बजेटमा चेम्बरको सुझावः जीडीपीको ५ प्रतिशत बराबरको राहत प्याकेज आवश्यक
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर ठूलो आकारको भन्दा पनि कार्यान्यवन गर्न सकिने गरी आर्थिक वर्ष २०७८÷७९ को बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिएको छ ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थमन्त्रालयमै पुगेर बजेटका लागि सुझावहरू दिएका हुन् ।
‘कोभिड १९ महामारीको प्रकोपबाट समग्र अर्थतन्त्र र जनजीवन लामो समयसम्म प्रभावित हुने अवस्था रहेकाले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर बजेटको लक्ष्य निर्धारण गर्नुपर्दछ,’ अध्यक्ष मल्लले भने ।
मल्लले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कोरोना प्रभावित अर्थतन्त्रका लागि दिएका सम्पूर्ण सहुलियतपूर्ण व्यवस्थाहरूलाई आगामी वर्षमा पनि निरन्तरता दिइनु पर्ने बताए ।
चेम्बरका सुझाव लिँदै अर्थमन्त्री पौडेलले निजी क्षेत्रका गुनासोहरु बजेटमार्फत् सम्बोधन प्रयास गरिने बताए ।
‘हामी निजी क्षेत्रसँग मैत्रीपूर्ण सम्बन्ध सहकार्य गर्न चाहन्छौँ,’ अर्थमन्त्री पौडेलले भने ।
बजेट तर्जुमाका लागि नेपाल चेम्बर अफ कमर्सका मुख्य सुझावहरूः
– कोभिड-१९ ले उद्योग व्यवसाय, रोजगारी, स्वास्थ्य, शिक्षा, पर्यटन, निर्माण लगायत अर्थतन्त्रका सबै क्षेत्रहरूमा अत्यन्तै प्रतिकूल प्रभाव पारेको छ । यी गम्भीर असरहरू न्यूनीकरण गर्न तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नका लागि स्वरोजगारी वृद्धि गर्न बजेटले विशेष व्यवस्था गर्नुपर्दछ ।
– कोरोना महामारीको दोस्रो प्रकोप तीब्र गतिले बढिरहेको अवस्थामा अर्थतन्त्रलाई नकारात्मक प्रभाव पर्न नदिन अत्यावश्यक स्वास्थ्य सुविधाहरूको परिचालन तथा व्यवस्था गर्नुपर्दछ । निजी क्षेत्रले पनि खोप झिकाउन पाउने व्यवस्था मिलाउनुपर्दछ ।
– चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको ५० अर्बको एकीकृत प्याकेज पूर्णरुपमा कार्यान्यवनमा आएको छैन । कोरोना महामारीको प्रभाव निरन्तर रहेको वर्तमान अवस्थामा आगामी आर्थिक वर्षको बजेटमा कुल ग्राहस्थ उत्पादनको ५ प्रतिशत राहत प्याकेज व्यवस्था गरिनुपर्दछ । सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनुपर्दछ ।
– मुलुकमा पर्याप्त अवसर नहुँदा युवा श्रम शक्ति पलायन भएको छ । यसको दीर्घकालीन समाधान खोज्न स्वदेशमै रोजगारी वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गरिनुपर्दछ ।
– युवाहरूलाई नवप्रवर्तन व्यवसाय (स्टार्टअप) मा प्रोत्साहन हुने गरी बजेटमा व्यवस्था गरिनुपर्दछ । स्रचना प्रविधि उद्योगलाई विकास गरी गाउँ तहमा पु¥याउनु पर्दछ । कृषिमा स्नातक अध्ययनरत विद्यार्थीहरूलाई अध्ययन सकिनासाथ फिल्डमा गई कम्तिमा एक महिनाको इन्टर्नसिप गर्ने व्यवस्था मिलाउनुपर्दछ ।
-सरकार अन्तरगतका संस्थाले २ वर्षको लागि कृषि उत्पादनको बफर स्टक राख्ने व्यवस्था गरिनु पर्दछ ।
– एक सय बिगाहा भन्दा बढी क्षेत्रमा व्यवसायिकक खेती गर्नेलाई बैंकबाट कर्जा प्रवाह हुँदा विशेष सुविधाको व्यवस्था र सरकारबाट पनि यस क्षेत्रमा लगानी प्रवद्र्धन गर्न थप आकर्षक प्याकेज तथा सेवा उपलब्ध हुनु पर्दछ ।
– वास्तविक कृषिजन्य वस्तु उत्पादकले उत्पादनको प्रतिफल पाउने गरी सरकारले नीति बनाउनुपर्दछ । कृषि बजारमा वास्तविक किसानले भन्दा बिचौलियाले कृषि उत्पादनबाट प्राप्त हुने प्रतिफल बढी पाइरहेकोले बिचौलियाको प्रवाह कम गर्न किसान र व्यवसायीको प्रत्यक्ष संलग्नता हुने गरी हरेक स्थानीय तहमा एउटा अत्याधुनिक कृषि बजार एग्रोभेट÷संकलन घर/शित भण्डार सहितको केन्द्र निर्माण गरिनुपर्दछ ।
– बहुराष्ट्रिय कम्पनीहरूलाई आकर्षित गर्न सरकारले लगानीको विश्वासिलो वातावरण निर्माण गरी प्रभावकारी हेजिङको लागि कार्यक्रमहरू ल्याइनुपर्दछ ।
– खुद्रा कारोबारलाई सरलीकरण र सहजीकरण गर्न ५० लाखको थ्रेसहोल्ड वृद्धि गरी एक करोड रुपैयाँ कायम गर्नुपर्दछ । खरिदखाताको आधारमा टर्नओभर ट्याक्स ०.५ प्रतिशत कायम गरिनुपर्दछ ।
– दक्षिण एसियाली मुलुकहरूको कर संरचना अध्ययन गरी प्रतिस्पर्धी करनीति अवलम्वन गर्नुपर्दछ । करको दर भन्दा दायरा बढाउने नीति अख्तियार गरिनुपर्दछ ।
– एकीकृत कर प्रणाली र एकल कर राजश्व खाताको व्यवस्था गरी करदाताले संघ, प्रदेश र स्थानीय स्तरमा एकद्वार प्रणालीमार्फत कर तिर्ने व्यवस्था गरिनुपर्दछ ।
-विश्व व्यापार संगठन (डब्ल्युटिओ) सँग गरिएका प्रतिवद्धता अनुसार भन्सार दरबन्दी समायोजन गर्दै लैजानुपर्दछ । डब्ल्युटिओको मान्यताअनुसार कारोबार मूल्यलाई मान्यता दिई भन्सार जाँचपासमा कायम रहेको सन्दर्भ मूल्यको प्रचलन खारेज गरिनुपर्दछ ।
– अत्यावश्यक वस्तुहरू र बिलासिताका सामानहरूमा एकल दर प्रणालीले समाजिक न्यायमा समेत आघात परेकोले विद्यमान मूल्य अभिवृद्धि करको एकल दर प्रणाली अन्त्य गरी दुई तहको बनाउनुपर्दछ । अत्यावश्यक वस्तुमा १० प्रतिशत नबढ्नेगरी भ्याट कायम गरिनुपर्दछ ।
– घरजग्गा कारोबारलाई व्यवस्थित तथा पारदर्शी बनाउन शेयर कारोबारमा जस्तै घरजग्गामा पनि ब्रोकर कम्पनीमार्फत कारोबार गर्ने व्यवस्था मिलाउनुपर्दछ ।
– नकारात्मक सूचिमा रहेका धुमपान तथा मद्यपान बाहेक सबै प्रकारका उत्पादनहरू अन्तःशुल्क मुक्त हुनुपर्दछ । घटाइएको भन्सार महसुललाई अन्तःशुल्कमा समायोजन गर्ने प्रथा खारेज गरिनुपर्दछ ।
– सरकारले आर्थिक वृद्धिका लागि आन्तरिक ऋण घटाउने र पुँजीगत खर्च बढाउने नीति अख्तियार गरिनुपर्दछ ।
– आर्थिक वृद्धिका लागि एकल दरको ब्याज प्रणाली लागू गरिनुपर्दछ ।
– कुनै फर्म, कम्पनीे, संस्था तथा व्यक्तिबाट जारी भएको चेक बाउन्स भएमा त्यस्तो फर्म, कम्पनी, संस्था र व्यक्तिलाई कालोसूचीमा राख्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गरिनुपर्दछ ।
– नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउनमा सरकारले विशेष तथा आकर्षक नीति लिनुपर्दछ । हाल कागजी प्रतिबद्धता आउने तर पुँजी नआउने समस्या छ । वैदेशिक लगानी भित्र्याउँदा प्रविधि तथा पुँजी नै भित्र्याउने व्यवस्था गरिनुपर्दछ ।
-भन्सार अत्याधिक हुँदा निर्यात उद्योगमा ह्रास आएकोले कच्चापदार्थ आयात गर्दा उद्योगहरूसँग लिइने भन्सार ५ प्रतिशत नबढ्नेगरी तय गरिनुपर्दछ ।
– विश्व बजारसम्म पहुँच नभएका साना, लघु, घरेलु, मझौला उद्योगी, सहकारी तथा किसानले निकासीको सुविधा पाउने गरी निर्यात घर (एक्सपोर्ट हाउस) स्थापना गरिनुपर्दछ ।
– हाल अक्सिजनको अभाव भइरहेकोमा स्थानीय उत्पादन पर्याप्त भइरहे पनि सिलिन्डरको अभावले आपूर्तिमा समस्या देखिन थालेकोले अक्सिजन सिलिन्डरको आयातमा भन्सार महसुल छुट हुनुपर्दछ ।