कोरोनाको कारण समस्या परेका ऋणी कालोसूचिमा परेका छैनन्ः किरणकुमार श्रेष्ठ



किरणकुमार श्रेष्ठ पछिल्लो ५ वर्षदेखि वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतकारुपमा कार्यरत छन् । पहिलो कार्यकाल गत वर्ष पूरा गरेका श्रेष्ठले दोस्रो कार्यकालको पनि झन्डै एक वर्ष बिताइसकेका छन् । बैंकिङ करिअरमा ३० वर्ष नेपाल बैंकमा बिताएका श्रेष्ठ नेपाल व्यवस्थापन संघको अध्यक्ष पनि हुन् । वाणिज्य बैंकको रुपमा श्रेष्ठले ५ वर्षका के काम गरे र अब के गर्ने योजना बनाएका छन् ? तथा कोभिडको असर बैंकहरुमा कस्तो देखियो र के कस्ता अवसरहरु छाडेर जाँदैछ ? लगायतका विषयमा रहेर क्लिकमाण्डूका लागि आशीष ज्ञवालीले सीइओ श्रेष्ठसँग गरेको कुराकानीः

पहिलो ४ वर्षे कार्यकाल पूरा गरेर दोस्रो कार्यकाल पनि झन्डै एक वर्ष विताइसक्नु भएको छ । तपाईंको कार्यकालमा वाणिज्य बैंकले के कस्ता उपलब्धि हासिल गर्यो ?

मैले आफ्नो कार्यकालमा राष्ट्रिय वाणिज्य बैंकको व्यवसायलाई राम्रो आकारमा ल्याउन सफल भएँ । म आउँदा बैंकको सीसीडी रेसियो ५६ प्रतिशत थियो । हामीले यसलाई करिब ७६ प्रतिशतसम्म पुर्याउन सफल भयौं । त्यसले नाफा बढाउनसमेत सफल भयौं । त्यसले गर्दा लगातार २ वर्ष २०७५/७६ र २०७६/७७ मा २ वर्षमा सबैभन्दा बढी नाफा कमाउने संस्था बन्यौ ।

सरकारी संस्थाले प्रतिस्पर्धामा उत्रेर सबैभन्दा बढी नाफा कमाउन सक्छ भन्ने पनि सन्देश दियौं । सरकारलाई लगानी गरे अनुसारको प्रतिफल दिन थालेका छौं । हाम्रो नेटवर्कलाई विस्तार गर्यौं । अहिले ७ प्रदेशको ७७औं जिल्लामा वाणिज्य बैंकको नेटवर्क पुगेको छ । एनआईडिसी डेभलपमेन्ट बैंकको मर्जर पुरा भयो । क्यापिटल मार्केटमा हाम्रो त्यस्तो खाले संस्था थिएन । हामीले आरबीबी मर्चेन्ट खोल्यौं । त्यसले लाभांश दिने अवस्थामा पुगेको छ । सफ्टवेयर अपडेट भयो ।

जनशक्ति भित्र्याउने कुरामा १ हजार जना लोकसेवाबाट विज्ञापन मागेर नियुक्ति भएको छ । जनशक्तिलाई विकास गर्ने र वित्तीय साक्षरता पुर्याउने काम भएको छ । यसलाई मेरो उपलब्धीको रुपमा लिएको छु ।

कोरोना कहरकै बीच दोस्रो कार्यकालका लागि नियुक्ति हुनुभयो । वाणिज्य बैंकलाई कोरोनाले कस्तो असर गर्यो ?

कोभिड १९ विश्वव्यापी महामारीको रुपमा देखियो । मेरो आफ्नो दोस्रो कार्यकाल चैत २९ गते थपियो । हामी चैत ११ देखि लकडाउनको स्थितिमा थियौं । कारोबारलाई योजनाअनुसार संचालन गर्न सकेनौं । कतिपय शाखा खोल्न सकिएन । कर्मचारीहरु नै कोभिड संक्रमित भए । जसले गर्दा व्यवसाय विस्तार भएन ।

हाम्रो बैंकले मात्रै ऋणीलाई ५० करोड रुपैयाँजति ब्याज छुट दिएर राहत दियौं । शाखा खोल्ने योजना कोभिडको कारण प्रभावित भयो । हाम्रो नाफामा राम्रो नै असर गर्यो । कोभिडको असरको कारण गत वर्षको तुलनामा नाफा घटेको स्थिति छ । यस किसिमले हेर्दा स्वभाविक मान्न सकिन्छ ।

कोरोनाको असरका बाबजुद पनि कतिपय बैंकले आक्रामक ढंगले नै व्यवसाय बढेको देखिन्छ नि ?

केही बैंकहरु अपवादको रुपमा व्यवसाय निकै ठूलो आकारले कोभिडको समयमा देखिन्छ । तर, समग्रमा बैंकहरुको बृद्धिदर औसत नै देखिन्छ । राष्ट्रिय वाणिज्य बैंक पहिलो त्रैमाससम्म बृद्धिदर खासै थिएन । दोस्रो त्रैमासमा आउँदा हाम्रो बृद्धिदर पनि राम्रो छ । पहिलो त्रैमासमा व्यवसाय गर्दा डर त्रास थियो । पछिल्लो क्रममा हामी व्यवसाय बढाउनका लागि कार्यशैली परिवर्तन गर्यौं । हामीले नीतिगत र व्यवहारिक सुधार गरेपछि व्यवसायको बृद्धिदर बढेको छ । हाम्रो बैंकको पनि निक्षेप ३० अर्बले बढेको छ । ऋण १ खर्ब ७५ अर्ब पुर्याउने लक्ष्य थियो । त्यो पुरा भइसकेको छ । निक्षेप त्यहीअनुसार बढ्ने र ऋण प्रवाह नभएको कारण हाम्रो सीडीडी रेसियो सहज अवस्थामा थियो । व्यवसाय अझै पूर्णरुपमा चलायमान भएको अवस्था छैन । अहिले ऋणहरु स्वाप हुने र साना कर्जाहरु बढेको हो ।

पछिल्लो समय कर्जा प्रवाहको अवस्था हेर्दा सामान्य अवस्थामा पुगेको देखिन्छ । कुन क्षेत्रबाट कर्जाको माग आइरहेको छ ?

समग्र बैंकहरुको नै कर्जा अहिले बढेको छ । हामीले यसरी कर्जाको माग बढ्छ भन्ने अनुमान गरेका थिएनौं । अहिले जलविद्युत् लगायतका पूर्वाधारका आयोजनामा हिँजो नै सम्झौता भएको ऋण गएको हो । एसएमईमा अहिले राम्रो ढंगले कर्जा गएको छ । अब नयाँ ढंगले काम गर्नुपर्छ भनेर पनि होला । र, ब्याजदर सस्तो भएकाले पनि होला । घरजग्गा र सेयर बजारपनि कारोबार बढेको छ । यसले गर्दा कर्जाको माग बढेको हो । र, अर्को कुरा यो अवधिमा सहुलियतपूर्ण कर्जा पनि उल्लेख्य मात्रामा बढेको छ । यो वर्ष गएको कर्जाको कारण अर्को वर्षको आर्थिक बृद्धिदरमा राम्रो प्रभाव पर्ने देखिन्छ ।

कोभिड १९ का कारण समस्यामा परेका व्यवसायीहरुले बैंकहरुले छुट नै दिएनन्, ब्याज उठाउन खोजे भनेर व्यवसायीहरुले गुनासो गरिरहेका छन् । खास कुरा के हो ?

हामीले कोभिड प्रभावित ऋणीलाई छुट दिएका छौं । टर्म लोनको ब्याजदरमा १० प्रतिशत छुट दियौं । पहिलो त्रैमासमा २ प्रतिशतले ब्याजदर घटायौं । हाम्रो बैंकले मात्रै कोरोना प्रभावितलाई राहत दिँदा ५० करोडको आम्दानी गुमाएको छ । अर्को कुरा हामीले रिफाइनान्सको सुविधा पनि दिएका छौं । ऋणको पुनसंरचना गरेका छौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षमा पुनसंरचना अनुसार थप सहुलियत दिनेछौं । कोरोनाको समयमा कुन क्षेत्रले कति त्याग गर्यो भनेर हेर्दा बैंकिङ क्षेत्रले ठूलो राहत दिएको देखिन्छ ।

वाणिज्य बैंकबाट ऋण लिएर २०७६ पुस मसान्तसम्म असल रहेका ऋणीहरु कालोसूचिमा परेका छन् कि छैनन् ?

हामीले अहिले पनि लिलामीको सूचना निकालिरहेका छौं । तर, त्यो सूचना निकालेका ऋणीहरु ०७६ पुस मसान्तमै खराब ऋणी थिए । त्यो बेलासम्म असल रहेका ऋणीहरुले कोरोनाका कारण किस्ता तिर्न सकेनन् हामीले उनीहरुलाई राहत दिएका छौं । कतिपय ऋणीले २ वर्षदेखि किस्ता तिरेका छैनन् । उसको लिलामीको सूचना निकाल्दा कोभिडको छुट दिएन भनेर कराउँछ भने त्यसमा हामी केही गर्न सक्दैनौं ।

राष्ट्रिय वाणिज्य बैंकले ठूलो परिमाणमा पूरानो ऋण असूल गर्न सकेको छैन । जसकारण खराब कर्जाको मात्रा अन्य बैंकहरुकोभन्दा निकै धेरै छ । यस्तो ऋणलाई कसरी उठाउने ठोस योजना बनाउनु भएको छ ?

वाणिज्य बैंकको मुख्य समस्यामध्येको एक पुरानो खराब ऋण असूल गर्नु पनि हो । वास्तवमै भन्दा आजका दिनमा बैंकका लागि यो पनि निकै ठूलो समस्या हो । जसकारण बैंकको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात ७ प्रतिशत छ । यो अन्य बैंकको भन्दा निकै धेरै पनि हो । पहिलो कार्यकालमा मैले खराब ऋण उठाउन धेरै खाले प्रयास गरेको थिएँ । सकेसम्म सकरात्मक बाटोबाटै, ऋणीलाई सहयोग गरेरै असूल गर्ने रणनीति बनाएको थिएँ । तर, सफलता प्राप्त भएन । अब हामी नयाँ कोर्समा गएका छौं । अब कि त ऋणीले बैंक कन्भिन्स हुनेगरी सेटलमेन्टको ठोस प्रस्ताव दिनुपर्यो, होइन भने कानूनी प्रक्रियामा गएर असूली गर्छौं ।

चालु आर्थिक वर्षको बाँकी रहेको समयलाई रिकोभरीमा केन्द्रित हुने रणनीति बनाएर अघि बढेका छौं । सँधै यसैमा झुण्डिरहने कुरा होइन हुँदैन । अब कुर्ने समय पार भइसकेको छ ।

कानूनी प्रक्रियामा जाँदा विभिन्न अवरोधहरुको सामना पनि त गर्नुपर्ला नि ?

कतिपय अवस्थामा हामीले चाहेजस्तो हुँदैन । कानूनी अड्चन समेत आउँछ । उदाहारणकै लागि हालैमात्र हामीले एउटा ठूलो ऋणीको सम्पत्ति लिलामीको लागि प्रक्रिया थालेका थियौं । तर, उसले अदालतबाट स्टे अर्डर ल्याएर लिलामी रोकेको छ । अपवादको रुपमा कानूनी समस्या आउनसक्छ । तर, सबैमा त्यस्तो हुँदैन । हामी प्रक्रियामा नगई हुँदैन । यसका लागि हामी मानसिक रुपले पनि तयार भएका छौं ।

उठाउन बाँकी खराब ऋण कति छ ?

सावाँ मात्रै ५ अर्ब छ । ब्याज र हर्जना जोड्दा त १४/१५ अर्ब रुपैयाँको हाराहारीमा पुग्ला । खराब ऋणीमध्ये पनि २५ प्रतिशतसँग ऋण तिर्ने योजना छैन । बाँकी तिर्ने प्रक्रियामा आएका छन् ।

फुलबारी रिसोर्टजस्ता तिर्ने प्रक्रिया शुरु गरेका र मोमेन्टो गार्मेन्टजस्ता तिर्ने प्रक्रिया शुरु नगरेका खराब ऋणी पनि छन् नि ?

योजना ल्याएर बैंक पनि सकारात्मक भएर निर्णय भएको र निर्णयको तहमा पुगेका ऋणीलाई मौका दिनुपर्ने हुन्छ । ऋण तिर्ने भन्दा पनि समयमात्र लिने र ऋण तिर्ने नियत नभएका ऋणीले अब समय पाउने छैनन् ।

पहिलो कार्यकालमा धेरै अधुरा कामहरु रहेकाले दोस्रो कार्यकालका लागि पनि इच्छुक थिएँ भन्नुभयो । दोस्रो कार्यकालमा के कस्ता कामहरु गर्ने योजना बनाउनु भएको छ ?

हाम्रो कार्यकाल करारमा हुन्छ । बिजनेश प्लान बनाएर पेश गरेर अगाडि बढ्ने हो । अहिले भइरहेको व्यवसाय बृद्धिदरलाई निरन्तरता दिने । यो बैंकमा म सीइओ भएर आउँदा ८४ अर्ब रुपैयाँ कर्जा थियो । अहिले १ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ । मलाई लाग्छ त्यो राम्रो ग्रोथ हो । यो ग्रोथलाई निरन्तरता दिनुपर्छ । खराब कर्जा असूली पनि दोस्रो कार्यकालको उच्च प्राथमिकता हो ।

हामीले प्रविधिमा फड्को मार्न सकेनौं भने निजी लगानीका बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । त्यसैले आफूलाई अपग्रेड गरेर एउटा स्तरमा पुर्याएका छौं । सूचना प्रविधिको रोडम्याप नै बनाएर अन्तर्राष्ट्रियस्तरको आइटी सिस्टम भित्र्याउने प्रक्रियामा छौं ।

अर्को कुरा हाम्रो भौतिक सम्पत्ति धेरै नै छ । दरवारमार्गदेखि विभिन्न सहरमा सम्पत्ति छ । त्यसलाई प्रयोग गर्नुपर्छ । हामीले विज्ञसँग समेत यसमा छलफल गरेका छौं । दरवारमार्गमा रहेको सम्पत्तिलाई अब व्यवसायिक ढंगले प्रयोग गर्ने सोचमा छौं । तर, कानूनी अड्चन छ । वाणिज्य बैंकले बनाउने भवनमा व्यवसायिकरुपले प्रयोग गर्न नपाउने भन्ने छ । दरवारमार्गको ३० रोपनी जग्गा कहिलेसम्म घडेरीसम्म राख्ने हो ? यसमा सरोकारवाला निकायसँग कुराकानी भइरहेको छ ।

कोरोनाले सबै व्यवसायलाई डिजिटलमा लगेको छ । वाणिज्य बैंकले डिजिटलमा कसरी अघि बढ्ने योजना बनाएकोछ ?

सूचना प्रविधिको प्रयोग गरेर अब बैंकिङ अगाडि बढाउने हो । प्लस मेसिन, अनलाइन बैंकिङ, क्युआर बैंकिङमा लैजाने हो । कोभिड १९ गर्दा भौतिकरुपमा काम गर्न नसक्ने हुँदा डिजिटलमा जानुपर्ने बाध्यताले हामीलाई धेरै कुरा सिकायो । डिजिटललाई अगाडि बढाउनको लागि अहिलेको आइटी सिस्टमलाई रोबस्ट बनाउनुपर्छ । हामी त्यसको प्रक्रियामा छौं ।

कोरोनाले कस्तो पाठ सिकायो ?

व्यवसायलाई एकै ठाउँमा केन्द्रित गर्नु हुँदैन भन्ने हामीले पढेका थियौं । तर, यो कुरा अहिले सिक्न पाइयो । उदाहरणका लागि अहिले कसैको पर्यटनमा मात्र लगानी भएको भए ऊ बढी समस्या छ । भोलि पनि जलविद्युत्मा जलवायुको कारण असर गर्न सक्छ । र, जलविद्युतमा बढी लगानी हुने समस्यामा पर्छ । त्यसैले लगानी फरक-फरक क्षेत्रमा गर्नुपर्छ । हामीसँग स्वास्थ्य तथा आपतकालिन अवस्थामा कसरी काम गर्ने भन्ने सोच खासै थिएन । यो कुरा हामीले सिकेका छौं ।

भनिन्छ हरेक संकटले नयाँ अबसरको ढोका खोल्छ । कोरोनाको संकटपछि हाम्रासामू सबैभन्दा बढी संभावना भएको अबसर के होला ?

अहिले न्यू नर्मलको अवस्थामा आएको छ । अहिले मान्छेको मनोबल बढेको छ । व्यवसायिक जगतसँग कुरा हुँदा अबको व्यवसाय राम्रोसँग बढ्छ भन्ने आशा छ । व्यवसाय गर्ने शैलीमा परिवर्तन हुन्छ । सबै कुरा भौतिकरुपमा हुँदैन यो डिजिटल हुन्छ ।

राष्ट्र बैंकले माइक्रो म्यानेजमेन्ट गर्यो भनेर बैंकरहरुले गुनासो गरिरहेका छन् । तपाईंलाई के लाग्छ ?

अहिले राष्ट्र बैंकले जति पनि निर्देशन दिएको छ । त्यो कमिसनको कुरालाई सन्दर्भमा सोच्नुपर्छ । नर्मल कुरामा सोच्दा माइक्रोम्यानेजमेन्ट गरेको भनेर सोच्नुपर्छ । अहिले अवस्था सामान्य छैन । आम मानिसले बैंकले मात्र नाफा कमाएको आरोप छ । बैंकले पारदर्शी भएको कारण नाफा देखिएको हो । अहिले सन्दर्भ कोभिडको प्रभावले गर्दा विशेष अवस्थामा विशेषरुपमा गरेको निर्णय हुँदा त्यसलाई त्यसरी हेर्न मिल्छजस्तो लाग्दैन ।

एनआईडिसीसँगको मर्जरपछि वाणिज्य बैंकमा ०.०३ प्रतिशत सेयर पब्लिकसँग छ । वाणिज्य बैंक आफुले सेयर जारी गर्ने कुरा पुग्यो ?

यसको जवाफ मैले दिन सक्दिन । बाफियाअनुसार ३० प्रतिशत सेयर पब्लिकलाई दिनुपर्ने भन्ने छ । २०७२ सालमा वाणिज्य बैंकको सेयर जारी गर्ने कुरा मन्त्रीपरिषदले निर्णयसमेत गरेको थियो । अब धेरै दिनसम्म यस्तो अन्यौलमा बस्नु हुँदैन । २७ वटा बैंकमध्ये २६ मा सर्वसाधारणको पनि सेयर छ । एउटा बैंक सरकारको भयो भने त्यसले सरकारको विशेष कार्यक्रम संचालन गर्न सकिन्छ भन्ने सोच पनि छ । अब एउटा क्लियरिटीमा जानुपर्छ । यो प्रश्न व्यवस्थापनको लागि मात्र उठेको छ । यो विषय लगानीकर्ता अर्थात् सरकारले दिने हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मर्ज गराउने भनेको छ । तपाईंहरुले कस्तो तयारी गरिरहनु भएको छ ?

राष्ट्र बैंकले मर्जर सम्बन्धी योजना मागेको थियो । त्यो बेला हामीले एनआईडिसी मर्जर गरेका थियौं । सैद्दान्तिकरुपमा बैंकहरु घटाउने कुरा राम्रो हो । यसलाई वाणिज्य बैंकले सकारात्मक मान्छ । सरकारको लगानी भएको बैंक हुँदा सरकारले जे निर्णय गर्छ त्यही निर्णय कार्यान्वयन हुने हो ।


पुष्प दुलाल