नबिल बैंकले जब रणनीति बदल्यो, एकवर्षमा बढे डेढ लाख ग्राहक



काठमाडौं । स्थापनाको ३ दशक पूरा गरेपछि नबिल बैंकले बेलायतको प्राइस वाटर हाउस कुपर (पिडब्लुसी)लाई अध्ययनका लागि लगायो ।
निजी क्षेत्रको लगानीमा स्थापित सबैभन्दा सबल बैंक विभिन्न सूचकमा पछाडि पर्न थालेको थियो । पिडब्लुसीले बैंकको बारेमा अध्ययन गरेर प्रतिस्पर्धी बजार अनुसार चलाउन सुझाव दियो ।

नबिल बैंकमा तल्लो तहबाट बढुवा हुँदै कर्मचारी माथिल्लो तहमा पुग्ने प्रचलन थियो । पिडब्लुसीको सुझावसँगै नबिल बैंकले उच्च तहमा बाहिरबाट ट्यालेन्ट हन्ट अन्तर्गत कर्मचारी लियो । डेपुटी सीइओ, डिजिएम तथा म्यानेजर तहमा नबिल बैंकले पहिलो पटक अरु बैंकबाट कर्मचारी तानेर लिएको थियो ।

गतवर्ष जेठ मसान्तमा नबिल बैंकको निक्षेप १ खर्ब ८० अर्ब रुपैयाँ थियो भने कर्जा १ खर्ब ५१ अर्ब रुपैयाँ थियो । बैशाख मसान्तमा आउँदा नबिल बैंकसँग २ खर्ब १७ अर्ब निक्षेप रहेको छ भने कर्जा १ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ । करिब एकवर्षमा नबिल बैंकले ३७ अर्ब रुपैयाँले निक्षेप बढाउन सफल भयो भने कर्जा ४२ अर्ब रुपैयाँले बढाउन सफल भयो ।

नबिल बैंकको इतिहास हेर्दा एकवर्षमा नै यति ठूलो व्यवसायिक ग्रोथ पहिले हासिल गरेको थिएन । आफ्नो सीमित व्यवसायमा रमाएको नबिलले आक्रामक व्यवसाय बिस्तार र डिजिटल प्रणालीलाई अगाडि बढाउने रणनीति लिएको छ । जसअन्तर्गत नबिल बैंकले बैंकका डेपुटी सीइओको नेतृत्वमा नबिल डिजी बैंक नै स्थापना गरेर डिजिलट प्रणालीमा आक्रामक हुने नीति लिएको छ ।

नबिल बैंकका डेपुटी जनरल म्यानेजर मनोज ज्ञवाली बैंकका कर्मचारीहरुको मेहनतको कारण एकवर्षमा ३७ अर्बले निक्षेप र ४२ अर्बले कर्जा बढाउन सफल भएको बताउँछन् ।

‘नबिल बैंकमा पहिलेदेखि कार्यरत कर्मचारीको आफ्नो अनुभव र नयाँ थपिएका कर्मचारीको जोशको कारण व्यवसाय बढाउन सफलता मिलेको हो,’ ज्ञवालीले भने ।

नबिल बैंकले अब पुराना र नयाँ कर्मचारीलाई लिएर अगाडि बढ्दै बैंकिङ क्षेत्रमा सबै सूचकमा १ नम्बर बन्ने रणनीति लिएको छ ।

ज्ञवाली आफै नबिलमा जोडिएको एकवर्ष भएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म नबिलले आफ्नो व्यवसायले नै कर्जाको आकार २ खर्ब कटाउने छ ।
एकवर्षमा नबिल बैंकले डेढलाखले आाफ्नो ग्राहक संख्या बढाएको छ । गतवर्षको जेठ मसान्तसम्म ७ लाख ग्राहक रहेको नबिल बैंकको बैशाख मसान्तमा आउँदा ८ लाख ५० हजार ग्राहकको संख्या थपिएको छ ।

त्यस्तै नबिल बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङको प्रयोगकर्ताको संख्या ६ लाख पुगेको छ । अघिल्लो वर्ष जेठ मसान्तमा मोबाइल बैंकिङको प्रयोगकर्ताको संख्या ४ लाख ४० हजार थिाये भने डेबिड कार्ड प्रयोगकर्ताको संख्या ४ लाख ८८ हजार थियो ।

गतवर्ष १४ हजार रहेको प्रिपेड कार्ड प्रयोगकर्ता २० हजार पुगेका छन् भने २५ हजार क्रेडिट कार्ड प्रयोगकर्ता पुगेका छन् ।

आक्रामक व्यवसाय बढाउन ३ अर्बको डिबेन्चर

नबिल बैंकले आक्रामक ढंगले व्यवसाय बिस्तार गर्नका लागि ३ अर्बको डिबेन्चर निकाल्ने प्रक्रिया शुरु गरेको छ । बैंकका डेपुटी जनरल म्यानेजर ज्ञवाली बैंकले व्यवसाय विस्तार गर्नको लागि डिबेन्चर निकाल्न लागेको बताउँछन् । डिबेन्चरलाई पूँजीकोष गणना गर्न मिल्ने हुँदा नबिल बैंकले व्यवसाय बिस्तारका लागि डिबेन्चर निकाल्न लागेको हो ।

पहिलो पटक एक्विजेशन

नबिल बैंकले हकप्रद सेयर निष्कासन नगरेपनि राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याएको हो । अरु बैंक तथा वित्तीय संस्थाले हकप्रद तथा मर्जर तथा एक्विजेशनबाट व्यवसायिक छलाङ मारेपनि नबिल बैंकले स्थापनाको ३ दशकसम्म प्राकृतिक बृद्धिमा व्यवसायिक आकाश छोएको थियो ।
नबिल बैंकले पहिलो पटक यूनाइटेड फाइनान्सलाई एक्विजेशन गर्न लागेको छ । असार ५ गते विशेष साधारणसभा बोलाएर एक्विजेशनको प्रस्ताव पारित भएपछि चालु आर्थिक वर्षभित्रमा नै नबिलले यूनाइटेडलाई गाभेर एकीकृत कारोबार शुरु गर्ने छ ।

नबिलले यूनाइटेड लिएपछि निक्षेप करिब ९ अर्बले थपिने छ भने कर्जा साढे ६ अर्बले थपिने छ । शाखा संख्या २४ वटाले थपिने छ । अहिले नबिलको शाखा संख्या ११९ छ ।

जसलाई नबिलले एकै स्थानमा भएका शाखालाई स्थानान्तरण गरेर नयाँ ठाउँमा शाखा खोल्ने छ । नबिलको व्यवसायको आकारमा निक्षेप र कर्जा सानो रकमको थपिएपनि यूनाइटेडलाई गाभेपछि थपिने शाखाले आगामी आर्थिक वर्षमा नबिलको ब्राण्डमा थप व्यवसाय बढाउन भने मद्दत पुग्छ ।


क्लिकमान्डु