वर्षेनी साढे ७ अर्ब जोगाउने ‘सिमेन्ट सडक’ किन नबनाउने ?: इञ्जिनियर राजेन्द्रराज शर्माको लेख



समान्य भाषामा कुनै पनि सवारी साधन गुड्न सक्ने बाटोलाई सडक र अलि उच्चस्तरको सडकलाई राजमार्ग भनिन्छ । सडकको सतहको बनौटको आधारमा सडकलाई माटे, ग्राभेल र पक्की सडकका रुपमा वर्गीकरण गरिएको हुन्छ । रोडा बालुवालाई बिटुमिन वा सिमेन्ट जस्ता जोड्ने सामग्रीको उचित मात्रामा मिसाएर जोडेर एक ढिक्का बनाएर पक्की सडक निर्माण गरिन्छन् ।

बिटुमिन
बिटुमिनलाई कतिपय देशमा अस्फाल्ट पनि भन्ने गरिन्छ वा अलकत्रा प्रयोग गरेर बनाइने सडक सतह लचिलो हुन्छ । सतह कालो रंगको हुने भएकाले यस्तो सडकलाई कालोपत्रे सडक पनि भन्ने गरिन्छ ।

यस्तो सतहले ट्राफिकको भार तुलनात्मक रुपमा सानो क्षेत्रमा फैलाउँदछ । तसर्थ यस्तो सडक सतह निर्माण गर्न मजबुत माटो/जग भएको ठाउँ आवश्यक पर्दछ । ट्राफिकको भार वा हावा, पानी र घामबाट हुने सानातिना खुम्चाइ वा फैलाई यस्तो सतहले आफैभित्र समाहित गराउन सक्छ र चर्कने वा फुट्ने सम्भावना कम हुन्छ । तसर्थ यस्तो सडक सानो मोटाइमा पनि बनाउन सकिने भएकाले तुलनात्मक रुपमा सस्तो पर्न आउँदछ ।

एक अनुसन्धान अनुसार कालोपत्रे सडकमा भन्दा कंक्रिटको सडकमा १४ प्रतिशत इन्धन कम खपत हुने गर्दछ ।

अर्कोतिर सिमेन्ट प्रयोग गरेर ढलान गरेर बनाइने सडक सतहले ठूलो क्षेत्रमा भार फैलाउन मदत गर्दछ । तसर्थ तुलनात्मक रुपमा कमजोर माटो वा जग भएको ठाउँमा पनि यस्तो सडक सतह निर्माण गर्न सकिन्छ । यस्तो सतह कम लचिलो र कडा हुने भएकोले एकपटक चर्केर चिरा परेको खण्डमा फेरि जोडिदैन । तसर्थ चिरा पर्न नदिनका लागि बढी मोटाइको स्ल्याबको रुपमा ढलान गर्नुपर्ने हुन्छ । यसैले सिमेन्ट कंक्रिट प्रयोग गरेर बनाइने सडकहरु तुलनात्मक रुपमा महंगा हुन्छन् ।

नेपालमा अहिले राष्ट्रिय राजमार्ग, प्रादेशिक राजमार्ग र स्थानीय सडकहरु गरेर लगभग एक लाख किलोमिटर सडक भएको अनुमान छ । यसमध्ये करिब १३ प्रतिशत पक्की, २१ प्रतिशत ग्राभेल र ६६ प्रतिशत माटे सडक छन् । नेपालका कालोपत्रे सडकमध्ये ९५ प्रतिशतभन्दा बढी बिटुमिन प्रयोग गरेर बनाइएका छन् ।

आव २०७६/२०७७ मा देशभित्रका २ दर्जनभन्दा बढी सिमेन्ट प्लान्टबाट ८७ लाख ७५ हजार मेट्रिक टन सिमेन्ट उत्पादन भएको थियो भने ६ लाख २३ हजार २८० मेट्रिकटन आयात गरिएको थियो ।

बिटुमिन/अलकत्रा कसरी बन्छ ?
कच्चा तेललाई प्रशोधन गर्ने क्रममा बिभिन्न हलुका ग्यास, पेट्रोल, मट्टितेल, डिजेल जस्ता पदार्थहरु निकालेपछि कालो लेदो पदार्थ तल थिग्रेर बस्छ । यसरी थिग्रेर बसेको पदार्थ नै बिटुमिन हो । जसलाई केही थप सामान्य प्रक्रियाहरु पश्चात विभिन्न ग्रेडका बिटुमिनहरुको रुपमा प्रयोगका लागि प्याक गरेर पठाइन्छ । यसरी सडक निर्माणमा प्रयोग गरिने बिटुमिन उत्पादन हुन्छ ।

काठलाई अक्सिजन बिनाको वातावरणमा तताएर निकालिने एकप्रकारको झोल नै अलकत्रा हो । पहिले पहिले सडक निर्माणमा अलकत्राको प्रयोग निकै गरिन्थ्यो । वातावरणीय हिसाबले र स्वास्थ्यलाई पनि निकै हानिकारक हुने र टिकाउ पनि नहुने हुनाले आजकल सडक निर्माणमा अलकत्रा प्रयोग गरिदैन । तसर्थ कालोपत्रे सडक निर्माणमा एकछत्र रुपमै बिटुमिन प्रयोग गरिन्छ ।

नेपालमा आफ्नै कच्चा तेल उत्पादन नहुने र कच्चा तेल प्रशोधन पनि नहुने भएकाले सबै बिटुमिन आयातबाट नै पूर्ति हुने गर्दछ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ७ अर्ब ६१ करोड रुपैयाँ बराबर १ लाख ८५ हजार ३४५ मेट्रिक टन बिटुमिन नेपालमा आयात भएको देखिन्छ । नेपालमा बिटुमिन आयात गरिने मुलुकहरुमा भारत, साउदी अरबिया, युएई, इरान, सिंगापुर, कतार जस्ता मुलुकहरु पर्दछन् । नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि विदेशी मुद्रा तिरेर बिटुमिन आयात गरेर सडक निर्माण गर्नु साच्चिकै निकै महंगो परिरहेको छ ।

सिमेन्ट
मूलतः चुनढूंगा र माटो अनि थोरै केही अन्य पदार्थलाई आगोमा पोलेर मसिनो पिँधेर सिमेण्ट उत्पादन गरिन्छ । सिमेण्ट उत्पादनका लागि चाहिने मुख्य अव्यव, चुनढुंगा नेपालमा यथेष्ट रुपमा पाइन्छ । तसर्थ आफ्नै देशमा प्रशस्त सिमेण्ट उत्पादन गर्न सकिने सम्भाबना रहेको छ । आव २०७६/२०७७ मा देशभित्रका २ दर्जनभन्दा बढी सिमेन्ट प्लान्टबाट ८७ लाख ७५ हजार मेट्रिक टन सिमेन्ट उत्पादन भएको थियो भने ६ लाख २३ हजार २८० मेट्रिकटन आयात गरिएको थियो । घर, पुल लगायतका संरचनाहरु बनाउन प्रयोग भए पनि नेपालमा सडक बनाउन नगन्य रुपमा सिमेन्टको प्रयोग भएको पाइन्छ ।

कालोपत्रे सडकको आयु प्रायः १० देखि २० वर्षको हुन्छ । त्यो पनि निकै गुणस्तरीय भयो भने मात्रै । तर सिमेन्टबाट बनेका सडकको आयु ३० देखि ४० वर्षसम्मको हुन्छ ।

सिमेन्टको सडकमा सम्भावना
अब सडक निर्माणमा सिमेण्ट कंक्रिटको प्रयोगका सम्भाव्यताका सम्बन्धमा केही बिचार गरौं । सडक सतह निर्माणमा सिमेण्ट कंक्रिटको प्रयोगको इतिहास लगभग सय वर्ष जति पुरानो छ । लगभग तेही समयमा डिजेल पेट्रोलले चल्ने सबारी साधनहरुको व्यापक बिकास भयो ।

यस्ता सबारी साधनहरुको पहुँच सर्बसाधारणसम्म पुगेका कारण अत्यधिक प्रयोग हुन थाल्यो । ती सवारीहरुले प्रयोग गर्ने डिजेल पेट्रोलको उत्पादन ह्वात्तै बढेसँगै बिटुमिनको उत्पादन पनि निकै बढेर सस्तो हुन थाल्यो ।

तेल प्रशोधन पश्चात त्यसै खेर जाने बिटुमिनलाई सडक निर्मणमा प्रयोग गर्न सकिने खोजहरु भए र सफलता पनि प्राप्त भयो । सिमेण्ट कंक्रिटको सडक बनाउनुभन्दा निकै सस्तोमा त्यसवखतको सवारी साधनको भार वहन गर्न सक्ने बिटुमिन सतह भएका सडकहरु बन्न थाले । एक किसिमले भन्नुपर्दा डिजेल वा पेट्रोलबाट चल्ने सबारी साधनहरुको प्रचुरताले आफै गुड्न आवश्यक पर्ने बाटो निर्माण गर्ने भरपर्दो निर्माण सामग्रीको पनि जोहो आफैले गरें ।

निर्माण गर्दा कालोपत्रेको प्रयोग सडक निर्माणमा सस्तो पर्ने देखिए पनि मर्मत र टिकाउका हिसाबले हेर्दा सिमेन्टको प्रयोग सडकको हकमा ३० प्रतिशत सस्तो भएको पाइएको छ ।

पछिल्लो समयमा आएर सवारी साधनहरुको भारलगायत संख्या पनि अत्यधिक बढेसँगै सडक निर्माण अत्यन्तै मजबुत र टिकाउ हुनुपर्ने दबाब उच्च भइरहेको अवस्थामा सिमेन्ट कंक्रिटका सडकहरुको निर्माण गरिने क्रम बढिरहेको छ ।

कालोपत्रे सडकको आयु सिद्दान्ततः प्रायः १० देखि २० वर्षको हुन्छ । अझ निर्माण गर्ने बेला गुणस्तरमा राम्रो ध्यान पुर्याउन सकेन भने त त्यति पनि हुँदैन । यो अवधिमा पनि वर्षेनी खाल्टाखुल्टी टाल्ने र ५/६ वर्षको अनतरालमा सतहमा केही पत्रहरु थपिरहनु पर्ने हुन्छ ।

नेपालमा कतिपय कालोपत्रे सडकहरु बनाएको १/२ वर्षभित्रै बिग्रिने गरेका छन् । जबकी सिमेन्ट कंक्रिटले बनाएका सडकहरु बिना कुनै मर्मत् ३० देखि ४० वर्षसम्म सजिलै टिक्छन् । यसले गर्दा शुरुमा निर्माण गर्न केही बढी खर्चिलो देखिए पनि ३०/४० वर्षको जीवन चक्रको खर्चको विश्लेषण गर्दा कालोपत्रे सडकभन्दा सिमेन्ट कंक्रिट सडक निकै नै सस्तो पर्न आउँदछ । यस लेखकले गरेको ३० वर्षको अवधिको आर्थिक विश्लेषणबाट कालोपत्रे सडकभन्दा सिमेन्ट कंक्रिट सडक ३० प्रतिशत सस्तो हुन आएको पाइयो छ ।

कालोपत्रे सडक सतहले भारलाई सानो क्षेत्रमा फैलाउने भएकाले निर्माण भएको केही समयपछि नै सडक एकनासले नदबिएर अग्लो होचो हुने र खाल्डाखुल्डी निस्कन थाल्छन् भने सिमेन्ट कंक्रिट सडकमा त्यस्तो हुँदैन । यसले गर्दा सिमेण्ट कंक्रिट सडकमा डिजाइन अवधि भरी सवारी साधन सुबिस्ताका साथ चल्न सक्ने हुन्छन् ।

कालोपत्रे सडकको तुलनामा सिमेन्ट कंक्रिटमा कम उबडखाबड हुने भएकाले सडकमा बढी गतिमा सवारी चलाउन सकिन्छ । साथै सडकमा परेको पांग्राको भारले कंक्रिटको सतहलाई त्यति नलच्काउने भएकाले गुड्नमा त्यति अवरोध उत्पन्न हुँदैन । यसले गर्दा टायर तथा सवारीमा हुने क्षति पनि कम हुन्छ । अबरोध कम भएपछि इन्धनको खपत पनि कम हुन आउँदछ । भारतमा गरिएको एक अनुसन्धान अनुसार कालोपत्रे सडकमा भन्दा कंक्रिटको सडकमा १४ प्रतिशत इन्धन कम खपत हुने गर्दछ ।

सडकमा गुड््ने मोटरबाट प्रायः सडकमा बिभिन्न कारणले डिजेल, पेट्रोल, लुब्रिकेटिङ तेल पोखिइने गरेको पाइन्छ । यस्ता तेलहरुले बिटुमिनलाई सजिलै घुलाउँदछन् । यसरी तेलमा घुलेपछि बिटुमिन र रोडा बालुवाको बीचको टँसाई छुट्न जान्छ र सडकमा कचौरा आकारका खाल्डाहरु (पटहोल्स) निस्कन थाल्छन् र सडक चाँडै बिग्रन्छ । तर, सिमेन्ट कंक्रिट सडकमा तेलको कुनै असर पर्दैन ।

कालोपत्रे सडक बनाउँदा बिटुमिन तताउन प्रयोग हुने इन्धन बल्ने क्रममा र बिटुमिन आफै तात्ने क्रममा पनि धेरै हानिकारक ग्यासहरु उत्सर्जन हुने भएकाले वातावरणीय हिसाबले पनि सिमेन्ट कंक्रिट सडकहरु ‘वातावरणमैत्री’ हुन्छन् ।

खुल्ला ठाउँमा हुने भएकाले सडक सतहले सँधै घामपानीको मार खेप्नुपर्ने हुन्छ । बिटुमिनले बनेको सडक सतहको रंग कालो हुने भएकाले घामको तातो बढि सोस्ने काम गर्छ र चाँडै तात्दछ । तातेपछि बिटुमिन सजिलै पग्लिने र पग्लेपछि नरम हुने भएकोले कमजोर हुन्छ र चाँडै बिग्रने हुन्छ । चर्को घाममा बिटुमिन पग्लिएर सडक सतह चिप्लो हुने (यसलाई अंग्रेजीमा बिल्डिङ पनि भनिन्छ) र दुर्घटना निम्त्याउने हुनसक्छ । सडक सतह धेरै तातेपछि तीव्रगतिमा गाडि चल्दा टायरहरु पड्कने र सुरक्षामा समेत चुनौती पैदा हुने गर्दछ । सिमेन्ट कंक्रिटको सडकको सतह सेतो वा खैरो हुने भएकाले घामको असर एकदमै कम पर्दछ ।

पानीले सडक सतहभन्दा मुनिका तहहरुमा पसेर ती तहहरुलाई कमजोर बनाइदिन्छ र भार बहन क्षमतामा ह्रास ल्याइदिन्छ । पानीले सतहमा भएको बिटुमिन र रोडाको बीचको सम्पर्क कमजोर गराउने र आखिरमा एकअर्काबाट अलग्याउने समेत गर्दछ । प्रायः पानीलाई सडक इञ्जिनियरको दुश्मनका रुपमा लिइने गरिन्छ । यसको विपरीत सिमेन्ट कंक्रिटको हकमा पानीले सिमेन्टको सेटिङ प्रक्रियामा समेत सहयोग गर्ने भएकाले पानीको नराम्रो असर कम मात्र पर्दछ । त्यसैले कंक्रिट सडकलाई ‘पानीमैत्री’ सडक पनि भन्न सकिन्छ ।

सडकमा सवारी साधनलाई सुरक्षित तबरले चलाउन टायर र सडकको बीचमा उचित मात्रामा घर्षण हुनु जरुरी हुन्छ । अर्थात् सडक सतह प्रशस्त मात्रामा खस्र्रो हुनुपर्दछ । सिमेन्ट कंक्रिट सडक कालोपत्रे सडकभन्दा यो मामला पनि राम्रो मानिन्छ ।

रातिको समयमा कालोपत्रे सडक अँध्यारो हुने भएकाले सवारी चलाउँदा बढी असुरक्षा महशूस हुने गर्दछ भने सिमेण्ट कंक्रिटको सेतो सतहले प्रशस्त प्रकाश परावर्तन गराउने भएकाले वरिपरिको वातावरण उज्यालो भएर आवागमन बढी सुरक्षित हुन्छ ।

कालोपत्रे सडक बनाउँदा बिटुमिन तताउन प्रयोग हुने इन्धन बल्ने क्रममा र बिटुमिन आफै तात्ने क्रममा पनि धेरै हानिकारक ग्यासहरु उत्सर्जन हुने भएकाले वातावरणीय हिसाबले पनि सिमेन्ट कंक्रिट सडकहरु ‘वातावरणमैत्री’ हुन्छन् ।

कालोपत्रे सडक बनाउन नेपाल जस्तो आफ्नै तेल उत्पादन नभएको देशमा महंगो विदेशी मुद्रा तिरेर बिटुमिन आयात गर्नुपर्ने हुन्छ । जब कि सिमेन्ट कंक्रिट सडक बनाउन सबै निर्माण सामग्रीहरु आफ्नै देशमा प्रचुर मात्रामा पाइने हुँदा विदेशी मुद्रा सञ्चितीमा समेत सहयोग पुग्दछ ।

चुनौतीहरु
माथि भनिए झैं सिमेन्ट कंक्रिटका राम्रा पक्षहरु धेरै भए पनि केही नराम्रा पक्षहरु पनि छन् ।

सिमेन्ट कंक्रिटका सडकहरु धेरै प्रयोगमा आउन नसक्नुको सबभन्दा ठूलो कारण यो अत्यधिक महंगो हुनु हो । उत्तिकै भार वहन गर्नुपर्ने र उस्तै ट्राफिक र वातावरणमा बनाउनु पर्दा सिमेन्ट कंक्रिट सडक सतह बिटुमिन कंक्रिट (बिटुमिन र रोडा मिलाएर बनाएको मिश्रणलाई बिटुमिन वा अस्फल्ट कंक्रिट पनि भनिन्छ) को सडक सतहभन्दा झण्डै तीन गुणा महंगो पर्ने हुन्छ ।

राति सिमेन्ट कंक्रिट सडक उज्यालो भएर सुरक्षित हुने भनेर माथि बताइए पनि अगाडिको सवारीको हेडलाइटको चमकले सतह टल्किने हुँदा विपरीत दिशाबाट आइरहेको सवारीको चालकको आँखा तिर्मिराउने समस्याहरु आउने हुन्छ । राति मात्र होइन दिउँसोको घाम पनि टल्केर चालकको आँखामा थप तनाव उत्पन्न हुन सक्छ । यसले दुर्घटनाहरु बढाउने सम्भावना रहन्छ ।

सिमेन्ट कंक्रिट प्रयोग गरेर बनाइएका सडकहरु एकपटक बनेर ढिक्को भइसकेपछि फुटाएर टुक्रे मर्मत् गर्न धेरै गाह्रो हुन्छ । यसैले सडक मुनि बिच्छ्याइएका पानी, बिजुली, टेलिफोन, केबल, ढललगायतका लाइनहरु सडक काटेर मर्मत् गर्ने असम्भव प्रायः हुन्छ । त्यसैले सडक बनाउनु अघि नै असाध्यै राम्रोसाग यी लाइनहरुको व्यवस्थापनको योजना बनाउनु पर्दछ ।

तापक्रमको उतार चढावसँगै सडक सतह फैलने, खुम्चने, दोब्रिने हुन्छ । कालोपत्रे सडकको हकमा सडक सतहमा उत्पन्न हुने तनाव सजिलै पुनर्वितरण हुने हुनाले यसको खासै असर देखिदैन ।

तर सिमेन्ट कंक्रिटको सतहको हकमा यसको आफ्नै भारले वा मुनिको सतहसँगको घर्षणले यो प्रक्रियास्वतन्त्र रुपले चल्न पाउदैन र थप तनाव उत्पन्न हुन्छ । यो तनाव व्यव्स्थापन गर्न सिमेण्ट कंक्रिट सडकमा जोर्नीहरु बनाउनु पर्ने हुन्छ । यी जोर्नीहरुले गर्दा सडकमा हिँड्ने सवारीबाट ढ्याक-ढ्याक गरेर नमीठो आवाज उत्पन्न हुन्छ । जुन यात्रा गर्नेहरुलाई चिडचिडाहट उत्पन्न गर्नुका साथै घनाबस्ती भएको क्षेत्रमा वा वन्यजन्तुहरुको बासस्थान भएको क्षेत्रमा यो राम्रो मानिदैन ।

राम्रोसँग बनाएको खण्डमा माथि भनिए झैं सिमेण्ट कंक्रिटको सडकबाट धेरै लामो समयसम्म बिना कुनै मर्मत् उत्कृष्ट सेवा प्राप्त हुन्छ । तर पनि फुट्ने, चर्कने वा चोइटिनेलगायतका केही बिकृतिहरु उत्पन्न भएको खण्डमा मर्मत गर्नु एकदमै गाह्रो हुन्छ ।

सिमेन्ट कंक्रिट सडकको निर्माण गरेपछि यातायात खुला गर्नका लागि कम्तीमा पनि २८ दिन सिमेन्टलाई सेटिङ हुन दिनु पर्दछ । त्यसैले यसको निर्माण अवधि कालोपत्रे सडकभन्दा बढी समय लाग्ने हुन्छ ।

उपसंहार
माथि छोटकरीमा सिमेन्ट कंक्रिट र बिटुमिनले बनेका सडकहरुका बारेमा चर्चा गरियो । सरसर्ति हेर्दा सिमेन्ट कंक्रिट सडकका धेरै फाइदाहरु र थोरै बेफाइदाहरु पनि देखिए । तर पनि किन सिमेन्ट कंक्रिट सडकहरुले जम्मा पक्की सडकको लम्बाइको करिब ५ प्रतिशत मात्रै ओगटेका छन् ?

पछिल्लो समयमा संसारै भरी सडकमा यातायातका साधनहरुको अत्यधिक वृद्धि मात्रै भएको होइन ।

यातायातका सधनहरुको भार बहन क्षमता र प्रकृतिमा समेत ठूलो परिबर्तन आएको छ र यो क्रम जारी नै रहने छ । यसले गर्दा सडक निर्माण र मर्मत् सम्भार व्यवस्थापन पनि दिनानुदिन चुनौतिपूर्ण हुँदैछ । यसले गर्दा सडक निर्माण निकै महंगो व्यवसाय हुन पुगेको छ ।

सडक निर्माणमा गरिने लगानिको वृद्धिसँगै यसको आर्थिक विश्लेषणमा समेत लामो अबधिको लेखाजोखा गर्नुपर्ने अवस्था आएको छ । सिमेन्ट कंक्रिट सडक शुरुमा लगानिको हिसाबले महंगो देखिए पनि लामो अवधिको पूरा जीवनचक्रको विश्लेषण गर्दा सस्तो पर्ने हुन्छ ।

हाम्रो जस्तो पहाडै पहाडले बनेको देशमा सिमेन्ट उत्पादनका लागि चाहिने चुनढुंगा प्रचुर मात्रामा उपलब्ध छ भने तेल प्रशोधनबाट उत्पादन हुने बिटुमिन आयात गर्नुपर्ने अवस्था छ । नेपालका सिमेन्ट प्लान्टहरुले अब सिमेन्टको माग पूरा गर्ने अवस्थामा पुगिसकेका छन् ।

बिटुमिनबाट बनेका सडकहरु राम्रो पानी व्यवस्थापनको अभाब र गुणस्तर नियन्त्रण राम्रो हुन नसक्दा १-२ वर्ष मा नै बिग्रने अबस्थामा छन् । विदेशबाट आउने बिटुमिनको गुणस्तर पनि भरपर्दो नभएको पाइएको छ ।

यिनै कारणहरुले गर्दा कतिपय निकायहरुले स्पष्ट निर्देशिकाहरु नभएकै अवस्थामा पनि हचुवा कै भरमा सिमेन्ट कंक्रिट सडकहरु धमाधम बनाउन थालेका छन् । स्वतःस्फूर्त रुपमा यसरी कंक्रिटका सडकहरु बन्दै जानु बिटुमिन सडकहरुभन्दा पक्कै पनि यी सडकहरुको प्रदर्शन राम्रो भएरै हो ।

हचुवारुपले बनेका हुनाले यी कंक्रिट सडकहरुमा पनि निर्माण गुणस्तर नियन्त्रण लगायतका निकै बिकृतिहरु आएका पाइएका छन् ।

सम्बन्धित निकायहरुले अब ढिलो नगरी सिमेन्ट कंक्रिटका सडकहरु डिजाइन, निर्माण र मर्मतका सम्बन्धमा स्पष्ट निर्देशिकाहरु बनाएर जारी गर्नुपर्ने हुन्छ । यी निर्देशिकाहरुले कस्ता सडकहरुमा सिमेन्ट कंक्रिट प्रयोग गर्ने, कसरी प्रयोग गर्ने, गुणस्तरीय निर्माण कसरी गर्ने भन्ने बारेमा स्ष्ट दिशानिर्देश गर्नुपर्ने हुन्छ ।

सिमेन्ट कंक्रिट सडकका केही नराम्रा पक्षहरु भए पनि त्यस्ता प्रभावहरु सजिलै न्यूनिकरण गर्न सकिने खालका हुन्छन् । स्वदेश मै उत्पादन हुने कच्चापदार्थबाट बन्ने भएकाले कालान्तरमा सिमेन्टको उत्पादन लागत पनि घटेर शुरुको लागतमा समेत सिमेन्ट कंक्रिट सडकहरु बिटुमिन सडकसँग प्रतिस्पर्धी हुने सम्भावना छ । तसर्थ सडकका लागि सिमेन्ट कंक्रिट अपरिहार्य हुनेछ । (लेखक इञ्जिनियर शर्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसहसचिव हुन् ।)


क्लिकमान्डु