साढे ९५ अर्बको सवारीसाधन र पार्टपुर्जा आयात, २७ प्रतिशतको वृद्धि



काठमाडौं । नेपालमा सवारीसधान, पार्टपुर्जा र टायरको आयात बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ९५ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ बराबरको सवारीसाधन, पार्टपुर्जा र टायर आयात भएको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा २६.९ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा ७५ अर्ब २७ करोड १३ लाख रुपैयाँको सवारीसाधन, पार्टपुर्जा र टायर आयात भएको थियो ।

गत वर्षको लकडाउनका कारण समयमै नेपाल आउन नसकेका सवारीसाधन, पार्टपुर्जा र टायर चालु आवमा भित्रिदा आयात बढेको देखिएको नाडा अटो मोवाइल्स एशोसिएशन अफ नेपालका सचिव अनुपकुमार बराल बताउँछन् ।

‘गत आर्थिक वर्षको पछिल्लो ४ महिना लकडाउन भयो । लकडाउनको समयमा सीमा नाका बन्द हुँदा पर्याप्त मात्रामा सवारीसाधन भित्रिन सकेन’, सचिव बरालले भने, ‘गतवर्ष रोकिएका सवारीसाधन चालु वर्षमा भित्रिदा आयात बढेको देखिएको हो ।’

लकडाउनका कारण बैंकहरुमा लगानी योग्य पूँजी (तरलता) बढेको थियो । कोभिडका कारण लगानी योग्य क्षेत्र संकुचन भएका छन् । बैंकहरुले लगानीका लागि उपयुक्त क्षेत्र भेट्न मुस्किल छ । यस्तो अवस्थामा बैंकहरु सवारी कर्जातर्फ आकर्षित भएका छन् ।

बैंकहरुले सस्तो ब्याजमा अटो लोन उपलब्ध गराई रहेका छन् । विगतमा सवारी कर्जाको ब्याजदर ११÷१२ प्रतिशतसम्म पर्नेगर्थो । अहिले बैंकहरुले २÷३ प्रतिशत विन्दुसम्मले सवारी कर्जाको ब्याजदर घटाएका छन् ।

कोभिड–१९ को प्रकोपका कारण उपभोक्ताहरु सार्वजनिक सवारीसाधनमा भन्दा निजीमा आकर्षित भएका छन् । सस्तो ब्याजदर र सहज फाइनान्सिङको व्यवस्थाले गर्दा निजी सवारी चढ्ने बढिरहेका छन् ।

नेपालमा सबैभन्दा धेरै भारतबाट सवारीसाधन र पार्टपुर्जा आयात हुने गरेको छ । चालु आवको पहिलो ९ महिनामा भारतबाट ७८ अर्ब ४८ करोड ८४ लाख रुपैयाँको सवारीसाधन र पार्टपुर्जा आयात भएको देखिन्छ । गत आवको सोही अवधिको तुलनामा यो ३३ प्रतिशत वृद्धि हो । गत आवमा ५८ अर्ब ८० करोड ९० लाख रुपैयाँको सवारीसाधन र पार्टपुर्जा भारतबाट आयात भएको छ ।

चीनबाट हुने सवारीसाधन र पार्टपुर्जाको आयात भने घटेको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा ५.५ प्रतिशतले चीनबाट हुने आयात घटेको हो । गत आवमा चीनबाट ४ अर्ब ३ करोड ५९ लाख रुपैयाँ बराबरको सवारीसाधन र पार्टपुर्जा आयात भएकोमा चालु आवमा ३ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

तेस्रो मुलुकबाट भित्रिने सवारीसाधन र पार्टपुर्जाको आयात पनि १६.८ प्रतिशतले घटेको छ । गत आवमा तेस्रो मुलुकबाट ५ अर्ब ६८ करोड ३८ लाख रुपैयाँको सवारीसाधन र पार्टपुर्जा आयात भएकोमा चालु आवमा ४ अर्ब ७३ करोड ६ लाख रुपैयाँ बराबरको आयात भएको छ । यातायात व्यवस्था विभागको अनुसार आर्थिक वर्ष २०७६÷७७ मा मुलुकभर करिब ४० लाख सवारी दर्ता भइ सञ्चालनमा रहेका छन् । यसमा दुई पांग्रे सवारीको हिस्सा धेरै छ । कुल सवारीमध्येमा दुई पांग्रेले ८० प्रतिशत बजार ओगटेको छ ।


क्लिकमान्डु