निषेधाज्ञामा अधिकांश खाद्यान्नमा मूल्यवृद्धि, चामलमा प्रतिबोरा सय रुपैयाँ बढ्यो



काठमाडौं । निषेधाज्ञाको अवधिमा दैनिक उपभोग्य खाद्यान्नमा मूल्यवृद्धि भएको छ ।

गत वर्षको लकडाउन र निषेधाज्ञामा खाद्यान्न वस्तुहरूमा खासै मूल्य बढेको थिएन । सो वर्ष उद्योग मन्त्रालय, व्यापारीहरू बैठक बसेर खाद्यान्नको मूल्य बढाउन पाउँदैन भन्ने निष्कर्ष निकालेको थियो ।

त्यसबेला लकडाउन र निषेधाज्ञाको अनिश्चित भएकोले व्यापारीसँग उपलब्ध भएको खाद्यान्न कसरी बिक्री गर्ने भन्ने विषयले पिरोलेकाले खासै मूल्य बढेको थिएन ।

तर, यो वर्षको निषेधाज्ञामा अधिकांश खाद्यान्नको मूल्य बढाएको व्यापारीहरू बताउँछन् । यस्तै हाल दैनिक उपभोग्य दाल, गेडागुडीमा १५ देखि २० रुपैयाँसम्म बढेको छ । त्यस्तै चिनीमा १० रुपैयाँ र चामलमा एक सय रुपैयाँसम्म बढाएको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र कुमार श्रेष्ठ बताउँछन् ।

हाल बजारमा पूर्ण रुपमा निषेधाज्ञा लागू गरेको अवस्थामा सरकारले तोकेको समयमा खुद्रा व्यापारीहरूले व्यापार गर्दै आएका छन् । तर, निषेधाज्ञाको समयमा खाद्यान्न अभाव तथा आपूर्ति गर्न सहज नभएको भन्दै खाद्यान्न वस्तुहरूमा मूल्य बढाएको पाएको उनको भनाइ छ ।

उनका अनुसार खुद्रा व्यापारीबाट भन्दा पनि उद्योग तथा ठूलो व्यापारीबाटै खुद्रा व्यापारीलाई चर्को मूल्यमा खाद्यान्न किन्न बाध्य बनाएको बताए ।

‘खुद्रा व्यापारीहरूले अहिले केही घण्टा मात्रै आफ्नो व्यापार सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । सो समयमा व्यापार गर्दै आएको व्यापारीहरूले आफूले पाउने नाफा राखेर व्यापार गरेको हुन्छ,’ उनले भने, ‘तर, खुद्रा व्यापारमा आपूर्ति गर्दै आएका उद्योग तथा व्यापारीले बिनाकारण मूल्य बढाएकाले खाद्यान्नको मूल्यवृद्धि भएको हो ।’

अहिले उद्योगी तथा ठूला व्यापारीले कुनै कारण नरहेको उनी बताउँछन् । जसमा ठूलो व्यापारीले नै मूल्य बढाएर खुद्रा व्यापारीलाई बिक्री गरेको अवस्थामा खुद्रा व्यापारीले घाटा खाएर बिक्री गर्न सक्ने अवस्था नरहेको उनले बताए । साथै, ठूला व्यापारी र उद्योगीले मूल्य बढाएपछि खुद्रामा मूल्य बढ्नु स्वाभाविक रहेको उनको तर्क छ ।

निषेधाज्ञा अघिसम्म मूल्य नबढेको खाद्यान्नहरू पछिल्ला दिनमा ठूला व्यापारीले नयाँ खाद्यान्नमा खुद्रा व्यापारसँग चर्को शुल्क लिइरहेको हुनाले सोही अनुसार खुद्रा व्यापारीहरूले बिक्री गरिरहेको उनी बताउँछन् ।

तेलमा ३० रुपैयाँसम्म मूल्य बढ्यो
गत वर्षको लकडाउन निषेधाज्ञामा बढ्न नसकेको तेलको मूल्य दशैंतिहारपश्चात अप्रत्याशित रुपमा थियो । उक्त बढेको तेलको मूल्य अहिले झन बढाएको अध्यक्ष श्रेष्ठले बताए ।

उनका अनुसार पछिल्लो समय उद्योगीले प्रति लिटर तेलमा २५ देखि ३० रुपैयाँसम्म बढाएको उनले जानकारी दिए । यसले गर्दा व्यापारी तथा उपभोक्ता मारमा परेको उनको भनाइ छ ।

त्यस्तै, चिनीको मूल्य पनि प्रति केजी १० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । निषेधाज्ञा अघिसम्म ८५ रुपैयाँमा पाउने चिनीको मूल्य अहिले उद्योगीले बढाएर ९५ रुपैयाँ बिक्री गरिरहेको उनले बताए ।

‘हाल मैले मुसुरो दाल प्रति केजी १ सय २५ रुपैयाँ र चना ११० रुपैयाँमा बिक्री गरिरहेको छु,’ उनले भने, ‘आगामी दिनमा मैले उक्त खाद्यान्न खरिद गर्नुपरेमा अहिले सर्वसाधारणहरूलाई बिक्री गरिरहेको मूल्यमा व्यापारीले खरिद गर्नुपर्छ ।’ यसले गर्दा बजारमा समान्य रुपले मूल्य बढ्ने उनको भनाइ छ ।

निषेधाज्ञामा व्यापार बढ्यो
सरकारले अहिले अत्यावश्यक व्यापार व्यवसाय सञ्चालनको लागि समय तोकेको छ । निषेधाज्ञाले सीमित समयमात्रैै सञ्चालन व्यवस्था गरेसँगै खुद्रा व्यापार पाँच गुणाले बढेको व्यवसायहरू बताउँछन् ।

सामान्य अवस्थामा आवश्वक खाद्यान्न प्रति केजीको रुपमा लिँदै आएकोमा अहिले प्रति व्यक्ति ५ केजीसम्म खरिद गर्ने गरेको अध्यक्ष क्षेष्ठको भनाइ छ ।

‘विगतको दिनमा दैनिक रुपमा १ केजी खरिद गर्ने व्यक्तिले अहिले ५ केजीसम्म उठाउँछन् । त्यसैले बजारमा अत्यधिक खाद्यान्नको बिक्री भई सामान्य अवस्थाको तुलनामा ५ गुणाले व्यापार बढेको छ,’ उनले भने ।

त्यस्तै अहिले खुद्रा व्यापार बढेकोले पनि त्यसको असर मूल्यमा परेको उनले बताए । निषेधाज्ञामा खाद्यान्न ढुवानीका साथै आपूर्तिमा निकै कठिन छ । त्यसमाथि व्यवसायीहरूले बिनाकारण खुद्रा व्यापारीलाई अभाव देखाउँदै मूल्य बढाई बिक्री गर्दै आएकाले यसतर्फ सरकारले ध्यान दिई अनुगमन गर्नुपर्ने बताए ।

बजारमा व्यापारीहरूले नयाँ सामग्री खरिद गर्ने वित्तिकै मूल्य बढाउने प्रचलन रहि आएको छ । साथै, अहिले खाद्यान्नको माग र आपूर्ति राम्रो भएकाले मूल्य बढेको उनको बुझाइ छ ।

व्यापार खोल्ने समयमा विभागको अनुगमन भइरहेको छ- विभाग
सरकारको एक मात्र बजारमा अनुगमनको लागि अधिकार प्राप्त वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारले बजार खुल्ला गर्न तोकेको समयमा निरन्तर बजार अनुगमन गरेको विभागका प्रवक्ता शिवराज सेढाइले जानकारी दिए । उनका अनुसार हाल विभिन्न निकायसँगको समन्वयमा विभिन्न प्रकारका व्यापारमा अनुगमन भइरहेको बताए ।

त्यस्तै पछिल्लोे समय खाद्यान्नमा पनि मूल्य वृद्धि भएको गुनासो प्राप्त भएसँगै त्यसमा पनि विषेश अनुमगन भइरहेको उनको भनाइ छ । त्यसमा पनि तेलको अत्यधिक गुनासो आएको उनले बताए ।

‘अहिले कोरोनाको तीव्ररुपले संक्रमण बढेको अवस्थामा पनि विभागले निरन्तर अनुगमन गरेको छ,’ उनले भने, ‘विभागले बजारमा अप्रत्याशित रुपमा खाद्यान्नको मूल्य बढाएमा र ऐन विपरीत कारोबार गरेमा कारबाही गर्छौं ।’ साथै, आगामी दिनमा पनि गुनासो आएमा पहिलो प्राथमिकताको आधारमा रहेर अनुगमन गर्ने बताए ।


क्लिकमान्डु