ओली सरकारमा श्रीमान र श्रीमती पालैपालो मन्त्री !



काठमाडौं । राजनीति अभिशप्त हुँदो रहेछ । पदका र प्रतिष्ठाका लागि जे जसो पनि गरे हुँदो रहेछ । एकातिर प्रतिनिधिसभा विघटन गरिएको छ । त्यो पनि एकपटक होइन, दुई-दुई पटकसम्म ।

विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । निर्वाचन घोषणा गरिएको छ । सरकार कामचलाउमा परिणत भएको छ ।

तर, कामचलाउ सरकारका प्रधानमन्त्रीलाई सबैले पूर्णबजेट नल्याउन भने, उनले मानेनन् ।

कामचलाउ सरकारले मन्त्रिपरिषद् बिस्तार गर्न पाउँदैनन् भनिएको छ, उनी टेर्दैनन् । यतिसम्म त भयो भयो, तर एकै घरका श्रीमान श्रीमतीलाई पालै पालो मन्त्री बनाइएको छ । लोकलाज भन्ने कुरा पनि हुन्छ ।

नेपाली समाजमा एउटा उखान प्रचलित छ, ‘जो अगुवा उही …….’ यस्तै भएको छ, राजनीति ।

समाजलाई दिशानिर्देश गर्नेहरुले नै कि आफू, आफू नभए श्रीमान वा श्रीमतीलाई नै मन्त्री बनाउनुपर्ने प्रवृत्ति हावी गराएका छन् ।

नैतिकता, इमान र प्रतिष्ठा नभएपछि कसको के लाग्दा रहेछ र ? संघर्ष गर्ने समयमा नेता चाहिन्छ, कार्यकर्ता चाहिन्छ । क्षमता भएकालाई अवसर दिने राग पनि अलापिन्छ । जब पद लिने समय आउँछ, तब कि आफै, कि श्रीमती , कि छोरा त्यो पनि नभए आफना निकटस्थलाई पद दिनुपर्छ भन्ने निम्न पूँजीवादी चरित्र देखाउन थालिन्छ ।

पहिले-पहिले कामचलाउ सरकारका प्रधानमन्त्री ओली आफै भन्थे काला गए गोरा आउँछन् । अब यो भनाइ पनि पूरानो भएको छ । खासमा भइरहेको छ लोग्ने गए स्वास्नी आउँछन् ।

ओली सरकारको चरित्र नै यस्तै देखिएको छ । स्थायी सरकारको नारा दिएका ओलीले हालसम्म १८ पटक मन्त्रिपरिषद् बिस्तार गरिसकेका छन् । बिहीबार भएको बिस्तार पछिल्लो हो । राजनीतिमा देखिएको अराजक चरित्र एवम् कामचलाउ सरकारको हर्कत हेर्दा लाग्छ, एकाध दिनका लागि उनी केही थान मान्छेहरुलाई मन्त्री बनाएर आफनो सत्ता टिकाउन चाहन्छन् । पछिल्लो पटक ओलीले वैशाख ३१ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

सो बिस्तारमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री बनेर आए रघुवीर महासेठ । बिस्तार हुनु अघिसम्म उनकै श्रीमती जुलीकुमारी महतो महिला बालबालिका तथा समाज कल्याण मन्त्री थिइन् ।

ओलीले शुरुवाती चरणमा उनै महासेठलाई मन्त्री बनाएका थिए, भौतिक पूर्वाधार तथा यातायात ।

काम राम्रो नगरेको तथा क्षमता नभएको भन्दै महासेठलाई उनले बर्खास्त गरे र वसन्त नेम्वाङलाई जिम्मा दिए ।

एक डेढ वर्ष मन्त्रीबाट बाहिर रहेका उनले श्रीमतीलाई मन्त्री बनाए । एउटै घरका मन्त्री बनाएको भन्दै ओली समूहभित्रै त्यसको विरोध पनि भयो । तर, विरोध सार्वजनिक भने राम्ररी भएन । वैशाख ३१ गते पुनः उनै बर्खास्तीमा परेका महासेठ मन्त्री बनेर उदाए । त्यो पनि उपप्रधानमन्त्री बनेर ।

त्यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री थिए, शेरबहादुर तामाङ । बंगलादेशमा पढ्न गएका विद्यार्थीका सन्दर्भमा उनले विवादास्पद अभिव्यक्ति दिएपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका थिए । आँसु झार्दै उनले आफूले गलत नगरेको समेत बताएका थिए । साथमा श्रीमती उषाकला राईलाई राखेर पत्रकार सम्मेलन गरेका तामाङमाथि धेरैले सम्मान नै व्यक्त गरे । बोल्न नजान्दा पद गएको भन्दै आलोचनात्मक टिप्पणी पनि गरे ।

प्रतिनिधिसभाको विघटनपछि उनै तामाङका श्रीमान श्रीमती, माधव नेपाल झलनाथ खनाल समूह तिर लागे । आन्दोलनमा सहभागी पनि भए । पछिल्लो पटक उनी पुनः ओली क्याम्पमा छिरे ।

उनले एमाले पार्टी कार्यालयको कार्यालय सचिवको जिम्मेवारी समेत पाए । श्रीमती उषाकलालाई प्रदेश नं १ को मन्त्री पनि बनाए । त्यसमा उनै ओलीको हात देखियो । नेपाल खनाल समूहबाट आएकालाई पद दिइन्छ भनेर ओलीले राम्रै राजनीति गरे । श्रीमती प्रदेश नं १ को मन्त्रि छँदै थिइन् । हुँदाहुँदा उनै तामाङ मन्त्री बन्न अरु मान्छे नै नभएको जसरी पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । एउटै घरका श्रीमान श्रीमती नै मन्त्री बन्ने अवसर उनीहरुले पाएका छन् ।

यस्तै, बिहीबार बिहानदेखि अर्को खबर सार्वजनिक भयो । रामबहादुर थापा पत्नी नैनकला थापा समेत मन्त्री बन्दैछिन् ।

ओली समूहका नेता रामबहादुर केही समयअघिसम्म गृहमन्त्री थिए ।

सांसद नभएकालाई मन्त्री बनाउन नपाउने भन्ने सर्वोच्चको फैसलापछि उनको मन्त्री पद खोसियो । मन्त्री क्वाटरमा बसिरहेका उनले लाजै पचाएर क्वाटर छाडेनन् । आफूहरु पुनः मन्त्री बन्ने भन्दै सचिवालयमार्फत् प्रचार गराए ।

अदालतको निर्णय नआईकन मन्त्री बन्न नपाउने अवस्था देखेपछि उनले पुनः श्रीमती नैनकलालाई मन्त्री बनाउन लागेका छन् । चर्चामा आए अनुसार ओलीले थापालाई सञ्चार मन्त्री बनाए ।

श्रीमान श्रीमती पालैपालो मन्त्री बन्नेहरुको सूचीमा थापाको जोइ पोई पनि जोडिएका छन् । त्यसो त ओलीका नजिकमा रहेकाहरु अधिकांशका श्रीमान श्रीमतीले नै अवसर पाएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरल पत्नी सुजिता शाक्य विघटित प्रतिनिधिसभा सदस्य हुन् । ईश्वर पोख्रेलकी पत्नी मीरा धुजु समेत पती पत्नीले नै अवसर पाएका छन् ।

त्यस्तै ओली सरकारले संघीय सरकारको खानेपानी तथा सरसफाइ मन्त्री बनाउका छन् जसपाका नेता अनिल झा । उनको श्रीमती डिम्पलकुमारी झा समेत प्रदेश नं २ को भौतिक पूर्वाधार राज्यमन्त्री थिइन् । पछिल्लो पटक उनी बर्खास्तीमा परेकी छिन् । एमालेभित्र श्रीमान श्रीमतीले नै अवसर पाएको दर्जनौ उदाहरण छ । यो रोग नेपाली कांग्रेस र माओवादीभित्र पनि छ ।


क्लिकमान्डु