बजेट निर्माणको काममा अर्थमन्त्रीको फोकस, अर्थमन्त्रीसहित कोरटिम बिहानदेखि मन्त्रालयमा



काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको लागि अर्थमन्त्रालय जुटेको छ ।

संविधान अनुसार बजेट हरेक वर्ष जेठ १५ गते ल्याउनुपर्छ । अर्थमन्त्री बिष्णु पौडेल बजेट निर्माणको लागि बिहान ८ बजे नै मन्त्रालय पुग्ने गरेका छन् । बजेट निर्माणमा अर्थमन्त्रीलाई अर्थसचिव शिशिर ढुंगाना तथा राजस्व सचिव रामशरण पुडासैनी सहित सहसचिवहरु अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, राजस्व व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगाल, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनीराम शर्मा र योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुमन दाहाल छन् । अर्थमन्त्रीले अहिले बजेट निर्माणमा सक्रिय हुने भएपछि पार्टीका अन्य भेटघाट समेत कम गर्दै लगेका छन् ।

अर्थमन्त्री सहितको टोली बिहान ८ बजेदेखि राती ८ बजेसम्म नै मन्त्रालयमा खटिएको छ । अर्थमन्त्रालयले अहिले बजेटको पूर्व तयारीको रुपमा विभिन्न संघ संस्थालाई बजेटको सुझाव मागेको छ । मन्त्रालयले बैशाख ५ गतेसम्म मन्त्रालयले विभिन्न सरोकारवाला निकायलाई सुझाव दिन भनेको छ ।

मन्त्रालयले अहिले सैद्दान्तिक सहित सुझावहरु माग्ने र बजेटका आन्तरिक तयारीहरु गर्ने काम गरेको छ ।

लोकप्रिय हुन छरुवा बजेट आउने
केपी ओली सरकारको नेतृत्वले ल्याउन लागेको यो चौथो बजेट हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार नियमित रुपमा चलेमा २०७९ सालको मंसिरमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्छ । २०७९ सालको बैशाखदेखि नै स्थानीय तहको समेत निर्वाचन हुने छ ।

त्यो हुँदा अन्तिम वर्षको बजेट लोकप्रिय बन्नको लागि छरुवा ल्याउन नमिल्न सक्छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बिघटनलाई सर्बोच्चले बदर गरेको छ । पछिल्लो समय उत्पन्न राजनीतिक गतिरोधले अहिलेको प्रतिनिधिसभाले पुरा कार्यकाल काम गर्न नपाउने सम्भावना बलियो छ ।

आगामी बजेट लोकप्रिय गराउनको लागि ठूलो आकारको आउने संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले गरिसकेका छन् । मंगलबार भएको प्रधानमन्त्री ओलीले आगामी वर्षदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

एमालेले २०७४ सालको निर्वाचनमा बृद्धभत्ता ५ हजार बनाउने भनेको थियो । २०७५ सालको बजेटमा तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले बृद्धभत्ता बढाएनन् । २०७६ सालमा २ हजारबाट ३ हजार पुर्याए । २०७७ सालमा भने कोरोनाको असरको कारण सामाजिक सुरक्षा भत्ताहरु थप गरिएन ।

अर्थमन्त्री बिष्णु पौडेलले ल्याउन लागेको यो दोस्रो बजेट हो । भूकम्प र नाकाबन्दीपछि अर्थमन्त्री बनेका पौडेलले त्यो बेला १ हजार रहेको बृद्धभत्तालाई २ हजार पुर्याएका थिए । कर्मचारीको तलब २० प्रतिशत बढाएका थिए ।

राजनीतिक रुपमा देखिएको अन्यौलताले यो पटक ओली सरकारले ल्याएको बजेट नै पास नहुँने समेत खतरा छ । त्यो हुँदा सरकारले चुनावलाई प्रभावित पार्ने बजेट ल्याउने देखिन्छ । जसले गर्दा स्रोतमा ठूलो दवाव पर्ने छ । यसैपनि केपी ओली नेतृत्वको सरकारले नेपाललाई ऋणको भार अत्याधिक बढाएको छ ।

चालु आर्थिक वर्षमा पनि पुस महिनादेखि फागुन मसान्तसम्म महिनागत मात्र राजस्वको लक्ष्य पुरा भएको छ । प्रधानमन्त्रीको घोषणा हेर्दा आर्थिक रुपले भार थपिने र निर्वाचनमा भोट तान्ने कार्यक्रमहरु बजेटमा आउने सम्भावना बढी छ । सामाजिक सुरक्षा जस्ता कार्यक्रमहरुको आर्थिक दायित्व निकै बढी हुन्छ । यसबाहेक कार्यान्वयन नहुँने खुद्रा कार्यक्रममा समेत बजेट आउने देखिन्छ ।

बजेट माग्नेको अर्थमन्त्रालयमा भिड

जेठ १५ मा बजेट आउने भएपछि अर्थमन्त्रालयमा बजेट माग्नेको भिड लागेको छ । विभिन्न राजनीतिक दलका नेताहरु आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम राख्नको लागि दैनिकजसो अर्थमन्त्रालय धाउन थालेका छन् ।


क्लिकमान्डु