ऋण असूलीमा आक्रमक बन्दै राष्ट्रिय वाणिज्य बैंक, सीइओ भन्छन्- अब कसैलाई छोड्दैनौं



काठमाडौं । पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक ऋण असूलीमा आक्रमकरुपमा प्रस्तुत हुने भएकोछ ।

ऋणीलाई लामो समय ऋण चुक्ता गर्ने समय दिए पनि उनीहरुले ठोस योजनासमेत पेश गर्न नसकेकाले अब कानूनी प्रक्रियामा गएर असूली गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले जानकारी दिए ।

धेरै पूराना उठ्न बाँकी ऋणका कारण बैंकको खराब कर्जा ७ प्रतिशत छ । ५ अर्ब रुपैयाँ सावाँ खराब कर्जामा परिणत भएको छ । त्यसको ब्याज र हर्जाना गर्दा १५ अर्ब रुपैयाँभन्दा बढी असूली गर्नुपर्ने छ ।

‘वाणिज्य बैंकको मुख्य समस्यामध्येको एक पुरानो खराब ऋण उठाउनू पनि हो,’ सीइओ श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘अब हामी यस्तो कर्जा असूलीमा आक्रमक हुन्छौं, कसैलाई पनि छाड्दैनौं ।’

वाणिज्य बैंकको खराब कर्जाको अनुपात बैंकिङ क्षेत्रको औषतभन्दा निकै बढी छ । जसकारण पनि यो बैंकलाई खराब ऋण असूलीको चरम दबाब छ ।

‘सकेसम्म सकरात्मक तरिकाबाटै रिकोभरीको प्रयास गरेका थियौं तर सफलता मिलेन,’ श्रेष्ठले भने, ‘अब कानूनी प्रक्रियाबाट असूली गर्छौं ।’

कोरोना भाइरसको महामारी हुनुभन्दा अघि नै १ अर्बको हाराहारीमा सम्झौता भएपनि अहिलेसम्म ऋण असूली हुन नसकेको उनले सुनाए ।

‘चालु आर्थिक वर्षको बाँकी समय रिकोभरीमा केन्द्रित हुन्छौं,’ उनले भने, ‘अझै पनि ठोस प्रस्ताव लिएर ऋण आफैं सेटलमेन्ट गर्न चाहन्छ भने केही समय दिन्छौं, नत्र लिलामी प्रक्रिया अघि बढाउँछौं ।’

सँधै समय दिएर खराब ऋणीकै पछि झुण्डिएर अब बस्न नसक्ने उनको भनाइ छ ।

‘सँधै यसैमा झुण्डिने कुरा हुँदैन, कहिलेसम्म त्यसलाई कुर्ने ? अब कुर्ने समय पार भइसकेको छ,’ श्रेष्ठले भने ।

कतिपय अवस्थामा बैंकले चाहेजस्तो पनि हुँदैन । कानूनी अड्चन समेत आउनसक्छ ।

सीइओ श्रेष्ठका अनुसार बैंकले एउटा ठूलो ऋणीको रिकभरीको लागि सम्पत्ति लिलामको लागि प्रक्रिया थालेको तियो । तर, अदालतबाट स्टे अर्डर आएर प्रक्रिया रोकिएको छ । अपवादको रुपमा कानूनी समस्या आउन सक्छ । त्यो बाहेक रिकोभरी फाइनल चरणमा जानुपर्छ । त्यसका लागि बैंक मानसिक रुपले तयार छ । खराब ऋणीमध्ये २५ प्रतिशत ऋणीसँग ऋण तिर्ने योजना छैन । बाँकी तिर्ने प्रक्रियामा आएका ऋणी छन् ।

‘ऋण तिर्ने भन्दा पनि समयमात्र लिने र ऋण तिर्ने नियत नभएका ऋणीले अब समय पाउने छैनन्,’ उनले भने ।


पुष्प दुलाल