६० करोडमा मुलुकभर ५० वटा चार्जिङ स्टेशन बनाउँदै प्राधिकरण



फाइल तस्बिर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ७ वटै प्रदेशमा ५/५ वटासहित देशभर कूल ५० चार्जिङ स्टेशन निर्माणका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको बताएको छ ।

लामो प्रतिक्षापछि प्राधिकरणले आगामी ७ देखि १० दिनभित्र चार्जिङ स्टेशन निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता गर्न लागेको जनाएको छ । एकवर्ष पहिले नै बोलपत्र गरिएको भए पनि कोरोनालगायतका कारणले काम पछाडि धकेलिदै आएको थियो ।

प्राधिकरणको योजना अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा १० वटा त्यस्ता स्टेशन निर्माण गरिनेछ । यस्तै ७ वटा प्रदेशमा पहिलो चरणमा ५/५ वटा त्यस्ता स्टेशन निर्माण हुनेछन् । बाँकी रहने ५ वटा भने आवश्यकताका आधारमा निर्माण गर्ने तयारी गरिएको छ । ती स्टेशन निर्माणका लागि कूल ६० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको छ ।

पछिल्ला दिनमा विद्युतीय सवारी साधनमा उल्लेख्य वृद्धि भएपछि चार्जिङ स्टेशनको माग बढेको थियो । तर, सरकारी प्रक्रिया लामो भएका कारण एकवर्षभन्दा बढी समय लागेको बताइन्छ ।

प्राधिकरणका अनुसार चार्जिङ स्टेशनमा चार्ज गर्न चाहने सवारी साधनले कार्ड स्वाप गरेर भुक्तानी गर्न सक्ने प्रणाली जडान गरिनेछ । कति मिनेट चार्ज गर्ने वा कति पैसाको चार्ज गर्ने हो सोही अनुसारको व्यवस्था गरिनेछ ।

प्राधिकरणले ५० वटा स्टेशनको कन्ट्रोल भने काठमाडौंमा राख्ने छ । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढाउने ध्येयका साथ चार्जिङ स्टेशनको अवधारणा ल्याएका थिए ।

५० वटा स्टेशन सञ्चालनमा आएपछि करिब ७ हजार किलोवाट बिजुली खपत हुनेछ । स्टेशन निर्माणका लागि एशियाली विकास बैंकले आर्थिक सहयोग गर्ने भएको छ ।

भारतमा सरकारलेन भै स्वीच इन्डियाको अवधारणा कार्यान्वयनमा ल्याइएको छ । सो योजना अनुसार धमाधम चार्जिङ स्टेशन निर्माण भइरहेका छन् । नेपालमा निर्माण हुने चार्जिङ स्टेशनलाई समेत मोबाइल एपमार्फत् नियन्त्रण गर्ने, समय लिने वा बिल तिर्ने जस्ता सुविधा समेत उपलब्ध गराउने तयारी गरिएको छ ।

एक पटकका ३ वटासम्म सवारी साधन चार्ज गर्न मिल्ने गरी स्टेशन निर्माण गरिनेछ । प्राधिकरणका अनुसार निर्माण व्यवसायीसँग सम्झौता भएको ६ महिनाभित्र स्टेशन निर्माण सम्पन्न गर्ने तयारी गरिएको छ ।

त्यस्ता स्टेशनमा यात्रुका लागि आरामस्थल, खाना तथा खाजाका लागि रेष्टुराँ समेत उपलब्ध गराउने तयारी गरिएको छ । काठमाडौँ उपत्यकामा भने सपिङ मल तथा होटलमा चार्जिङ स्टेशन राख्ने तयारी गरिएको भएपनि कुन मल वा होटलमा भन्नेबारेमा आवश्यक निर्णय भएको छैन ।

विद्युतीय सवारीको मात्रा बढाउने र विद्युत् खपत बढाउने प्राधिकरणको योजनालाई त्यस्ता स्टेशनले केही मात्रामा भएपनि सहयोग पुर्याउने छ । प्राधिकरणकाले चार्जिङ स्टेशनमा चार्ज गर्दा लाग्ने महसुल समेत तय गरिसकेको छ ।

प्राधिकरणले सार्वजनिक यातायातका लागि प्रतियुनिट ५.७५ पैसा महसुल तोकेको छ । अन्य यातायातका लागि ८ रुपैयाँ ९० पैसा तोकिएको छ । तल्लो भोल्टेज स्तर २३०/४०० मा उक्त महसुल तोकिएको छ ।

त्यस्तै माथिल्लो भोल्टेजमा सार्वजनिक यातायात चार्ज गर्दा प्रतियुनिट ५ रुपैयाँ ६० पैसा तिर्नुपर्नेछ । यस्तै, अन्य यातायातका हकमा ८ रुपैयाँ ८० पैसा शुल्क तिर्नुपर्नेछ ।

यसैगरी तल्लो भोल्टेज २३०÷४०० भोल्टमा भने सार्वजनिक यातायातले पिक समयमा भने ७ रुपैयाँ २५ पैसा तिर्नुपर्नेछ । त्यो भनेको साँझ ५ बजेदेखि राति ११ बजेसम्म हो । यस्तै राति ११ बजेदेखि बिहान ५ बजेसम्म भने ४ रुपैयाँ ३० पैसा तिर्नुपर्नेछ । त्यस्तै बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रतियुनिट ५ रुपैयाँ ७५ पैसा महसुल तिर्नुपर्ने छ । व्यवसायीकरुपमा निर्माण हुने चार्जिङ स्टेशनले त्यसमा थप २० प्रतिशत महसुल लिन पाउने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु