नोबेल कलेजको आम्दानी ४ करोडले घट्यो, नयाँ प्रोजेक्टको खर्च ३८ करोडले बढ्यो



काठमाडौं । नोबेल कलेजको आम्दानी ४ करोड रुपैयाँले घट्ने भएको छ । कम्पनीको आम्दानी अघिल्लो वर्षको तुलनामा ४ करोड रुपैयाँले घट्ने देखिएको हो ।

सन् २०१८ मा ३२ करोड ५० लाख ८० हजार रुपैयाँ आम्दानी गरेको कलेजले सन् २०२० मा २८ करोड ५० लाख ८० हजार मात्रै गर्ने रिपोर्टमा उल्लेख छ ।

आम्दानी घट्नुमा कलेजले कोरोना भाइरसको महामारीलाई प्रमुख कारण मानेको छ । कलेजको आम्दानी कम हुनुमा सीमित सिट क्षमता, एकीकृत परीक्षा प्रणाली, कलेजको शुल्क पनि जिम्मेवार भएको कलेजको भनाइ छ ।

एकातिर कलेजको आम्दानीमा कमी आएको छ भने अर्कोतिर नयाँ प्रोजेक्टको खर्च पनि ३८ करोडले बढेको छ । कलेजले हाल सञ्चालन भइरहेको १०० बेडको अस्पताललाई बढाएर काठमाडौंको पुरानो बानेश्वरमा २०० बेड क्षमताको अस्पतालका लागि भवन निर्माण गरिरहेको छ ।

शुरुवाती चरणमा ६० करोड ८० लाख खर्च लाग्ने अनुमान गरिएकोमा हाल यसको खर्च बढेर ९८ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

भवनको संरचनाको ढाँचामा भएको परिवर्तन तथा कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भएको हुँदा त्यसको असर खर्चमा देखिएको हो ।

कलेजले सन् २०१७ देखि भवन निर्माणको काम शुरु गरेको थियो । प्रोजेक्टको काम सन् २०२० को जनवरीसम्ममा ४० प्रतिशत मात्रै सम्पन्न भएको छ । अस्पतालका लागि नयाँ भवन निर्माणका लागि लाग्ने कुल खर्चमध्ये ६७ प्रतिशत बैंकबाट ऋण लिइएको छ ।

१५ वर्षदेखि नेपालको शिक्षा क्षेत्रमा सक्रिय रहेका लगानीकर्ताहरुद्वारा प्रर्बद्धित यस कलेजमा पोखरा विश्वविद्यालय तथा सीटीइभीटीका विभिन्न कोर्सहरु सञ्चालन हुँदै आएका छन् ।

सन् २००५ मा स्थापना भएको नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेशन फाउण्डेसन प्रालिले डिप्लोमा, ब्याचलर र मास्टर्सका कोर्सहरु सञ्चालन गरिरहेको छ । कलेजले पोखरा विश्वविद्यालय अन्तर्गतका विभिन्न हेल्थ कोर्सहरु सञ्चालन गरिरहेको छ भने डिप्लोमा तहमा हेल्थ कोर्सहरु सिटिइभिटीबाट सम्बन्धनप्राप्त छन् ।

कलेजले हालै १ अर्ब ६० करोड ऋणका लागि रेटिङ समेत गराएको छ ।

कलेजका प्रमुख लगानीकर्तामा नवराज पाण्डे (१८ प्रतिशत), सुरेन्द्र श्रेष्ठ (१८ प्रतिशत) उत्तम भौकाजी (१५ प्रतिशत), शंकर श्रेष्ठ (११ प्रतिशत) र रविन दाहाल (१० प्रतिशत) छन् ।


क्लिकमान्डु