देखिने फौजदारी कसुर वा लिखत सम्बन्धी कुनै कसुरमा अदालतबाट दोषी प्रमाणित नभएको हुनुपर्नेछ ।


क्लिकमान्डु