चक्रपथमा ईबीआरटी सञ्चालन गरिने, पूर्वसम्भाव्यता अध्ययनको तयारीमा लगानी बोर्ड



काठमाडौं । सरकारले ईबीआरटी (विद्युतीय बस र्यापिट ट्राञ्जिट) सञ्चालन सम्बन्धी तयारी शुरु गर्ने भएको छ । लगानी बोर्डले काठमाडौं उपत्यकाको चक्रपथमा ईबीआरटी सम्बन्धमा पूर्वसम्भाव्यक्ता अध्ययन गर्ने भएको हो ।

लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले चक्रपथमा ईबीआरटीको पूर्वसम्भाव्यता अध्ययन अघि बढाउन लागिएको जानकारी दिए ।

‘चक्रपथमा ईबीआरटी सञ्चालन गर्ने योजना छ । यसका लागि सम्भाव्यता अध्ययनको आवश्यक पर्छ । सम्भाव्यक्ता अध्ययन गर्ने कम्पनी छनोट प्रक्रिया अघि बढाउने क्रममा छौं,’ अधिकारीले भने, ‘बोर्डले यातायात विज्ञसँग छलफल तीव्र पारेको छ ।’

पूर्वसम्भाव्यता अध्ययनका लागि आवश्यक बोलपत्र दस्तावेज तयार हुने क्रममा छ । बोर्डका तर्फबाट आवश्यक तयारी सकिएपछि अध्ययनका लागि ग्लोबल टेन्डर आह्वान गरिने उनले बताए ।

आर्थिक वर्ष ०७१/७२ कै बजेटमा काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित गर्न धेरै यात्रु क्षमताको बीआरटी योजना समावेश गरिएको थियो ।

२०७५ चैतमा आयोजना गरिएको लगानी सम्मेलनमा पनि बीआरटी सम्बन्धी आयोजना राखिएको थियो । तत्कालिन समयमा चक्रपथमा बीटीआर सञ्चालन गर्न १४९.५ मिलियन अमेरिकी डलर अथार्त १७ अर्ब ५४ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो ।

चक्रपथमा बीआरटी सञ्चालन गर्न ३ वटा कम्पनीले इच्छा जाहेर गरेका थिए । तर ती कम्पनी प्रारम्भिक मूल्यांकनबाटै बाहिरिन पुगेको थियो । तत्कालिन समयमा बीआरटी सम्बन्धी सरकारको तर्फबाट स्तरीय अध्ययन भएको थिएन ।

चक्रपथमा ईबीआरटी सञ्चालनका गर्न सकिन्छ कि सकिदैन भन्ने विषयमा अहिलेसम्म अध्ययन भएको छैन । लगानीकर्ताले सम्भावना भएको क्षेत्रमा लगानी गर्ने हो । बोर्डले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा ईबीआरटी सञ्चालन गर्नेछ ।

पूर्वसम्भाव्यता अध्ययनमा ईबीआरटी सञ्चालन गर्न योग्य देखिएमा निजी क्षेत्र र सरकारको कति लगानी रहने, निजी क्षेत्रले कति वर्ष सञ्चालन गर्ने, कस्तो लगानी भित्र्याउने लगायतको प्रतिवेदन प्राप्त हुनेछ । त्यसैको आधारमा सञ्चालन, निर्माण, व्यवस्थापन, लगानी लगायतको मोडालिटी तयार गरिनेछ ।

बोर्डले ईबीआरटी सञ्चालनका सम्बन्धमा लगानीकर्तालाई आकर्षित गराउन आफैले पूर्वसम्भाव्यता अध्ययन गराउन खोजेको हो । सम्भाव्यक्ता अध्ययनको आधारमा योग्य विदेशी लागानीकर्ता आकर्षित हुने बोर्डको ठम्याइ छ ।

किन ईबीआरटी
पछिल्लो समय काठमाडौं उपत्यकामा प्रदुषण बढ्दो क्रममा छ । विगत केही वर्षदेखि काठमाडौं उपत्यका विश्वकै प्रदुषित शहरमा सूचिकृत भएको छ । जैविक इन्धनबाट सञ्चालन हुने सवारीबाट निस्कने धुँवा प्रदुषणको मूख्य तत्वको रुपमा रहेको छ ।

उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापन गर्न ठूला क्षमताको बसको खाँचो भएर ईबीआरटी सञ्चालन गर्न खोजिएको सहप्रवक्ता अधिकारी बताउँछन् ।

सार्वजनिक यातायातको व्यवस्थापनसँगै वातावरण पनि जोगाउन आवश्यक छ । वातावरणमैत्री हुने भएकाले ईबीआरटी रोजिएको हो । फराकिलो र लामो हुने भएकाले ईबीआरटी प्रयोगकर्ताको यात्रा सहज र सुरक्षित हुनेछ ।

के हो ईबीआरटी ?
ईबीआरटी (विद्युतीय बस र्यापिट ट्रान्जिट) प्रणाली हो । ईबीआरटी हामीले नेपालमा देख्दै आएको बसभन्दा फरक प्रकृतिको हुन्छ ।

विकसित मुलुकको सार्वजनिक यातायातमा बीआरटीको प्रयोग हुँदै आएको छ । बीआरटीका लागि छुट्टै डेकिकेटेड (निश्चित) लेन हुन्छ ।

अन्य सवारीसाधन बीआरटीको लेनमा घुस्न पाउँदैनन् । यसले गर्दा बीआरटी जाममा फस्ने सम्भावना हुँदैन । यसको प्रमुख विशेषता भनेको निश्चित समयमा तोकिएको ठाउँमा पुग्नु नै हो ।

विश्वका अधिकांश मुलुकमा दुईवटा डिब्बा भएका बीआरटी सञ्चालनमा छन् । केही मुलुकले लामो बीआरटी सञ्चालन पनि गर्दै आएका छन् । नेपालमा भने कस्तो खालको ईबीआरटी सञ्चालन हुन्छ भन्ने अहिले नै भन्न सकिने अवस्थामा छैन । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनले यसको विषयमा प्रष्ट पार्नेछ । सन् १९७४ मा पहिलो पटक ब्राजिलको क्युरिटीबामा बीआरटी सञ्चालनमा आएको थियो ।

सहरी यातायात व्यवस्थित तथा सुरक्षित बनाउने धेरै देशमा बीआरटी सञ्चालन हुँदै आएको छ । संसारको सबैभन्दा लामो बीआरटी सेवा इन्डोनेसियाको जकार्तामा छ । ट्रान्सजाकार्ता नामले परिचित यस दुई सय ३१ किलोमिटर सडकमा सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु