सबै वाणिज्य बैंकले आधार दर घटाए, कुन बैंकबाट सस्तो ब्याजदरमा ऋण पाइन्छ ?



काठमाडौं । बैंकबाट ऋण लिने सोचमा हुन्नुहुछ ? यदि त्यसो हो भने तपाईंका लागि यो ऋण लिने उपयुक्त समय हो । किनभने अहिले बैंकहरुले निकै सस्तो ब्याजदरमै ऋण दिइरहेका छन् ।

कोरोनाका कारण लगानीको वातावरण बनिनसक्दा बैंकिङ प्रणालीमा लगानी गर्न मिल्ने अर्बौं रुपैयाँ (अधिक तरलता) थुप्रिएर बसेको छ । राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा १ खर्ब ११ अर्ब रुपैयाँ अधिक तरलता छ ।

कुनै व्यापार–व्यवसायका गर्नका लागि होस् वा घर जग्गा र सवारी खरिदका लागि तपाईंलाई ऋणको आवश्यकता पर्छ नै । यस्तो अवस्थामा तपाईंका लागि कुन बैंकले सस्तो ब्याजदरमा ऋण दिन्छ भन्ने चासो हुन्छ ।

त्यसैले हामीले कुन बैंकले सस्तो ब्याजदरमा ऋण दिइरहेका छन् । र, दिन्छन् भन्ने जानकारी दिने उदेश्यले सो समाचार सामाग्री तयार पारेका छौं । जुन तपाईंको जानकारीका लागि निकै उपयोगी हुनसक्छ ।

सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकहरुले अहिले ऋणको ब्याजदर घटाएका छन् । बैंकले आधारदर (बेसरेट) लाई आधार बनाएर ऋणको प्रकारअनुसार त्यसमा केही प्रतिशत थप गरि ऋण दिन्छन् ।

गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा वाणिज्य बैंकहरुले आधार दर ०.९९ प्रतिशतदेखि २.५३ प्रतिशतसम्म घटेको छ । औषतमा बैंकहरुको बेसरेट गत आवको पुसको तुलनामा २.३० प्रतिशतले घटेर चालु आवको पुसमा ७.१९ प्रतिशत कायम भएको छ ।

ऋण लिन इच्छुकले बैंकको ऋणकोे प्रोडक्ट अनुसारको ब्याजदर हेर्नुभन्दा पहिला आफूले ऋण लिन लागेको बैंकको आधारदर र ब्याजदर कति छ भनेर बुझ्न आवश्यक हुन्छ । बैंकहरुले मासिक वा त्रैमासिकरुपमा बेसरेट परिवर्तन गरिरहेका हुन्छन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २ वटा बैंकको बेसरेट ५ प्रतिशतको हाराहारीमा छ । त्यसैगरी, ८ वटा बैंकको ६ प्रतिशतको हाराहारीमा, १४ वटा बैंकको ७ प्रतिशतको हाराहारीमा र ३ वटा बैंकको ८ प्रतिशतको हाराहारीमा बेसरेट चालु आवको पुस मसान्तमा रहेको छ । जसमा सबैभन्दा थोरै राष्ट्रिय वाणिज्य बैंकको र सबैभन्दा धेरै सिभिल बैंकको छ ।

यो अवधिमा सबैभन्दा थोरै बेसरेट पूर्णसरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकको ५.६१ प्रतिशत बेसरेट रहेको छ । गत आवको पुस मसान्तमा बैंकको बेसरेट ६.६० प्रतिशत थियो ।

राष्ट्रिय वाणिज्य बैंकपछि सबैभन्दा कम बेसरेट भएको बैंक हो नविल बैंक हो । ०७६ पुसकोभन्दा २.३४ प्रतिशतले घटाएर ५.७६ प्रतिशत बेस रेट कायम गरेको छ । २०७६ पुसमा बैंकको बेसरेट ८.१० प्रतिशत थियो ।

यसैगरी, चालु आवको पुस मसान्तसम्म स्ट्यान्र्डड चार्डर्ट बैंक ६.०७ प्रतिशत, नेपाल बैंक ६.१९ प्रतिशत, एभरेष्ट बैंक ६.३४ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट बैंक ६.५६ प्रतिशत र एनआइसी एशिया बैंकको ६.७६ प्रतिशत बेसरेट छ ।

साथै, ग्लोबल आइएमई बैंकको ६.७६ प्रतिशत, सानिमा बैंकको ६.८३ प्रतिशत र हिमायन बैंकको ६.८३ प्रतिशत बेसरेट चालु आवको पुस मसान्तमा रहेको छ ।

यस्तै, सो अवधिमा लक्ष्मी बैंकको ७.२४ प्रतिशत, प्रभु बैंकको ७.२४ प्रतिशत, सनराइज बैंकको ७.२९ प्रतिशत, मेगा बैंकको ७.३८ प्रतिशत, नेपाल एसबीआई बैंकको ७.४९ प्रतिशत र माछापुच्छ्रे बैंककको ७.५६ प्रतिशत बेसरेट रहेको छ ।

साथै, चालु आवको पुस मसान्तसम्म प्राइम बैंकको ७.८५ प्रतिशत, सेञ्चुरी बैंकको ७.९१ प्रतिशत, कुमारी बैंकको ७.९२ प्रतिशत र एनसीसी बैंकको ७.९४ प्रतिशत बेसरेट रहेको छ ।

सो अवधिमा नेपाल बंगलादेश बैंकको ८ प्रतिशत, सिटिजन्स बैंकको ८.२५ प्रतिशत र सिभिल बैंकको ८.४५ प्रतिशत बेसरेट रहेको छ ।


पुष्प दुलाल