कोरोनाका कारण चकलेट र पानी रोकेर करोडौं बचाउँछन् विमान कम्पनी



काठमाडौं । कोरोना महामारीका कारण आन्तरिक उडानका लागि केही नियम परिवर्तन भए । आन्तरिक उडानका लागि विमानस्थलमा पुग्नु पर्ने आधा घण्टाबाट साढे १ घण्टा अगावै पुग्नु पर्ने नियम बनाइयो ।

त्यसका साथै विमानको शौचालय प्रयोग गर्न नपाइने, मास्कका साथै फेस सिल्ड अनिवार्य गरिनुका साथै पानी र चकलेट वितरण पनि रोकियो । त्यसका साथै विमान चढ्दा समेत ४/४ जना गरी चढ्नु र ओर्लनु पर्ने नियमसँगै बोर्डिङ पास लिनु अगाडि फारम भर्ने र तापक्रम नाप्न थालियो ।

त्यसअघि केही कम्पनीहरुले चकलेटसँगै पिनट्सका साथै केक र बिस्कुट पनि दिन्थे भने यात्रा अवधिमा पानीका साथै कोल्ड ड्रिंग्स पनि सर्भ गरिन्थ्यो ।

यी सबै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको प्रोटोकल अन्तर्गत थियो ।

के तपाईंलाई थाहा छ विमान कम्पनीहरुले पानी र चकलेट वितरणमा रोक लगाएसँगै विमान कम्पनीहरुले करोडौं रुपैयाँ जोगाएका छन् ।

तथ्यांक अनुसार आन्तरिक उडानमा अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले मात्रै वार्षिक २५ लाखको हाराहारीमा यात्रु उडान गर्दथ्यो । त्यो भनेको कुल आन्तरिक उडानतर्फका यात्रुको संख्याको ५० प्रतिशतभन्दा बढी हो ।

बुध्द एयरले हाल सबैभन्दा धेरै १४ वटा विमानबाट दैनिक १२८ वटासम्म उडान गर्दै आएको छ र मे १ तारिखदेखि ६ वटा गन्तव्यमा अन्तरप्रदेश उडान पनि शुरु गर्दैछ ।

त्यसका साथै यति एयरलाइन्स, श्री एयरलाइन्स, सौर्यलगायतका विमान कम्पनीले बाँकी बजार हिस्सा ओगटेका थिए ।

विमान कम्पनीहरुले वितरण गर्ने पानी र चकलेटबाट प्रति यात्रु औसतमा विमान कम्पनी अनुसार २० रुपैयाँदेखि ३० रुपैयाँ रुपैयाँभन्दा बढी बचत गरेका छन् ।

आन्तरिक उडानमा वार्षिक ४० देखि ४५ लाख यात्रुले यात्रा गर्दा ती औसतमा साढे ८ करोडदेखि १० करोड रुपैयाँसम्म बचत भएको छ ।

बुध्द एयरका प्रबन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतका अनुसार वार्षिक २५ लाख यात्रुलाई हिसाब गर्दा ६ देखि ७ करोड बचत भएको बताए ।

त्यसैगरी यति एयरलाइन्सका उडान सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यात्रुलाई वितरण गरिने चकलेट, पानी र पिनट्सको खर्च हेर्दा औसतमा २० रुपैयाँ खर्च हुँदै आएको थियो । तर यति एयरलाइन्सले भने केही समयपछि चकलेट र पिनट्स भने दिने तयारी गरेको छ ।

अहिले विमान कम्पनीले आवश्यक परेको खण्डमा मात्रै पानी वितरण गर्न थालेका छन् ।


क्लिकमान्डु