लामो प्रयासपछि जोडियो सौर्य प्लान्टबाट १० मेगावाट विजुली
त्रिशूली । नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । परीक्षणका रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए ।
आयोजनाको पछिल्लो प्रगति बुझ्न सोमबार स्थलगत अवलोकनमा आएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हाल आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन गरेर केन्द्रीय प्रसारण प्रणालीमा जडान शुरु गरेको र उक्त परीक्षण सफल भइरहेको जानकारी आयोजना प्रमुख रघुवंशीले गराए ।
आयोजनामा रहेका सातवटा ब्लकमध्ये स्टाफ क्वार्टर (विद्युत् प्राधिकरणमार्फत सञ्चालित बोर्डिङ स्कूल रहेको स्थान) र (फोर–वे नेपाली सेनाको ब्यारेक पछाडिको चौर) मा जडान गरिएको सौर्य प्यानलमार्फत १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । उक्त विद्युत् देवीघाट जलविद्युत केन्द्रको प्रसारण प्रणालीमार्फत सिधै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
आयोजनाले २५ मेगावाट विद्युत् उत्पादनका लागि देवीघाट जलविद्युत् केन्द्रको विभिन्न सात स्थानको खाली जग्गा उपयोगमा ल्याउने क्रममा अबको केही दिनमा थप ५ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
थप विद्युत् उत्पादनका लागि विदुर नगरपालिका–६ र १२ नं मा पर्ने रातमाटे, केराघारी, हेलिप्याड र कफीघारीको स्थान नं १ र स्थान नं २ गरेर थप ५ स्थानमा अहिले जग्गा सम्याउनेदेखि प्यानल जडानको काम भइरहेको छ ।
त्यसअन्तर्गत रातमाटे, केराघारी र हेलिप्याड क्षेत्रको काम अन्तिम चरणमा पुर्याइएको एक महिनाभित्रै पाँच मेगावाट विद्युत् थप हुने देखिएको छ । उक्त थप विद्युत् चाँडो गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जडान गर्न प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले निर्देशन दिए ।
यो वर्ष हिउँदमा वर्षा नहुँदा नदी तथा खोलामा पानीको बहाव निकै कम भएको छ । यसले विद्युत् सङ्कट बढाउन सक्ने देखिन्छ उनले भने ‘अभाव पूरा गर्नका लागि वैकल्पिक योजनाका रूपमा रहेको सौर्य प्लान्ट जतिसक्दो चाँडो सञ्चालन गर्नतर्फ लाग्नुपर्छ ।’
दुई चरणअन्तर्गत थप ६ महिनाभित्र आयोजना पूरा गरेर विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य भएकाले त्यसलाई पूरा गर्न सकिने आयोजना प्रमुख रघुवंशीले प्रतिबद्धता जनाउनुभयो । नेपालकै ठूलो सौर्य प्लान्टका रूपमा निर्माण भइरहेको ‘ग्रिड सोलार आयोजना’ नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण थालिएको हो ।
विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत सहुलियतपूर्ण ऋण सहयोगमा थालिएको आयोजनाको निर्माण चिनियाँ कम्पनी ‘राइजन इनर्जी’ मार्फत काम भइरहेको छ । करिब ३ अर्ब ८० करोड लाग्ने प्रक्षेपण गरिएकाले यस आयोजना विद्युत् उत्पादनका लागि महङ्गो भए पनि विद्युत् उत्पादनको वैकल्पिक स्रोत र नमूनाका रूपमा लिइएको प्राधिकरणले जनाएको छ ।
खेर जाँदै आएको सौर्य ऊर्जा सङ्कलन गरेर प्राधिकरणको प्रयोगविहीन ९खाली रहेको० जग्गामा सञ्चालन हुने आयोजनाको लगानी, प्रयोग र विद्युत् उत्पादनमा देशकै ‘नमूना’का रूपमा लिइएकाले यसलाई नाफा नोक्सानको रूपमा लिन नहुने प्राधिकरणले जनाएको छ ।
प्राविधिकहरूका अनुसार आयोजनाबाट २५ मेगावाट विद्युत् भए पनि डिसीबाट एसी अल्टरनेट करेन्टमा रूपान्तरण गर्दा प्रयोगयुक्त विद्युत् करिब २२ मेगावाट हुने देखिन्छ ।
सौर्य प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भारको सम्पूर्ण काम निर्माण व्यवसायीले पाँच वर्षसम्म गर्ने सम्झौता उल्लेख भएअनुसार आयोजनाको हस्तान्तरण त्यसपछि मात्र नेपाल विद्युत् प्राधिरकणलाई हुनेछ ।
प्लान्टबाट उत्पादित विद्युत् हाल देवीघाट जलविद्युत् केन्द्रमार्फत उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा जोडिएको प्रसारण लाइनबाटै पठाइएको छ । सौर्य प्लान्ट आयोजनाको आफ्नै ६६ केभी क्षमताको सबस्टेशन निर्माणको प्रक्रियामा छ । सौर्य प्लान्ट सञ्चालनमा आएपछि राष्ट्रिय प्रसारणमा वार्षिक ३ करोड ३० लाख युनिट विद्युत् थप हुने प्राधिकरणको अनुमानित लक्ष्य छ ।