सेयर बजारबाट २० वर्षमा ४० गुणा कमाएँः निरञ्जन टिबरेवाल

क्लिकमान्डु २०७७ फागुन ६ गते १७:४६ मा प्रकाशित

निरन्जनकुमार टिबरेवाल सेयर बजारका पुराना लगानीकर्ता हुन् । विभिन्न बैंकमा संस्थामा साधारण सेयरधनीको प्रतिनिधित्व गर्दै संचालक समेत बनेका टिबरेवाल संस्थागत शुसासनको विषय उठाउनेमा पर्छन् । कुनैबेला ठूला लगानीकर्तामा चिनिने टिबरेवालले नेपालको सेयर बजारका के देखे र भविष्य के होला ? यी विषयमा रहेर क्लिकमाण्डूका लागि आशीष ज्ञवालीले टिबरेवालसँग गरेको कुराकानी

तपाईं सेयर बजारको पुरानो लगानीकर्ताका रुपमा परिचित हुनुहुन्छ । सेयर बजारमा के कस्ता परिवर्तन भएको देख्नुहुन्छ ?

मेरो लामो समयसम्मको अनुभवका आधारमा हेर्दा सेयर कारोबारमा ठूलो परिवर्तन आएको छ । पहिले हामीहरु व्यक्तिगतरुपमा सेयर किनबेच गथ्र्यौ । बैंकमा सिधै दाखिला गर्ने र कम्पनी सचिवमार्फत् किनबेचको काम हुन्थ्यो । त्यसपछि सेक्युरिटी केन्द्रमार्फत् हुन थाल्यो । केही समयपछि एनआइडीसी क्यापिटल मार्केटले पनि व्यक्तिगतरुपमा किनबेचको काम गर्न थाल्यो । स्टक मार्केट आयो । त्यसपछि मात्रै धितोपत्र बोर्ड स्थापना भयो । मानिसहरु स्टक एक्सचेञ्जमा गएर चिच्याउँदै किनबेच गर्थे ।

समयक्रममा ब्रोकरमार्फत् सजिलोसँग किनबेच हुन थाल्यो । अहिले अनलाइन ट्रेडिङबाट खरिदबिक्री हुन थालेको छ । प्रणालीमा परिवर्तन भए अनुसार नै कम्पनीमा परिवर्तन भएको छ । त्यसअनुसार कारोबार पनि भएको छ । अहिले दैनिक १० अर्बभन्दा बढीको कारोबार हुन थालिसकेको छ । कारोबारमा बृद्धि भएको छ । लगानीकर्ताको संख्या बढेको छ । ३० लाखभन्दा बढी डिम्याट खुलेको छ । आइपीओमा १५ लाखसम्मको आवेदन पर्न थालेको छ ।

पूँजीबजारको आकार कूल ग्राहस्थ उत्पादन (जीडीपी)को नजिक पुगेको छ । यसले के देखाउन खोजेको हो भन्ने लाग्छ ?

अर्थतन्त्रमा पूँजी बजारले राम्रो सन्देश दिएको छ । यसले विकासको बाटोतर्फ जाने संकेत देखाउन खोजेको छ । उदाहरणका लागि चन्द्रागिरि हिल्स लिमिटेड हेर्नुहोस् । उनीहरुले कति दुःख गरेर आयोजना बनाए । आज त्यसको आइपीओ निकाल्दा कति गुणा आवेदन पर्यो । दोस्रो बजारमा सेयर नै नपाउने स्थिती छ । उनीहरुले अब बुटवलमा केवलकार खोल्न लागेका छन् । लगानीकर्तालाई पूँजीबजारको माध्यमबाट स्रोत जुटाउन सकिन्छ भन्ने देखाएको छ ।

अहिले हरेक स्थानमा सेयर बजारकै चर्चा हुन थालेको छ । धेरै मानिस सेयरमा आकर्षित भएका छन् । यसको बहुपक्षीय प्रभाव के देख्नुहुन्छ ?

यसले देखाएको प्रमुख कुरा भनेकै परियोजना राम्रो भयो भने पैसाको अभावका कारण सम्पन्न नहुने भन्ने हुँदैन । प्रोजेक्ट सञ्चालन गर्ने मान्छे राम्रो हुनुपर्यो । म आफू बिहान तरकारी किन्न बजारमा जान्छु त्यहाँ मलाई कुन कम्पनीको सेयर किन्ने होला भनेर पसलेले सोध्ने गर्छन् । विगतमा त्यस्तो अवस्था थिएन । यसका पछाडि २/३ वटा कारण छ । सेयर बजारमा थोरै लगानीमा पनि काम गर्न सकिन्छ । जुन अरु व्यवसायमा सम्भव छैन । जग्गाको काम गर्न लागि कम्तीमा ५० लाख चाहिन्छ । यहाँ ५ हजार रुपैयाँबाट लगानी गर्न सकिन्छ । अझ आइपीओ त १ हजार रुपैयाँमा पाइन्छ । सेयर बजारमा लगानी गर्नेले पैसा कमाएको छ ।

सञ्चालक भएर गएको संस्थालाई बलियो बनाएने काम गर्ने हो, बजारमा ‘म्यानुपुलेसन’ गरेर कमाउनको पब्लिकबाट संचालक भएर जाने होइन

शुरुमा बैंकमा ५/६ हजार लगानी गर्नेको १ करोडसम्म सम्पत्ति पुगेको छ । म आफैले पनि सेयर बजारबाट धेरै कमाउने कैयन मान्छे चिनेको छु । सेयर बजारबाट कमाएको पैसाले कतिले अमेरिकामा छोराछोरी पढ्न पठाए, कतिले घर बनाए । राम्रो कम्पनीमा लगानी गर्ने हो भने सेयरमा कमाउन सकिन्छ । शुरुमा नेपालमा राम्रा कम्पनीहरु आएनन् । त्यो बेला धेरैको पैसा समेत डुब्यो । अब सेयरमा डुब्ने सम्भावना छैन । अब अर्को अवसर भनेको एफडीआई हो । आर्थिक कोणबाट हेर्दा नेपाल भनेको ‘भर्जिन ल्याण्ड’ हो ।

तपाईं आफूले सेयर बजारमा कति कमाउनुभयो कति गुमाउनुभयो ?

सेयरबाट कमाएको पनि छु र गुमाएको पनि छु । एकपटक ठूलो रकम गुमाएको छु । सेयर बजारमा लगानी गर्न वाणिज्य बैंकसँग ३ प्रतिशत ब्याजदरमा ऋण लिएको थिए । त्यसपछि बैंकमा तरलता अभाव भयो । सेयर बजार घट्न थाल्यो । बैंकको ब्याजदर १७/१८ प्रतिशतसम्म पुग्यो । त्यो बेला मैले २ करोडसम्म ब्याज बुझाए । मैले ठूलो घाटामा बैंक अफ काठमाण्डूको सेयर बेचेको थिए । सेयर बजारमा ऋण लिएर लगानी गर्न सजग भने हुनुपर्छ ।

लगानीकर्ताले कस्तो कम्पनी हेरेर लगानी गर्नुपर्ला भन्ने लाग्छ तपाईलाई ?

लगानीकर्ताले कम्पनीको भविष्य र कम्पनीको व्यवस्थापन हेरेर लगानी गर्ने हो । व्यवस्थापन राम्रो हुनुपर्यो । पब्लिक पनि जवाफदेही हुनुपर्यो । भविष्यमा त्यो कम्पनीले कस्तो गर्न सक्छ त्यसको आँकलन गर्नुपर्छ । त्यो रोजेर लगानी गर्दा घाटा हुँदैन । अहिले भएका कम्पनीहरुको भविष्य राम्रो देखिएको छ । भोलिका दिनमा सबैको भविष्य राम्रो हुने देखिन्छ ।

तपाईं आफू सेयर बजारमा के कुराले आकर्षित हुनु भएको हो ?

मास्टर पास गरेपछि मलाई पीएचडी गर्न अमेरिका जान मन थियो । बुवाले अमेरिका गएपछि फर्कदैन भनेर व्यापार हेर्न भन्नु भयो । मैले बुवाको कुरालाई माने । पारिवारिक व्यवसायमा ज्ञानको खासै जरुरत थिएन । आफ्नो एकेडेमिक लाइनलाई सहयोग हुने गरेर कर्पोरेट क्षेत्रमा लागे । त्यो बेला नेपाल बैंक र नेपाल इन्स्योरेन्स थियो ।

म नेपाल बैंकको बोर्डमा जान्छु भनेर प्रयास गरे । म नेपाल बैंकमा चुनाव नै लडे तर हारे । त्यसपछि हामीले कानून संशोधन गर्ने काम गर्यौ । हामीले एनआईडिसीमा ‘एनआईडिसी क्यापिटल मार्केट’ खोल्न पहल गर्यौ । त्यो बेला अध्यक्ष रामविनोद भट्टराई हुनुहुन्थ्यो । म आफू र अमृतनाथ रेग्मी मिलेर कानूनको मस्यौदा बनाएका थियौं । म आफू बैंक सञ्चालक भएर गएको बैंकलाई बलियो बनाएर नाफा कमाउनका लागि नै काम गरे । बजारमा ‘म्यानुपुलेसन’ गरेर कमाउनको लागि जाने होइन ।

बैंकको ब्याजदर १७/१८ प्रतिशतसम्म पुगेपछि २ करोड घाटा खाएर बैंक अफ काठमाण्डूको सेयर बेचे

तपाईं आफूले सेयर बजारमा लागेर कति कमाउनुभयो ?

मैले आफूले पोर्टफोलियो छोराहरुलाई दिइसकेको छु । उनीहरु मभन्दा जानेका छन् । सिंगापुर र लण्डनबाट पढेर आएका छोराहरु छन् । उनीहरुले राम्रो ढंगले लगानी गरेका छन् । एकजना व्यक्तिले कति सम्पत्ति आर्जन गर्यो त्यो ठूलो कुरा होइन । सन् २००० सालमा मैले जति लगानी गरेको थिए त्यो अहिले ४० गुणाले बढेको छ । २० वर्षमा ४० गुणाले सेयर बजारमा मेरो पोर्टफोलियो बढेको छ ।

तपाईं धेरैवटा संस्थामा सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समेत बन्नुभयो । ती संस्थाहरु जनताप्रति जवाफदेही थिए ?

मैले शुरु गरेको ठाउँमा धेरै परिवर्तन ल्याएको छु । यसको कथा लामो छ । म इन्डोस्वेज बैंकमा पनि बसे । त्यहीबेला राष्ट्र बैंकले विपन्न वर्गको कर्जाको व्यवस्था ल्यायो । त्यो नगरे जरिवाना तिर्ने व्यवस्थाको नीति ल्यायो । फ्रेञ्चहरुले हामीहरु सानो ऋण दिन आएको होइन भनेर जरिवाना तिर्ने भयो । युरोपको लिड बैंक साना ऋण दिनका लागि आएको थिएन । त्यसका लागि लघुवित्त खोल्ने कुरा राष्ट्र बैंकमा गर्यौ । त्यसपछि मात्रै नेपालमा लघुवित्त खुल्यो । त्यो कुरा मेरा लागि गौरवको विषय हो । पब्लिक डाइरेक्टरको हिसाबले नीतिगत रुपमा सहज बनाउने काम मैले गरे । म आफू स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंकमा बसे । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा मेरो विवाद नै भयो । मैले त्यो बेला सञ्चालकको रुपमा पाउने भत्ता नै नलिएर च्यारिटीमा दिए । त्यागको र चलखेल नगर्ने भावना राख्यो भने काम गर्न सकिन्छ ।

वारेन बफेटजस्ता ठूला लगानीकर्तालाई भित्राउनको लागि अर्को स्टक एक्सचेन्ज चाहिन्छ

पब्लिक डाइरेक्टरको रुपमा बैंक तथा वित्तीय संस्थामा सजिलो हुन्छ कि अहिले तपाईं सञ्चालक भएको सोल्टी होटलमा ?

सोल्टी होटलमा म पहिलो पटक सञ्चालक भएर गएको हुँ । सोल्टी होटलले निकै नै ध्यान दिएर संस्थागत सुुशासनमा काम गरेको छ । त्यो अरुले गरेको छैन ।

तपाईं पब्लिक डाइरेक्टर भएर बढी विवाद मात्र गर्नुहुन्छ भन्ने आरोप छ नि ?

मैले संस्थागत सुशासन र कम्पनीको भविष्यका लागि विवाद गरेको हो । व्यक्तिगत हितको लागि होइन । आज तपाईं हेर्नुहुन्छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकमा धेरै नेपाली सिंगापुर, अमेरिका र युरोपमा रहेर काम गरेका छन् । त्यो भूमिका बनाउन मैले काम गरेको छु ।

एसबिआई बैंकमा पनि हामीले यसरी नै रिपोर्ट बनाउन खोजेका थियौ । शुरुको पिरियड र अहिले एसबिआई बैंकको अवस्था हेर्नुहुन्छ भने त्यो देखिन्छ । यसलाई विवाद भन्ने कि, के भन्ने तपाईंहरु आफैले मूल्यांकन गर्ने कुरा हो ।

तपाईंले कतिपय ठाउँमा विवाद पनि निकै गर्नुभयो । सेयर समेत बेचेर हिँड्नुभयो ?

मलाई नियामक निकायले दिएको सुझावको आधारमा कम्पनीको हितका लागि सेयर बेचेर हिँडेको हो । विवाद गर्नु हुँदैन भनेर एभरेष्ट इन्स्योरेन्स कम्पनीमा सेयर बेचेर हिँडे ।

नेपालमा अहिलेसम्म सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको हिस्सा बढी छ । अब उत्पादनमुलक क्षेत्रका कम्पनीको हिस्सा बढ्ला भन्ने लाग्छ ?

पब्लिकमा आएपछि मात्र कम्पनीको भ्यालुएसन थाहा हुने हो । चन्द्रागिरि हिल्स हेर्नुुहोस् कति धेरै सेयरको माग भयो । अब होटल क्षेत्रको आइपीओ आउने छ । नेपाल अहिलेपनि लगानीको लागि भर्जिन एरिया हो ।

धितोपत्र बोर्डले बुक बिल्डिङ प्रणाली लागू गरेको छ । त्यसले कम्पनीलाई प्रिमियम मूल्यमा आइपीओ बिक्री गर्न पाउने सुविधा दिएको छ । प्रिमियममा बेचेको पैसा कम्पनीको रिजर्भमा जाने हो ।

बैंकको ब्याजदर नबढ्दासम्म सेयर बजार बढ्ने आधार देखिन्छ

अहिले बजारमा सुधार गर्नुपर्ने कुरा के हो ? कतिपय अवस्थामा लगानीकर्ताले आन्दोलन समेत गर्छन् । खासमा सुधार हुनुपर्ने विषय के हो ?

नियामक निकायले अब धेरै क्षेत्रमा सुधार गर्नुपर्ने छैन । ब्रोकर कमिसन नियामक निकायले घटाएको छ । अहिले दिनमा १० अर्बसम्मको कारोबार हुन थालेको छ । अहिलेसम्म आन्तरिक लगानीको लागि मात्र हेरेका छौ । हामीले बजारमा एफडीआई भित्राउनुपर्छ । यसको लागि सुधार आवश्यक छ ।

त्यसका लागि नियम कानून, सफट्वेयर चाहिन्छ । यसबाहेक सरकारले करको दरहरु परिवर्तन गर्नुपर्छ । सेयर बजारमा कर्पोरेट सेक्टरलाई बढाउनको लागि करका दरहरु परिवर्तन नै गर्नुपर्छ ।

यसको अर्थ नयाँ स्टक एक्सचेन्ज चाहिन्छ भन्न खोज्नु भएको हो ?

विदेशी लगानीकर्ता भित्राउने खालको नयाँ स्टक एक्सचेञ्ज चाहिन्छ । त्यसको लागि विदेशका ठूला स्टक एक्सचेञ्जका लगानीमा यहाँ नयाँ स्टक एक्सचेञ्ज खोल्नुपर्छ । विदेशमा ठूला लगानीकर्ताले आफ्नो ब्रोकरमार्फत् सेयर किन्ने बेच्ने हो । जस्तो वारेन बफेटको आफ्नो ब्रोकर छ । उसले त्यसमार्फत लगानी गर्ने हो । त्यसका लागि फरक खालको प्रडक्ट ल्याउनुभयो ।

क्यापिटल मार्केट भनेको तरलता प्रवाह गर्ने हो । सेयर बजारमा विदेशी कम्पनीका सेयर समेत सूचिकृत हुने व्यवस्था मिलाउनुपर्यो । हामीले सर्भिस दिने हो । विदेशी र नेपालीको लागि छुट्टै व्यवस्था हुने खालको स्टक मार्केट चाहियो । जसले गर्दा वारेन बफेट नै यहाँको सेयर मार्केटमा लगानी गर्न आउने वातावरण बनाउनुपर्यो । यो कुरा अहिलेको स्टक एक्सचेञ्जले हुँदैन । अहिलेको स्टक एक्सचेञ्जलाई स्वदेशी लगानीकर्तालाई र अर्को स्टक एक्सचेन्ज विदेशीलाई दिने गरेर ल्याउन दिनुपर्छ ।

सेयर बजार बढ्ने र घट्ने ठ्याक्कै मिलाउन सकिदैन । तपाईंको अनुभवले सेयर बजार के आधारमा बढ्ने घट्ने रहेछ ?

मान्छेको आम्दानीको आधारले सेयर बजार बढ्ने र घट्ने हो । मैले ३/४ वटा सेयर बजारको उतारचढाव हेरेको छु । जुन बेला मान्छेको आम्दानी बढ्यो उसले सेयर बजारमा लगानी गर्छ त्यो बेला सेयर बजार बढ्छ । अर्को बैंकको ब्याजदर सस्तो भएको बेला सेयर बजार बढ्ने हो ।

अहिले देखिएको बुलरन कहिलेसम्म जाने देखिन्छ ?

अहिले बुल किन आयो । त्यसको कारण अनलाइन ट्रेडिङको कारण हो । अनलाइन ट्रेडिङले डिमाण्ड बढाउने हो । अहिले बैंकको ब्याज घटेको छ । जग्गाको दाम बढेको छ । सूचिकृत संस्थाले लाभांश पनि दिएको छ । लाभांशको नीतिमा नियामक निकायले उदार नीति लिनुपर्यो । बजारलाई सर्पोट गर्ने कुराहरु अहिले भएको हुँदा मार्केट बुलामा नै हुने देखिन्छ ।

बुल मार्केटमा नयाँ लगानीकर्तापनि आएका हुन्छन् । यस्तो बेला नयाँ लगानीकर्ताले कस्तो विषयमा ध्यान दिनुपर्छ ?

पहिला हल्लाको भरमा समेत मान्छेले लगानी गरेका थिए । अघिल्लो बुलमा घरमा बसेका महिलाहरुले लगानी गरे । उनीहरुले घाटा खाए त्यसपछि उनीहरुले ज्ञान लिए । अहिले जानकारी पाउनका लागि धेरैवटा उपाय छ । अहिले समयमा नबुझेर लगानी गर्छन् जस्तो लाग्दैन ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स