रोजगारदाताले समयमै कोषमा रकम जम्मा नगर्दा मृतकको परिवार सुविधाबाट बञ्चित



काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षाको कोषमा आबद्ध भएको रोजगारदाताले श्रमिकको रकम समयमै कोषमा जम्मा नगर्दा मृतकको आश्रित परिवार कोषबाट पाउने सुविधाबाट बञ्चित भएका छन् ।

रोजगारदाताले मृत्यु भएका श्रमिकको नियमितरुपमा रकम जम्मा नगरी मृत्यु भइसकेपछि करिब ३/४ महिनाको अन्तरालमा रकम जम्मा गर्दा मृतकको आश्रित परिवार सुविधाबाट वञ्चित भएको हो ।

कोषमा आबद्ध भएका काठमाडौंमा सञ्चालनमा रहेको एक कम्पनीमा कार्यरत एकजनाको भदौमा मृत्यु भयो । कोषमा आबद्ध श्रमिकको जुनसुकै कारणले मृत्यु भएपनि मृतकको परिवारले सामाजिक सुरक्षा योजना अन्तर्गतको मासिक निवृत्तिभरण पाउने व्यवस्था छ ।

योगदानकर्ताको मृत्यु भएको हकमा मृतकका योगदानकर्ताको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम आश्रित परिवारले आजीवन पाउने व्यवस्था कोषले गरेको छ ।

त्यति मात्रै नभई मृतक योगदानकर्ताका छोराछोरीले २१ वर्षको उमेरसम्म शिक्षावृत्ति पाउँछन् भने मृतकको अन्तिम संस्कार खर्चबापत २५ हजार परिवारलाई उपलब्ध गराउने प्रावधान छ ।

तर, कार्कीको परिवारले कोषबाट पाउने सबै सुिवधाबाट बञ्चित भएका छन् । कोषमा आबद्ध भएको भन्दै आश्रित परिवारले सेवा सुविधा पाउने आसले कोषमा आएका थिए । तर, कोषले नियमित रकम जम्मा नगरेको भन्दै रकम उपलब्ध गराउन नसक्ने बतायो ।

कोषमा सूचीकृत भइसकेका श्रमिकहरूको आधारभूत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत गरी कुल ३१ प्रतिशत रकम मासिक नियमितरूपमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा ४ को उपदफा १ ले कोषमा सूचीकृत रोजगारदाताले प्रत्येक श्रमिकको योगदान रकम नियमित जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । सोही दफाको उपदफा ४ ले महिनाको १५ दिनभित्र योगदान रकम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।

मृतकले भने २ महिनाको रकम मात्रै जम्मा भएको थियो । विगतको ३/४ महिनाको रकम जम्मा भएको थिएन ।

तर, रोजगारदाताले मृत्यु भएको करिब ४ महिनापछिको अन्तरालमा कोषमा रकम जम्मा गर्नाले समस्या आइरहको कोषले जनाएको छ । जसले गर्दा आश्रित परिवारले कोषको सुविधाबाट बञ्चित भएको कोषको भनाइ छ ।

कोषको दफा ३ ले कोषमा योगदान नगर्ने व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान नगरिने उल्लेख छ । उक्त दफाअनुसार नियमित योगदान नगर्ने श्रमिक तथा निजका आश्रित परिवारलाई सेवा सुविधा उपलब्ध गराउन नसकिने कोषको भनाइ छ ।

कुनै पनि रोजगारदाताले नियमित रुपमा रकम कोषमा जम्मा नगर्दा कुनै कारणवश केही समस्या आएमा रोजगारदाताले बेहोर्नुपर्छ । तर, रोजगारदाता आफ्नो कर्तव्यबाट मुक्त हुनका लागि ३/४ महिनाको अन्तरालमा रकम बुझाइरहेकाले समस्या आइरहेको कोषको प्रवक्ता विवेक पन्थी बताउँछन् ।

उनका अनुसार ऐनले नै कोषमा नियमित योगदान नगर्नेहरूलाई यो सुविधा उपलब्ध नगराउने उल्लेख गरेको हुँदाहुँदै रोजगारदाताको व्यवास्थाले कार्कीको परिवारले सुविधाबाट बञ्चित हुन बाध्यता रहेको बताए ।

एकजना मात्रै होइन, कोषमा रोजगारदाताको लापरवाहीले गर्दा करिब ६/७ जना मृतकको आश्रित परिवार सुविधाबाट बञ्चित भएको कोषले जनाएको छ ।
कोषले चार किसिमको सुविधा योजनाका अलग-अलग सर्त छन् । जसमा योग्य हुनका लागि नियमित रकम जम्मा भएन भने सुविधा पाउन योग्य हुँदैन ।

बारम्बार सूचना दिँदा पनि रकम जम्मा गर्दैनन् रोजगारदाता

योगदानमा आधारित सामाजिक सुरक्षा कोषले समयमै रकम भुक्तानीका लागि रोजगारदातालाई सुचना प्रदान गर्दा पनि व्यवास्था गरेको कोषको भनाइ छ । पन्थीका अनुसार कोषले समयमै रकम जम्मा नहुँदा बारम्बार रोजगारदातालाई मेल तथा सूचना दिने गर्दै आएको छ ।

तर, कोरोनाले गर्दा व्यवसाय ठप्प छ, कर्मचारीलाई नियमित रकम दिन नसकेको भन्दै आएका छन् । यसले गर्दा कोषमा आबद्ध अधिकांश श्रमिकको भुक्तानीमा निकै समस्या भइरहेको बताए ।

‘कोषको दुर्घटना र अशक्तता सुरक्षाको सुविधा र आश्रित परिवार सुरक्षाको सुविधा सुविधाको योजनामा नियमित रकम जम्मा भएको हुनुपर्ने भनिएको छ,’ उनले भने, ‘तर, रोजगारदाताले श्रमिकको नियमित रुपमा रकम कोषमा नहाल्ने र भदौमा मृत्यु भएको व्यक्तिको पुसमा जम्मा गर्ने भइरहेको छ । यसले गर्दा कोषले समयमै रकम जम्मा गर्न अनुरोध गर्दै आएका छौं ।’

कोषले रोजगारदातालाई सिस्टमबाटै महिना सकिने वित्तिकै १५ दिनमा जम्मा गर्नका लागि मेल पठाउने गर्दै आएको छ । जसमा जम्मा नभएको खण्डमा १, ७ र अन्तिमपटक १४ गते सूचना प्रदान गर्ने गरेको प्रवक्ता पन्थीको भनाइ छ । तर, कोषले बारम्बार सूचना प्रदान गर्दा पनि रोजगारदाताले नटेरेको उनो गुनासो छ ।

कतिपय रोजगारदाता कोषमा आबद्ध भएता पनि पैसा जम्मा नगर्ने र कोषको पैसा आफ्नो बैंक खाता खोलेर आफै राख्ने प्रवृत्ति रहेको उनले जानकारी दिए । यसले गर्दा उक्त समयमा श्रमिकको कारणवश मृत्यु भएमा रोजगारदाताले व्यहोर्नुपर्ने भनिएको छ । जसमा रोजगारदातालले उक्त निवृत्तिभरण दिनुपर्नेबाट पन्छिनको लागि जानि जानी मृत्यु भइसकेपछि पहिले देखिको रकम ल्याएर बुझाउने गर्ने गरेको बताए ।

त्यस्तै, कुनै पनि श्रमिकलाई जम्मा भयो वा भएन भन्ने थाहा नहुन सक्छ तर, रोजगारदातालाई थाहा छैन भन्न नमिल्ने उनको बुझाइ छ ।

आबद्ध हुनेको संख्या न्यून, रकम बुझाउने बढे

कोरोना भाइरस महामारीले थलिएको व्यापार व्यवसायले गर्दा कोषमा आबद्ध हुने रोजगारदाता तथा श्रमिकको संख्या निकै कम भएको कोषले जनाएको छ । कोषका प्रवक्ता पन्थीको अनुसार कोषमा आबद्ध भएको संख्या त्यति धेरै बढेको छैन् । तर, रकम जम्मा गर्नेको संख्या बढेको बताए ।

‘लकडाउन अगाडि ३० हजार रोजगारदाता तथा श्रमिकले मात्रै रकम जम्मा गर्दै आएको थियो । त्यसबेला सूचीकरण भएको १ लाख ५८ हजार थियो । तर, अहिले करिब १ लाख ८७ हजार आबद्ध भएका छन् । त्यसमा अहिले भने करिब ८४ हजार ९ सय ३१ जनाले पूर्ण रुपमा नियमित रुपमा रकम जम्मा गरिरहेका छन्,’ उनले भने ।

कोषमा हाल आबद्ध भएको रोजगारदाताको संख्या १३ हजार १ सय ६६ रहेको छ भने त्यसभित्र रकम जम्मा गर्ने रोजगारदाता भने १ हजार ६ सय ५ रहेको छ ।

यसैगरी कोषमा कतिपय कम्पनीले आउटसोर्सिङ कम्पनीलाई पैसा दिने र त्यसबाट कोषलाई जम्मा गर्ने गर्दछ । जसमा कम्पनीले आउटसोर्सिसिङमा भुक्तानी नदिँदा कोषमा रकम जम्मा गर्ने समस्या आइरहेको उनी बताउँछन् । साथै, कतिपयले सामाजिक सुरक्षामा आबद्ध भएता कुनै पनि रकम जम्मा नभएको उनको भनाइ छ ।

कार्यविधि संशोधनपछि उल्लेखनीय आबद्ध हुने कोषको दावी

कोषको योजना प्रभावकारी नभएको भन्दै कोषले रोजगारदाता र श्रमिकको हितलाई समेटेर कार्यविधि संशोधन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । उक्त कार्यविधि संशोधन भएमा कोषमा आबद्ध हुने रोजगारदाता र श्रमिकको संख्या उल्लखनीय हुने कोषको दावी छ ।

हाल कोषले कुनै पनि कार्यक्रमहरू नबढाएको र कार्यविधि संशोधन भएपछि मात्रै विभिन्न कार्यक्रमहरू गरेर अगाडि बढ्ने पन्थीको भनाइ छ । जसमा कोषले मातृत्व सुरक्षामा योजनामा ३८ दिनको एकमुष्ट तलबको ६० प्रतिशत रकम दिने, ६० वर्ष नाघेकालाई स्वास्थ्य उपचारको सुविधा प्रदान गर्ने, मृत्यु भएमा ७ लाख प्रदान गर्ने, वृद्धावस्था योजनाअन्तर्गतको १८ प्रतिशत रकम राख्नेलगायत सापटीको व्यवस्था गरेको छ । उक्त समेटिएको सबै कार्यविधि संशोधन भएमा अधिकांश रोजगारदातातथा तथा श्रमिक आबद्ध हुने उनको विश्वास छ ।


क्लिकमान्डु