दृष्टिविहीनलाई बैंकिङ सेवा दिन सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छाैंः डेपुटी गभर्नर मिश्र



काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई दृष्टिविहीन तथा अपंगता भएका व्यक्तिलाई सहजताका साथ प्रवाह गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले निर्देशन दिएका छन् ।

नाफिजले आयोजना गरेको दृष्टिविहीनमा वित्तीय पहुँचः समस्या र समाधान विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा उनले सो बताएका हुन् ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्थाले दृष्टिविहीनहरुलाई बैंकिङ सेवा सुविधा प्रवाह गर्न विभिन्न समस्या देखाएर वित्तीय पहुँचबाट टाढा बनाएको विषय उठेको थियो ।

दृष्टिविहीन, अपंगता भएकै आधारमा उनीहरुलाई बैंक तथा वित्तीय संस्था सेवा दिन अस्वीकार गरेमा केन्द्रीय बैंकले कारवाही गर्ने उनले बताए ।

‘संविधान अनुसार कुनै पनि संघ संस्थाले आफ्नो सेवा लिन नआउन भन्न मिल्दैन,’ डेपुटी गभर्नर मिश्रले भने, ‘व्यक्ति शारीरिकरुपमा असक्षम भएको भनेर सेवा दिन अस्वीकार कुनै पनि बैंक तथा वित्तीय संस्थाले गरेको गुनासो आएको राष्ट्र बैंकले कारवाही गर्छ ।

संविधानमा सबै नागरिक समान भएको उल्लेख गरिएको र राष्ट्र बैंकले समेत जेष्ठ नागरिक र अपंगता भएका व्यक्तिलाई अनुकुलता पहुँच युक्त बैंकिङ सेवा दिन निर्देशन दिएको भन्दै प्रविधिक तथा नीतिगत समस्या देखाएर वित्तीय पहुँचबाट टाढा नराख्न उनले निर्देशन दिएका हुन् ।

साथै, उनले आगामी मौद्रिक नीतिमा दृष्टिविहीन, अपंगता तथा फरक क्षमता भएको व्यक्तिको बैंकिङ पहुँच बारेमा समेटिने समेत बताए । तर अपंगता भएका व्यक्तिहरुले अहिले भोगिरहेको समस्या पूर्णरुपमा समाधान हुन भने समय लाग्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल नेत्रहिन संघको तर्फबाट संघका बरिष्ठ उपाध्यक्ष खुमबहादुर शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । जसमा उनले दृष्टिविहीनहरुलाई वित्तीय पहुँचमा भएको समस्या र त्यसको समाधानका उपयाबारे प्रस्तुती राखेका थिए ।

उनले दृष्टिविहीनहरुलाई वित्तीय पहुँचमा नीतिगत अस्पष्टता, विभेदयुक्त नीति, कानून र नीतिको आ–आफ्नो व्याख्या, संस्थागत अवरोध, भौतिक अवरोध र सञ्चारजन्य अवरोध भएको बताए ।

साथै, दृष्टिविहीनहरुले कमाएको पैसा बैंकमा राख्न नसकेको र राखेको पैसा पनि चाहेको समयमा सहजताले झिक्न नपाएको उनको भनाइ छ ।

अहिले विभिन्न प्रविधिको प्रयोगगरी दृष्टिविहीनहरुले बैंकहरुको मोवाइल वालेट, टीएमएस, मेरो सेयर समेत प्रयोग गर्न सक्ने जानकारी दिँदै सोको उचित मूल्यांकन सम्बन्धित पक्षबाट नभएको गुनासो उनले गरेका थिए ।

‘अहिले धेरै पढेलेखेका दृष्टिविहीनहरु हुनुहुन्छ, हामीलाई संरक्षणको आवश्यकता छैन, असक्षम भनेर बैंकहरुले खाता खोल्न, एटीएम सेवा, मोबाइल बैंकिङ सेवा दिनलाई अस्वीकार गर्छन्,’ संघका वरिष्ठ उपाध्यक्ष शर्माले भने, ‘नीतिगत रुपमा दिन नमिल्ले भनेर बैंकका कर्मचारीले धेरै दृष्टिविहीनलाई खाता समेत खोल्न दिएका हुँदैन, अहिले जतिपनि दृष्टिविहीनले खाता खोलेका छन्, ठुलै युद्ध नै लडेर खोलेका हुन्, खाता खोलेपनि बैंकका कर्मचारी चेक बुक समेत दिन मान्दैनन् ।’

बैंक तथा वित्तीय संस्थाका कर्मचारीको यस्तो व्यवहारले धेरै दृविहीनहरु वित्तीय पहँच बाहिर भएको उनले जानकारी गराए ।

‘कर्जा लिनका लागि दृष्टिविहीनको निवेदन स्वीकार हुँदैन, मासिक आम्दानी भएका दृष्टिविहीनले धितोमा कर्जा लिन खोज्दा पनि बैंकले उसको क्षमतामा विश्वास गदैन’ उनले थपे, ‘राष्ट्र बैंकले अपांगता भएका व्यक्तिलाई पहुँचयुक्त बैंकिङ सेवा दिन निर्देशन दिएपनि सो को कार्यान्वयन बैंकहरुले गरेका छैनन् ।’

सो क्रममा नेत्रहिन संघले बैंकिङ कारोबार र सेयर कारोबार प्रविधिको प्रयोगबाट दृष्टिविहीनहरु कसरी गरेका छन् र त्यसमा के कस्तो सहजता र समस्या छ सोको डेमोस्ट्रेसन समेत गरेका थिए ।

जसमा स्क्रीन रिडरको सहयोगमा दृष्टिविहिनहरुले सानिमा बैंकको मोवाइल बैंकिङ, प्रभु पेको वालेट, मेरोसेयर, टिएमएसको प्रयोग तथा कारोबार समेत गरेर देखाएका थिए ।

बैंक तथा वित्ती संस्थाले प्रयोगमा ल्याएका डिजिटल वालेट तथा पुँजीबजारका विभिन्न साइटका केही पक्षलाई स्क्रीन रिडरले सपोर्ट नगर्ने समेत देखाएका थिए । जसको सामाधानका लागि उनीहरुले सम्बन्धीत पक्षलाई पहल गरेका छन् ।

उक्त भर्चुअल कार्यक्रमका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानाले अपंगताहरुलाई पनि आर्थिक उपर्जनको क्षेत्रमा लगाउनु पर्ने बताए ।

जसका लागि पुँजी बजार उत्तम विकल्प भएको भन्दै पुँजी बजारमा प्रयोग भएका सफ्टवेयरलाई दृष्टिविहीनहरुले प्रयोग गर्ने स्क्रीन रिडरले सपोट गर्ने बनाउने प्रयास गरिने बताए ।

‘अब बनाइने नीति निर्देशन, सफ्टवोयर गाइडलाइन्स अपंगतामैत्री बनाइनेछ, साथै प्रविधिको प्रयोग गरी कारोबार गर्न समेत तालिम दिइनेछ’ बोर्डका अध्यक्ष ढुङगानाले भने, ‘यसका लागि बोर्डले सम्बन्धित सबै निकायहरुसँग छलफल गरी सरोकारवाला पक्षहरुबाट उठेका समस्याको समाधा आगामी नीति तथा कार्यक्रममा सम्बोधन हुन्छ ।’

उनले मर्यादित व्यवसाय गर्न सेयरबजारमा दृष्टिविहिनहरु पुँजी बजार ल्याउनुपर्ने र आगामी दिनमा यसबाट राज्यलाई नै धेरै फाइदा पुग्ने बताए । तर प्रविधिमा रहेर कारोबार गर्न धेरै जटिल भएको हुँदा सबैले यसमा जिम्मेवार भएर काम गर्न उनले सुझाव दिए ।

यता, बैंकर्सहरुको छाता संगठनहरु तथा पुँजी बजार लगानीकर्ता छाता संगठनहरुले दृष्टिविहीनहरु तथा अन्य अपंगता भएका व्यक्तिलाई वित्तीय सेवा दिन नीतिगत, प्रविधि तथा व्यवहारिक कठिनाइ भएको बताएका छन् ।

दृष्टिविहीनहरुले भागिरहेको समस्या तत्कालै समधान गर्न नसकिए पनि सबैको प्रयासमा समय सापेक्ष समाधान हुने नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘नीतिगतसँगै प्रविधि तथा भौतिक समास्याहरु पनि धेरै छन्, जुन बैंक तथा वित्तीय संस्थाले चाहेरपनि समस्या सामाधन गर्न सकिरहेको छैन्,’ संघका अध्यक्ष दाहालले भने, ‘यसका लागि बैंकहरुको छाता संगठन, अपांगता भएका व्यक्तिहरुको छाता संगठनको एउटा कार्यदल बनाएर भोग्नु परेको समस्याको समाधान खोज्नु पर्छ ।’

बैंकिङ क्षेत्रको धेरै कमीकमजोरी भएको र त्यसको सामाधान बिस्तारै हुँदै जाने उनले विश्वास दिलाए ।

कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज नेप्से, स्टक ब्रोकर एशोसियन, मर्चेट ब्रोकर एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियनका प्रतिनिधिहरुले समेत आफ्नो मन्तव्य राखेको थिए ।

नेप्सेका कार्यकारी अधिकृत चन्द्र सिंह साउदले प्रविधिको प्रयोगबाटै अनलाइन सेयर कारोबार गरिने भएकाले प्रविधिको विकाससँगै दृष्टिविहीनहरुलाई कारोबारमा आएको समस्या पनि समधान हुन सक्ने बताए ।


क्लिकमान्डु