भुक्तानी प्रणालीमा क्यूआरकोड क्रान्तिः अब प्रमोद र सुल्तानहरु लुटिदैनन्



काठमाडौं । प्रमोद साह हरेक दिन कुलेश्वरको फलफूल बजार पुग्छन् । यो उनको वर्षौदेखिको दैनिकी हो । बजार पुग्ने र फलफूल उठाउँदै काठमाडौंका विभिन्न स्थानमा पुर्याउने उनको कामले नाम र दाम दुवै दिएको छ । घरखर्च चलेको छ ।

काठमाडौंमा घाम उदाउँदा नउदाउँदै बजार पुग्दा उनी जति खुसी हुन्छन् त्यति नै पिर दिन ढल्दै जाँदा हुन्छ । धुवाधुलो सहेर दिनभरी गरेको व्यापारको पैसा साँझ घर पुग्दैन कि भन्ने चिन्ताले हरेक गोधूलीसँगै उनको शक्तिशाली कम्पन पैदा हुन्छ ।

काठमाडौंमा राम्रा मात्रै मान्छे छैनन् । उनी हरेक साँझ बेचैन हुन्छन्, दिनभरीको कमाई लुटिन्छ कि भनेर । तरकारी र फलफूल बिक्री गर्दा प्राप्त हुने खुसीमा कहिलेकाही टोले गुण्डाको छाँया पर्छ । त्यही छाँयाले उनी कैयन पटक लुटिएका पनि छन् ।

तर पछिल्ला केही सातादेखि प्रमोदको अनुहारमा डर छैन । निर्धक्क व्यापार गर्छन् । छुट्टै आत्मविश्वास पनि बढेको छ उनमा । किनकी, छातीमा अडिने गरी नबिल बैंकले दिएको क्यूआरकोड झुण्ड्याएका छन् ।

उनी पहिले जस्तै ढक तराजु निकाल्छन्, जोख्छन् । ग्राहकले इच्छा अनुसारको फलफूल र तरकारी किन्छन् । तर अहिले प्रमोद नगदमा पैसा लिन रुचाउँदैनन् । ग्राहकलाई आफनो छातीमा झुण्ड्याएको क्यूआरकोड स्क्यान गर्न अनुरोध गर्छन् । फलफूल तथा तरकारी बिक्री गरेको पैसा बैंक खातामा सिधै जम्मा गर्छन् ।

ग्राहकले स्क्यान गरेर भुक्तानी गरेपछि उनको मोबाइलमा खातामा पैसामा जम्मा भएको म्यासेज आउँछ । त्यो म्यासेजसँगै उनी नगद लुटिने, चोरिने र हराउने त्रासबाट मुक्त हुन्छन् ।

‘क्यूआर कोडको मालाले मलाई डर हटाइदिएको छ, विश्वास भरेको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘अब फलफूल बेचेको पैसा लुटिदैन ।’

खुद्रा पैसा नहुँदा हुने समस्या समेत उनले भोग्नु परेको छैन ।

कुलेश्वरको होलसेल बजारबाट फलफूल तथा तरकारी बिक्री गर्ने प्रमोदका साथी छन्, मोहम्मद सुल्तान मिया ।

मियालाई पनि हरेक दिन प्रमोदलाई जस्तै पैसा लुटिने डरले सताउँथ्यो । बिहान जुरुक्क उठेदेखि टोकरी भरी फलफूल तरकारी राखेर काठमाडौंका गल्ली गल्ली बिक्री गर्दै हिडेको थकान कहिलेकाही त भयले बिस्र्याउँथ्यो पनि ।

‘हामीलाई क्यूआर कोडले दिएको खुसी त अन्यत्र कहाँ छ र ?’ प्रफूल्लित मुद्रामा मियाले क्लिकमाण्डुसँग खुसी साटे ।

प्रमोद र सुल्तान त उदाहरण मात्रै हुन् ।

राजधानी काठमाडौंमा साइकल र ठेलामा तरकारी बेचेर गुजारा गर्ने धेरै छन् । उनीहरुले सोही व्यवसायबाट आफ्नो घरखर्च चलाएका छन् । छोराछोरी पढाएका छन् । तर, उनीहरुको मेहनतको कमाइमाथि आँखा लगाउने पनि शहरमा उत्तिकै छन् ।

दिनभर कमाएको पैसा लुटिँदा हुने पीडाबाट धेरैले मुक्ति पाउन लागेका छन् ।

नगदरहित समाज बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकको अगुवाईमा देशैभरमा फलफूल तथा तरकारी बजारमा क्यूआरकोड राख्ने अभियान नै सञ्चालन गरिएको छ ।

यसै अभियान अन्तर्गत कुलेश्वरको फलफूल बजारमा नबिल बैंकले गत सातादेखि क्यूआरकोड परिक्षण गरेको थियो । त्यसको औपचारिक उद्घाटन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार गरे ।

गभर्नर अधिकारीले आफुले हस्ताक्षर गरेको नोट सर्वसाधारण व्यक्तिको हातमा नपरोस भन्ने सदिक्षा राख्दै आएका छन् । सोही इच्छालाई पूरा गर्ने ध्येयका साथ उनले शुक्रबार पनि सोही कुरा दोहोर्याए ।

क्यूआरकोड बाट हुने भुक्तानीलाई अझ विस्तार गर्दै देशव्यापी पहुँच पुर्याउने नीति लिएको उनले उल्लेख गरे । राष्ट्र बैंकको यो नीतिलाई फोनपेले साथ दिएको छ ।

गभर्नर अधिकारीको इच्छा तथा प्रमोद र सुल्तान जस्ता व्यवसायीको मनको डर एउटै उपायबाट हट्ने देखिन्छ । त्यो हो डिजिटल प्रविधिमा आधारित क्यूआर भुक्तानी प्रणाली ।

सामान्य पसल तथा व्यवसाय गर्नेदेखि, साइकलमा व्यवसाय गर्नेले समेत क्यूआरकोड राख्न सक्छन् । त्यसका लागि कुनै पनि लगानी गर्नुपर्दैन । राजधानीसहित देशका मुख्य शहर तथा शहरोन्मूख क्षेत्रमा त्यसको सुरुवात नै भइसकेको छ ।

भुक्तानी प्रणालीमा नेपालमा क्रान्ति नै ल्याएको एफवान सफ्ट अन्तर्गत फोन पेको प्रविधिमा बैंकहरुले धमाधम क्यूआर कोड राख्दैछन् । तल्ला तहमा समेत त्यस्तो सेवा विस्तार गरिएको छ । त्यस्तो सेवाको विस्तारले गभर्नर अधिकारीले भनेजस्तै क्रमशः क्यासलेस सोसाइटी बन्ने छ ।

यो योजनाअनुसार देशभरका एक हजारभन्दा बढी तरकारी बजारमा क्यूआरकोड जोड्ने योजना फोन पेको छ ।

पछिल्लो एक महिनामा नै काठमाडौंको ४ वटा तरकारी बजारका पसलमा क्यूआर कोड राखिएको छ । जसको उद्घाटन गभर्नर अधिकारी आफैले गरेका थिए ।

शुक्रबारमात्र गभर्नर अधिकारीले बल्खुको तरकारी बजारमा एनएमबि बैंकले र कुलेश्वरको फलफूल पसलमा नबिल बैंकले राखेको क्यूआरको उद्घाटन गरे । उद्घाटन गरेपछि गभर्नर अधिकारीले प्रसन्न मुद्रामा भने, ‘तरकारी र फलफूल त मेरो घरमा अब बढी हुने भयो ।’

गभर्नर अधिकारीले साइकलमा क्यूआरबाटै भुक्तानी गरेर फलफूल किनेकामा प्रमोद र सुल्तानपनि खुसी देखिए । गभर्नर अधिकारीले फलफूल किनेपछि उनीहरुसँग सेल्फीपनि लिए ।

नोटमा हस्ताक्षर गर्ने व्यक्तिले नोट नदिएर क्यूआरबाटै भुक्तानी गरेजस्तै अरुले पनि यस्तै भुक्तानी गरे नोट बोक्ने झन्झट हट्ने थियो । लुटिने तथा हराउने डर पनि कम हुने उनीहरुको आशा छ ।

क्यासलेस सोसाइटीले पारदर्शी समाज निर्माण गर्ने बुझाई गभर्नर अधिकारीको छ । त्यसका लागि सानोभन्दा सानो भुक्तानीपनि क्यासलेस हुनु आवश्यक छ । जुन क्यूआरबाट मात्रै सम्भव छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकले पनि क्यूआरको भुक्तानीको जीवनशैली बन्दै जाने देखिन्छ । साउन महिनामा १ लाख ९५ हजारवटा कारोबार भए । त्यसबाट ५८ करोड ९० लाख रुपैयाँको भुक्तानी क्यूआरबाट भएको थियो । गत मंसिर महिनामा मात्रै ३ लाख ४३ हजारवटा कारोबारबाट १ करोड २५ करोड रुपैयाँको कारोबार भएको थियो ।


आशीष ज्ञवाली