बजेट निर्माणमा अर्थमन्त्रालयको कार्यतालिकाः के-के काम सकियो ? कति बाँकी ?



काठमाडौं । यतिबेला आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेटको तयारी चलिरहेको छ । बजेट तयार पार्नका लागि अर्थमन्त्रालयले तयार पारेको कार्यतालिका अनुसार वैशाख २० गतेसम्ममा विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता संघीय सदनका दुवै सदनमा पेश भइसक्नुपर्ने हुन्छ ।

तर राष्ट्रपतिले बजेट अधिवेशन भने बोलाउन बाँकी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक ठाक्ने चलन छ ।

हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था भने अर्थमन्त्रालयले कार्यतालिका तोकेर सोहि आधारमा बजेटको तयारी थाल्छ । मन्त्रालयको कार्यतालिकाअनुसार हालसम्ममा बजेट पूर्व विभिन्न निकायसँग गरिने छलफल र सुझाव संकलनको काम सकिसकेको छ ।

बजेटमा समावेश गर्नुपर्ने विषयमा सार्वजनिक सूचना जारी गरी सुझाव संकलन, नीति, कार्यक्रम र अपेक्षित उपलब्धीका सूचकहरु सम्बन्धित महाशाखाबाट लिने र नेपाल राजश्व बोर्ड विकास समितिबाट प्राप्त सुझावहरु उपर छलफल तथा प्रतिवेदन तयार गर्ने काम मन्त्रालयले सकिसकेको छ ।

त्यस्तै, ‘लाइन मिनिस्ट्री बजेटरी इन्फरमेसन सिस्टम’ (एलएमबिआईएस)मार्फत् विषयगत मन्त्रालयको बजेट प्रस्ताव गर्ने र बजेटको नीति तथा कार्यक्रम माथि पनि छलफल सकिसकेको छ ।

बजेटका उद्देश्य प्राथमिकता र मूख्य कार्यक्रमबारे सांसदहरुसँग प्रदेशगत छलफल, सशर्त अनुदानका बारेमा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयसँग छलफल र मन्त्रालयहरुसँग बजेट कार्यक्रम र खर्चको शीर्षकगत छलफल सकिसकेको छ । वैदेशिक स्रोत अन्तर्गत प्राप्त हुने रकम यकिन गर्ने काम पनि मन्त्रालयले सकिसकेको छ ।

मन्त्रालयको कार्यतालिकामा वैशाख २० भित्रमा विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता संघीय संसदका दुबै सदनमा पेश गरिसक्ने उल्लेख छ । वैशाख २५ गतेभित्रमा विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकताको मस्यौदा तयार पार्ने र प्राविधिक सहायता तथा अन्य गैर सरकारी संस्थामार्फत् परिचालन हुने सहायता रकम पनि यकिन गरिसक्नुपर्छ ।

कार्यतालिकालाई आधार मान्ने हो भने वैशाख मसान्तसम्ममा सबै मन्त्रालयको प्रगति विवरण र सरकारको आर्थिक सर्वेक्षणलाई अन्तिम रुप दिइ छपाइका लागि प्रेसमा पठाइसक्नुपर्ने हुन्छ ।

अर्थमन्त्रालयले जेठ १ गतेसम्म व्यय अनुमान र शीर्षकगत खर्च अनुमानको अंक रुजुसहित बजेटको मस्यौदा तयार पारिसक्नुपर्छ भने जेठ ५ गते राजश्व बोर्ड विकास समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्री समक्ष पेश गर्ने कार्यतालिका रहेको छ ।

जेठ १० गतेसम्ममा व्यय अनुमानको प्रारम्भिक मस्यौदा तयार गर्ने र राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङ गर्नेकाम सकिसक्नुपर्छ भने जेठ १२ गतेसम्ममा व्ययअनुमान सहितको किताब छपाईका लागि प्रेसमा पठाइसक्नुपर्छ । यो बेलासम्ममा मन्त्रालयले बजेट वक्तव्य, आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिइसक्नुपर्छ ।

संसदमा बजेट प्रस्तुत हुने अघिल्लो दिन अर्थात जेठ १४ गते राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषदसँग बजेट ब्रिफिङ गर्ने, त्यहि दिन आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक छपाईका लागि पठाउने र संघीय संसदका दुवै सदनमा आर्थिक सर्वेक्षण, सार्वजनिक संस्थानहरुको प्रगति विवरण र मन्त्रालयहरुको प्रगति विवरण पेश गर्ने कार्यतालिका अर्थमन्त्रालयको छ ।


क्लिकमान्डु