कुलमानको ठाउँमा आएका हितेन्द्रदेव शाक्यले भने- पद पाएपछि झनै भारी लाग्यो



काठमाडौं । नेपाल विद्युत् प्राधिरकणको १७ औं कार्यकारी निर्देशकको रुपमा हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन् ।

आइतबार बिहान १०.३० बजे प्राधिकरणको केन्द्रीय कार्यालय पुगेका उनी दौरा सुरुवालमा सजिएका थिए । यसैपनि उनी प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशक नै थिए । गत माघ २६ गते बसेको मन्त्रिपरिषद्को बैकठले उनलाई पूर्णरुपमा कार्यकारी निर्देशक बनायो ।

यसअघि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले भदौ २९ गते ४ वर्षे कार्यकाल पूरा गरे । उनको पुनः नियुक्तिको विषयमा नागरिक समेत आन्दोलित भए । आम मानिसको चाहना थियो कि थप ४ वर्ष कुलमानले नै प्राधिकरणको नेतृत्व सम्हालुन ।

केपी ओली नेतृत्वको सरकारले उनको पुनः नियुक्ति गर्नेतर्फ कुनै छेकछन्द नै देखाएन । नागरिक सडकमा प्रहरीको कुटाई खान थाले । घाइते भए । अन्ततः कुलमानले नै आफनो नियुक्तिका विषयलाई लिएर आन्दोलन नगरिदिन सामाजिक सञ्जालमार्फत् आग्रह नै गर्नुपर्यो ।

कुलमानको पुनः नियुक्ति गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका तत्कालीन उर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लगेका थिए, मन्त्रिपरिषदमा ।

तर, प्रधानमन्त्री ओलीले प्रतिस्पर्धाका आधारमा मात्रै कुलमानको नियुक्ति हुनसक्ने बताएका थिए । उनले प्रतिस्पर्धा नगरीकन नियुक्ति हुन नसक्ने भन्दै कुलमानलाई नियुक्ति दिन मानेनन् ।

तत्कालीन मन्त्री पुनको सचिवालयले लामो समयसम्म ममिन्त्रपरिषदमा कुलमानको नियुक्तिका विषय विचाराधिन रहेको बताएको थियो । अन्ततः कुलमान नियुक्त भएनन् ।

पछिल्लो पटक माघ २६ गते ओली नेतृत्वको कामचलाउ सरकारले हितेन्द्रदेव शाक्यलाई बढीमा ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

नियुक्तिपत्र पाएपछि आइतबार उनको स्वागतमा प्राधिकरणका कार्यक्रम आयोजना गरियो । सम्बोधन गर्ने क्रममा शाक्यले पद नपाउँदासम्म पाए हुन्थ्यो, पाएपछि त झनै गाह्रो रहेछ भन्ने धारणा राखे ।

उनले भने, ‘नपाउँदासम्म पाए हुन्थ्यो भन्ने लाग्ने, पाएपछि त भारी पो हुँदोरहेछ ।’

उनले जिम्मेवारीबोधले भारी भएको बताए । उनले आफूलाई कार्यकारी निर्देशकको पद काम गर्ने हिसाबले महत्वपूर्ण भएको भएपनि भारी भएको बताए ।

प्रसारण लाइनका जानकार शाक्य प्रणालीले काम गरोस् भन्ने चाहन्छन् । तर, कुलमानको भने ठीक विपरीत थियो, उनी वितरण केन्द्र प्रमुखदेखि इन्जिनियरसम्म पनि उत्तिकै सम्पर्कमा रहन्थे ।

उनले शाखाका कर्मचारीदेखि माथिल्ला कर्मचारीसँग पनि उस्तै सम्बन्ध राखेका कारण उनको कार्यकालमा प्राधिकरणले प्रभावकारी नजिता निकालेको थियो । शाक्यको खास कार्यकाल आइतबारदेखि शुरु भएको छ । ४ वर्षका लागि कामचलाउ सरकारले दिएको जिम्मेवारी कसरी सम्हाल्लान्, त्यो भने आगामी दिनमा उनको कार्यशैलीले नै देखाउनेछ । उनले भने जस्तै प्राधिकरणको कार्यकारी पद साच्चिँकै भारी रहेछ कि हलुंगो ।


क्लिकमान्डु