यूरोपियन फुटबल महासंग्रामः प्रायोजकमा चिनियाँ कम्पनीको बाहुल्यता
काठमाडौं । युरोपीयन देशमा यतिबेला फुटबल महासंग्राम जारी छ । यूरोकप नाम दिइएको उक्त प्रतियोगिताको सेमिफाइनल खेल आगामी बुधबार र बिहीबार बिहान हुँदैछ ।
खेल यूरोपको तर प्रायोजक भने सबै चिनियाँ कम्पनीबाट भइरहेको छ । पछिल्ला दिनमा कोरोनाका कारण यूरोप तथा अमेरिकी कम्पनीहरुको व्यापारमा चरम गिरावट आएको छ । सोही कारण उनीहरुले निकै कम मात्रै प्रायोजन गरिरहेका छन् ।
यही मौकाको फाइदा चिनियाँ कम्पनीहरुले उक्त जिम्मेवारी उठाइरहेका छन् । पछिल्ला केही वर्षदेखि चिनियाँ कम्पनी र चीन सरकारले आक्रामक रुपमा यूरोपेली देशमा व्यापार तथा व्यवसाय विस्तार गरिरहेका छन् ।
अमेरिकी गठबन्धनमा रहेका भनिएका देश समेत अब क्रमशः चीनतर्फ ढल्कदै गएका छन् । यसले पनि यूरोकपमा चिनियाँ कम्पनीको बोलवाला नै देखिएको छ । यसलाई धेरैले सकारात्मक रुपमा नै लिएका छन् भने एकाधले भने अब यूरोपमा समेत चिनियाँ प्रभाव बिस्तार भएको अर्थका रुपमा लिएका छन् ।
यसपटक कोरोनाका कारण फुटबल मैदानमा कमै मात्रामा दर्शक भएपनि उनीहरुको आँखा त्यहाँ रहेका विज्ञापन बोर्डमा पर्ने गरेको छ । ती सबै बोर्डमा चिनियाँ ब्रान्डका लोगो धेरै देखिएको छ ।
विवरण अनुसार सन् २०१६ को युरोमा हाईसेन्स टिभी एक मात्र चिनियाँ प्रायोजक थियो । तर यस पटकको यूरो कपमा हाइसेन्ससहित टिकटक, भिभो र अलिपे मुख्य प्रयोजकका रूपमा जोडिएका छन् । यसले पनि यूरोपमा चिनियाँ व्यापार कुन हदसम्म फैलिएको छ भन्न सकिन्छ ।
समाचार विवरणहरुमा जनाइएअनुसार यूरो कपमा झण्डै ३३ अर्ब बराबरको विज्ञापन चिनियाँ कम्पनीले गरेका छन् ।
रमाइलो त के छ भने गुगल, फेसबुक, अमेजन वा एप्पल जस्ता अमेरिकी कम्पनीहरू प्रयोजकको सूचीमा छैनन् । कुनै समय यी कम्पनीको राम्रै बोलवाला थियो ।
युरोपेली फुटबल संघले चिनियाँ प्रायोजकको विषयमा कुनै विशेष रणनीति नभएको बताएको बीबीसीले उल्लेख गरेको छ ।
‘तर हामी मात्रै होइन हामीसँग जोडिने प्रायोजक पनि विश्वभरका समर्थकसँग जोडिन चाहन्छन्,’ युरोपेली फुबल संघले भनेको छ ।
यो वर्ष मात्रै जोडिएको र चीन बाहिर छुट्टै हिसाबले चल्ने टिकटकले युरोलाई विशेष बनाएको छ ।
यसले टिकटक लाइभ र ह्यासट्याग चुनौतीजस्ता कुराहरू दिएको छ । यो समेत यूरोपका लागि नौलो विषय बनेको छ । टिकटक प्रतिबन्ध लगाउन अगाडि सर्नेहरु नै यसपटकको यूरोकपमा त्यसको खास फ्यान नै भएका छन् ।
युरोपेली फुटबल संघले टिकटकमा आधिकारिक अकाउन्ट खोलेको छ जसलाई ४२ लाखले फलो गरेका छन् । फलो गर्नेहरुको संख्या समेत दिनदिनै बढिरहेको छ ।
अलिपे चिनियाँ भुक्तानी सेवा हो जुन चीन बाहिर चिनियाँ परिचयपत्र नभई प्रयोग गर्न सकिन्न तर पनि उसले युरोपेली फुटबल संघसँग ८ वर्षको प्रायोजन सम्झौता गरेको छ । अलिपेको भगिनी संस्था एन्ट समूहकै अर्को सेवा एन्टचेन हो जसले ब्लकचेन प्रविधि प्रदान गर्छ ।
अलिपेको सम्झौता हुँदाहुँदै एन्टचेनले पनि युरोपेली फुटबल संघसँग ५ वर्षे प्रायोजन सम्झौता गरेको छ । युरो २०२० मा भएका सबै गोलहरूको तथ्यांक एन्टचेनमा रहन्छ र अलिपेले सबैभन्दा बढी गोल गर्नेलाई दिइने ट्रफी प्रदान गरेको छ ।
बर्मिङ्घम विश्वविद्यालयका खेलकुद नीति र व्यवस्थापन शिक्षक शुशु चेनका अनुसार सन् २०१६ को प्रायोजनपछि हाइसेन्सको बिक्रीमा वृद्धि भएको थियो । तर व्यापारका लागिभन्दा पनि यो काम चिनियाँ राष्ट्रपति सी जिनपिङका कारण भएको हुनसक्ने विवरणमा उल्लेख छ।
सी फुटबलमा समर्थक हुन् र चिनियाँ सरकारले प्रविधि कम्पनीमाथि कडाइ गरिरहेको अवस्थामा यो सुन्दर खेलको समर्थन गरेको देखाउने बठ्याइँपूर्ण जनसम्पर्क चाल हुनसक्छ ।
युरोप चिनियाँ कम्पनीहरूका लागि महत्वपूर्ण बजार बन्दै गएको ओम्डियाका वरिष्ठ विज्ञापन विशेषज्ञ म्याट बेलेको भनाइ छ ।
सन् २०१४ मा सीले चिनियाँ विद्यालय शिक्षामा खेलकुद समावेश गरे भने सन् २०१६ मा चिनियाँ सुपर लीग फुटबल शुरु गरिएको थियो ।
चीनमा फुटबल प्रख्यात छ । आर्सनल क्लबको मात्रै त्यहाँ २० करोड समर्थक भएको बताइन्छ जुन बेलायतको जनसंख्याको तीन गुणा हो ।
त्यसैले चिनियाँहरू पनि युरो २०२० हेरिरहेको बताइएको छ । बीबीसीका मिडिया विशेषज्ञ केली एलनका अनुसार चिनियाँ सामाजिक सञ्जालमा युरो ह्यासट्याग भएका ५० लाखभन्दा बढी पोस्ट प्रकाशन भएका छन् ।
‘युरोका एक तिहाइ प्रायोजकका रूपमा रहेका चिनियाँ कम्पनीका बारेमा चीनमा राम्रो समाचारहरू प्रकाशन भएका छन्’ उनले भनिन् । फुटबल चर्चित भए पनि चीनको फुटबल टोली भने विश्वको ७५औँ स्थानमा रहेको छ। विश्वकप फुटबलमा चीनले सन् २००२ यता खेलेको छैन ।
विज्ञापन क्षेत्रमा अनुभवी सिन्डी ग्यालोप मेक लभ नट पोर्नका संस्थापक हुन् र उनका एक अभिभावक चिनियाँ हुन् ।
ग्यालोप भन्छन्, ‘सबै देशमा एशियालीप्रतिको घृणालाई कम गर्नु पर्ने अवस्था रहेको बेला फुटबलको विश्वव्यापी भाषामा चिनियाँ ब्रान्डहरू देखिनु राम्रो हो । म पनि चिनियाँ विज्ञापनहरू देखेर छक्कै परेको छु। तर यो अवस्थाको यसको अर्थ छ ।’