कहाँ गयो याक एन्ड यति होटलको पब्लिक सेयर ?



काठमाडौं । कोरोना महामारीका कारण लागू भएको लकडाउनले अर्थतन्त्रमा ठूलो असर पार्यो । जसका कारण विश्वभरका गरिबीको रेखामुनी रहेका मानिसहरु अझ गरिबीमा धकेलिए भने धनीहरु अझ धनी बने । यसको प्रमाण हो, विश्वका धनाढ्यहरुको सम्पत्ति यही बीचमा अस्वभाविकरुपले बढ्नु ।

कोरोनापछि सबैभन्दा धेरै सेयर बजारका लगानीकर्ताले कमाएका छन् । नेपालमा मात्रै होइन, छिमेकी मुलुक भारतदेखि अमेरिकासम्म सेयर बजारले इतिहासिक रेकर्ड कायम गरेको छ । सेयर बजारमा प्रवेश गर्नेहरुको संख्या यही बीचमा उल्लेख्य मात्राले बढेको छ ।

नेपालको हकमा चर्चा गर्ने हो भने लकडाउन अघिसम्म ३ देखि ५ लाखले आइपीओ भर्दै आएकोमा एक वर्षको अवधिमै यो संख्या करिब १५ लाख पुगेको छ ।

तर के तपाईंलाई थाहा छ, सेयर बजारमा मानिसहरुको आकर्षण यतिधेरै बढेका बेलामा पनि सेयर बजारबाट हराएका एक दर्जनभन्दा बढी कम्पनीका सेयर कहाँ गए भन्ने कसैले खोजबिन गरेको पाइँदैन ।

गत साता मात्रै नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले दुई वटा कम्पनी बिशाल बजार कम्पनी लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गर्यो ।

लामो समयदेखि वित्तीय विवरण प्रस्तुत नगरेको भन्दै नेप्सेले दुबै कम्पनीको कारोबारमा एकैदिन दुबै कम्पनीको कारोबार रोक्का गरेको छ । ती कम्पनीले पछिल्लो ३ वर्षदेखि वित्तीय विवरण प्रकाशित गरेका छैनन् ।

वित्तीय विवरण प्रकाशित नगरेका कम्पनीहरुको सेयर मूल्य भने पछिल्लो समय निकै अकासिएको थियो । नेप्सेले कारोबार रोक्का गरेपछि लगानीकर्ताको लगानी बन्धक बनेको छ ।

नेप्सेले सेयर कारोबार रोक्का गरी लगानीकर्ताको लगानीको बन्धन बनेको यो पहिलो पटक होइन । यसअघि एक दर्जनभन्दा बढी कम्पनीको सेयर कारोबार यसैगरी रोक्का भएको थियो । जसमध्ये केही कम्पनी हाल सञ्चालनमा हुँदासमेत सेयर बजारमा कारोबार हुन सकेको छैन ।

त्यसैमध्येको एक हो हाल सञ्चालनमा भइरहेको पाँचतारे होटल ‘याक एन्ड यति’ । राम्रोसँग सञ्चालन भइरहेको यो होटलको सेयर कारोबार बन्द भएको दशकभन्दा बढी समय भइसक्यो ।

तर नियामक निकायले पनि यस विषयमा चासो दिएको पाइँदैन ।

कारोबार बन्द भएपछि कम्पनीको वित्तीय अवस्था के छ भन्ने विवरण हालसम्म सार्वजनिक भएको छैन । यता लगानीकर्ताको करोडौं रुपैयाँ बन्धन बनेको छ भने यसका लागि धितोपत्र बोर्ड तथा नेप्सेले के गर्ने भन्ने विषयमा पनि चासो देखाएको छैन ।

होटलको कुल चुक्तापुँजीमध्ये ०.०१ प्रतिशत मात्रै सेयर सर्वसाधारणको छ । बाँकी ९९.९ प्रतिशत सेयर प्रबद्र्धकहरुकै हो । तर, वित्तीय विवरण प्रकाशित नहुँदा सेयरधनीहरुले के कति लाभांश पाउने हो त्यो पनि अनुत्तरित छ भने आफ्नो नाममा भएको सेयर बिक्री गर्न पनि पाएका छैनन् । होटलको चुक्तापुँजी २२ करोड ९ लाख २० हजार ८०० रुपैयाँ छ ।

कारोबार रोक्का भएपछि कम्पनीले नेप्सेमा दर्ता नवीकरणसमेत गरेको छैन । हालसम्म होटलले नेप्सेमा नवीकरण शुल्क वापतमात्रै ५ लाखभन्दा बढी रुपैयाँ बुझाउनु पर्ने हुन्छ । नेप्सेमा सूचिकृत संस्थाले प्रत्येक वर्ष नवीकरणवापत ५० हजार रुपैयाँ बुझाउनुपर्छ ।

होटलले पछिल्लो कारोबार सन् २००५ डिसेम्बर १९ तारिखमा भएको थियो । तत्कालीन समयमा सेयर मूल्य प्रतिकित्ता ६ सय रुपैयाँ थियो ।


पुष्प दुलाल