कोरोनापछिको उडानः बुध्द एयर एक्लैले बोक्यो १० लाख यात्रु



काठमाडौं । कोरोना महामारीका कारण बन्द भएको आन्तरिक हवाई उडान अहिले तंग्रिन थालेको छ । विश्वव्यापीरुपमा हवाई उडानमा असर परिरहेको भए पनि नेपालमा भने आन्तरिक उडानतर्फ यात्रुको चाप उच्च हुन थालेको छ ।

विमान कम्पनीहरुले विमान खरिद गर्नेदेखि थप गन्तव्यहरु धमाधम थपिरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मार्च महिनामा सबैभन्दा धेरै यात्रुले आन्तरिक उडानबाट यात्रा गरेका छन् ।

सरकारले सन् २०२० को मार्च महिनाको अन्तिमतिर लकडाउन लागू गर्दा हवाई यातायात ठप्प भएको थियो । त्यसको अघिल्लो वर्ष सन् २०१९ को मार्च महिनामा २ लाख ६४ हजार ५४५ जना यात्रुले आन्तरिक उडानमा यात्रा गरेका थिए भने सन् २०२१ को मार्च महिनामा यो संख्या बढेर ३ लाख ४६ हजार ४७१ पुगेको छ ।

कोरोना महामारीकै बीच सन् २०२१ को मार्च महिनामा ७ हजार ८६४ वटा उडान भएका छन् । तर सन् २०१९ मा भने यो संख्या ८ हजार २७१ थियो ।

बुध्द एयरका प्रबन्ध सञ्चालक बीरेन्द्रबहादुर बस्नेतका अनुसार कोरोना महामारीका हवाई यात्रा सबैभन्दा सुरक्षित र प्रभावकारी हुनुका साथै भाडा समेत सस्तो भएकाले यात्रुको चाप बढेको बताए ।

कोरोनाका कारण लकडाउन सकिएयता मात्रै बुध्द एयरले १० लाख यात्रुलाई सेवा दिइसकेको छ ।

बुध्द एयरले यसबीचमा २८ वटा गन्तव्यमा दैनिक अधिकतम १२८ वटा सम्म उडान गरेको छ ।

डलर आम्दानी शुन्यमा
यसअघिसम्म नेपालका वायुसेवा कम्पनीको आम्दानीमा आन्तरिक उडानमार्फत् कुल कमाईको २५ देखि ३० प्रतिशतसम्म डलरको हिस्सा हुन्थ्यो ।

तर विदेशी पर्यटक ठप्प प्रायः हुँदा अहिले उक्त डलर फेयर शुन्यको अवस्थामा आइपुगेको छ । विदेशी यात्रुहरुले विमानको टिकट काट्दा महंगो शुल्मा डलर तिरेर काट्नु पथ्र्यो भने नेपालीहरुले सस्तो मूल्यमा टिकट काट्न पाउँथे ।

‘पहिले डलर फेयरको हिस्सा बुध्द एयरमा २५ प्रतिशत जति हुन्थ्यो, तर अहिले पर्यटक छैनन तर पनि हामीले डलर फेयर बिना पनि चल्न सक्ने रहेछ भन्ने सन्देश दिन सकेका छौं,’ बुध्द एयरका प्रबन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले भने ।

बुध्द एयरले कोरोना महामारी अघिसम्म दैनिक ५५ सयको हाराहारीमा यात्रु बोकिरहेकोमा हाल ७ हजारभन्दा बढी यात्रुसम्म बोकिरहेको छ ।


क्लिकमान्डु