साल २०७७ को बैंकिङ क्षेत्रलाई फर्किएर हेर्दा, कोरोनाकालबीच उत्साहजनक प्रगति



काठमाडौं । बैंकिङ क्षेत्रको लागि २०७७ साल अन्य बर्षहरुको तुलनामा निकै उत्तारचढाव रह्यो । कोरोना संक्रमणबीच बैंक तथा वित्तीय संस्थालाई ०७७ सालमा सर्भाइभ हुन नै निकै मुस्किल भएको थियो ।

सरकारले कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारका लागि ०७७ चैत ११ गतदेखि साउन ६ गतेसम्म आंशिक तथा पूर्णरुपमा लक डाउन गरेको थियो । तर, अत्यावश्यक सेवा अन्तरगत बैंकिङ क्षेत्रले ग्राहकलाई सेवा दिएको थियो ।

लकडाउनले अर्थतन्त्रमा नकारात्मक प्रभाव गर्ने भएपछि राष्ट्र बैंकले ०७७ बैशाख १६ गते पहिलो चरणको राहत प्याकेजका रुपमा निर्देशन जारी गरेको थियो । खासगरी बैंक तथा वित्तीय संस्थाका उद्योगी व्यवसायी ऋणीलाई साँवा ब्याज भुक्तानी गर्ने सहजिकरण ब्याज छुटको व्यवस्था गरेको थियो ।

साथै, साउन २ गते जारी मौद्रिक नीतिले गरेको व्यवस्थाले कोरोना प्रभावित क्षेत्रको वर्गिकरण गरी कर्जाको पुरनसंरचना, पुनरतालिकीकरण र पुनरकर्जाको सीमा वृद्धि र प्रभावितलाई प्राथमिकतामा राखी कर्जा प्रवाह गर्ने व्यवस्था गर्यो ।
निजी क्षेत्रकै व्यवसायीको मागमा बजेटमा सरकारले उल्लेख गरेको व्यवसाय निरन्तरताको लागि कोष स्थापना गरी राष्ट्र बैंकले कार्यविधि बनाई हाल बैंक तथा वित्त कम्पनीले मागअनुसार कर्जा प्रवाह गरी रहेका छन् ।

राष्ट्र बैंकले उद्योगी व्यवसायी ऋणीको सहुलियतसँगै बैंक तथा वित्तीय संस्थालाई समेत पुनरुत्थान गर्न खुकुला नियामकिय प्रावधान गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको नाफामा असर आउन नदिन राष्ट्र बैंकले असोज मसान्तसम्म उठेको साँवा ब्याजलाई समेत गत आर्थिक वर्ष ०७६ सालकै आम्दानी गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।

तर, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग लिने विभिन्न प्रकारका सेवा शुल्कमा भने कडाइ गरी दर निर्धारण गरेको छ ।

यद्यपि नेपाल सरकार र नेपाल राष्ट्र बैंक बैंकले ल्याएको राहत प्याकेज र खुकुलो मौद्रिक नीतिका कारण बैंकहरुलाई कोरोना संक्रमणले अर्थतन्त्र अस्तव्यस्त बनाउँदा पनि व्यवसायीक विस्तारमा फड्को मार्न सफल भएको तथ्यांकले देखाउँछ ।

राष्ट्र बैंकको तथ्यांकलाई विश्लेषण गर्ने हो भने वर्ष २०७७ सालमा निक्षेप संकलनभन्दा कर्जाको माग न्यून हुँदा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था नै रह्यो ।

जसको कारण राष्ट्र बैंकले समयसमयमा बजारबाट विभिन्न मौद्रिक उपकरणमार्फत् तरलता खिचेको थियो । बैंकहरुले वर्षमो मध्य अर्थात् असोज महिनापछि भने अवस्था सहज हुँदै जादाँ कर्जा विस्तारमा आक्रमक रुपमा दिएका थिए ।

०७७ साल बैशाख महिनाको शुरुवातमा करिब २ खर्ब रुपैयाँ अधिक तरलता रहेको बैंकिङ क्षेत्रमा चैत मसान्तमा ३४ अर्ब रुपैयाँमा झरेको थियो । भने ०.५ प्रतिशत रहेको अन्तर बैंक कारोबारको ब्याजदर चैत मसान्तमा ३ प्रतिशत माथि चैत मसान्तमा कायम भएको थियो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार निक्षेप संकलन र कर्जा परिचालन यो बर्ष उल्लेख्य वृद्धि भएको देखाउँछ । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन गत वर्षको फागुन मसान्तको तुलनामा ११.३ प्रतिशत र कर्जा प्रवाह १७.३ प्रतिशतले चालु आवको फागुन मसान्तसम्म वृद्धि भएको छ ।

सो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १७.३ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २१.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.१ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंककाअनुसार चैत मसान्तसम्म बैंकिङले ४४ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३९ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । कोरोना संक्रमणले अर्थतन्त्रलाई सिथिल बनाउँदा पनि बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह भने उत्साहजनक नै रहेको राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बताए ।

‘अघिल्लो वर्षको तुलनामा कर्जा विस्ताको वृद्धिदर घटेको तथ्यांकले देखाएपनि अहिलेको अवस्थामा बैंकहरुको कर्जा प्रवाहलाई उत्साहजनक मान्नु पर्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘कोरोनाको प्रभावबीचमा पनि बैंक तथा वित्तीय संस्थाले उद्योगी व्यवसायको क्षेत्रमा कर्जाको माध्यमबाट जति सहयोग गर्नु पर्ने हो त्यो गरेको देखिन्छ । नियमकीय सम्बोधनका कारणले गर्दा बैंकिङ क्षेत्रमा उल्लेख प्रगति ०७७ सालमा प्रगति भएको छ ।’

यसबीच बैंक तथा वित्तीय संस्थाको स्थायित्व र पुनरुत्थानका लागि राष्ट्र बैंकले गरेको व्यवस्थाले निक्षेपको वृद्धि र कर्जाको विस्तार राम्रो हुनुका साथै, शोधान्तर बचत र आयात बढेको उनको भनाइ छ ।

साथै, नेपालको अर्थतन्त्र ‘यु सेभ’ मा रिभाइभ भइसकेको छ भने उद्योगी व्यवसायीको मनोबल उच्च भएको उनले बताए ।

०७७ सालमै बैंकहरुको ब्याजदर (बेसरेट) एकल अंकमा कायम हुनलाई पनि राष्ट्र बैंकले लिएको नीतिको सफल कार्यन्यवन मान्न सकिन्छ ।

कर्जा ब्याजदर घट्नु र बैंकहरुमा तरलता बढ्दा पछिल्लो समय विस्तार भएको कर्जाको गुणस्तरलाई भने शंकास्पद रुपमा नियमकिय निकायले हेरेको पाइन्छ । तथापि वर्ष ०७७ सालमा विस्तार भएका अधिकांश कर्जा नयाँ उद्योगी व्यवसायीमा तथा स्वरोजगारीका लागि प्रवाह भएको राष्ट्र बैंकका प्रवक्ता ढकालको भनाइ छ ।

कोरोना संक्रमणको प्रभावमा बैंकिङ क्षेत्रको विकास र विस्तार अन्य वर्षको तुलनामा खस्किएपनि डिजिटल प्रविधिको प्रयोग र डिजिटल बैंकिङले भने वर्ष ०७७ सालमा फड्को मारेको छ ।

राष्ट्र बैंकले लिएको ‘डिजिटल नेपाल’ को परिकल्पनामा पछिल्ला केही महिना अघिदेखि अभियान कै रुपमा चलाएको ‘नगद रहित कारोबार’ अन्तर्गत क्यूआर कोर्ड स्क्यानले अहिले डिजिटल भुक्तानी धेरै बढेको छ ।


पुष्प दुलाल