रसुवागढी र तातोपानी भन्सारबाट दैनिक ७ कन्टेनर भित्रिँदै, सबैभन्दा बढी स्वास्थ्य सामग्री आयात



काठमाडौं । नेपालको सबैभन्दा बढी आयात निर्यात हुने मुख्य भन्सारमा निषेधाज्ञाले निकै प्रभाव परेको छ । दैनिक रुपमा विभिन्न वस्तु तथा सेवा आयात हुँदै आएको भन्सारमा निषेधाज्ञाले प्रभाव परेको भन्सार कार्यालयहरूले जनाएको छ ।

नेपालको मुख्य आयात निर्यात हुने रसुवागढी र तातोपानी भन्सार निषेधाज्ञाले गर्दा निकै प्रभाव परेको रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए । उनका अनुसार हाल दैनिक ७ वटा कन्टेन्सर सामान लिएर नेपालतर्फ भित्रिएको बताए ।

‘सामान्य अवस्थामा दैनिक उल्लेख्य रुपमा नेपालमा कन्टेनर प्रवेश हुन्थ्यो,’ उनले भने, ‘अहिले दैनिक ७ कन्टेनर मात्रा भित्रिँदै आएको छ ।’

त्यस्तै निषेधाज्ञाले गर्दा छुट्टै क्वारेन्टिन तथा यार्ड बनाएर भित्र्याउनुपर्ने अवस्था रहेकाले निकै असहज रहेको बताए ।

त्यस्तै तातोपानी भन्सारका प्रमुख नरद गौतमका अनुसार निषेधाज्ञाको समयमा दैनिक ५ देखि ७ वटा कन्टेनर नाकामा आउने गरेको बताए । उक्त भन्सारबाट सामान्य अवस्थामा दैनिक ५०, ६० कन्टेनरको आवातजावत हुन्थ्यो भने अहिले निषेधाज्ञाको समयमा घटेको उनको भनाइ छ । हाल चीनतर्फबाट कन्टेर छुट्न समय लागेकोले केही अति आवश्यक सामग्रीबाहेक अन्य सामग्री आयात गर्न नसकेको उनको भनाइ छ ।

‘चीनतर्फबाट कन्टेनर छुट्नको लागि समय लागेको छ,’ उनले भने, ‘भन्सारसम्म आउने र भन्सारबाट सामान लिएर जाने मालबाहक गाडीहरूको लागि कुनै रोक छैन ।’ जसमा जति चीनतर्फबाट नेपाल कन्टेनर आउनुपर्ने हो, त्यति नेपालतर्फ नआएको उनको भनाइ छ ।

अधिकांश स्वास्थ्य सामग्री आयात
रसुवागढी र तातोपानी भन्सारबाट हाल अधिकांश स्वास्थ्य सम्बन्धी सामग्रीहरू आयात भएको भन्सार कार्यालयहरूले जनाएको छ ।

कार्यालयका अनुसार अहिले दैनिक रुपमा मास्क, अक्सिजन, सिलिन्डरलगायत अन्य स्वास्थ्य सम्बन्धी सामग्री बढी आयात भएको जनाएको छ ।

तातोपानी कार्यालयलका प्रमुख गौतमको अनुसार स्वास्थ्य मन्त्रालय र निजी क्षेत्रको गरी ६० वटा अक्सिजन कन्सर्नट्रेटर भित्रिएको बताए । जसमा लुम्बिनी विकास कोषलाई ५१ वटा र स्वास्थ्य मन्त्रालयको ९ वटा रहेको उनको भनाइ छ ।

साथै, चीनतर्फबाट नाकामा खासै कन्टेनर आउन नसकेको उनले बताए । त्यस्तै उक्त भन्सारबाट अधिकांश मास्क, अक्सिजन, सिलिन्डर र स्याउ बढी भित्रिएको उनको भनाइ छ । तातोपानी भन्सार कार्यालयबाट पनि अधिकांश स्वास्थ्य सामग्री र स्याउ भित्रिँदा केही मात्रामा भने हाइड्रोको सामान भित्रिएको उनको भनाइ छ ।

त्यस्तै, रसुवागढी भन्सार कार्यालयबाट पनि स्वास्थ्य सामग्रीसँगै स्याउ अन्य सामग्री भित्रिएको कार्यालयको प्रमुख रेग्मीको भनाइ छ ।

उनका अनुसार दैनिक ७ वटा कन्टेनर भित्रिएकोमा अधिकांश स्वास्थ्य सामग्री र स्याउ आउने गरेको बताए ।

‘हाल कोभिडको समय भएर अति आवश्यक अर्थात स्वास्थ्य सामग्र बढी भित्र्याउन सफल भएको छ । त्यसैले अन्य सामग्री आयात भने निकै कम छ,’ उनले भने ।

अझै सहज भएन निर्यात
कोरोना भाइरस महामारीका कारण असज परिस्थिति सिर्जना भएको नाकाबाट हालसम्म पनि निर्यात भने सहज हुन सकेको छैन ।

सामान्य अवस्थामा रसुवागढी र तातोपानी भन्सारबाट उल्लेख्य रुपमा निर्यात हुँदै आएको थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीले गर्दा हालसम्म नेपालबाट कुनै पनि वस्तु तथा सेवा निर्यात हुन सकेको छैन ।

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालबाट चीनतर्फ नाकाबाट निर्यात हुँदै आएको वस्तु तथा सेवा गत २०७७ साल चैतबाट नै ठप्प रहेको छ । हाल आयातमा कुनै असहज नभए पनि लामो समय बितिसक्दा पनि नेपालबाट भने कुनै वस्तु तथा सेवा निर्यात हुन नसकेको भन्सार कार्यालयले जनाएको छ ।


क्लिकमान्डु