राष्ट्रिय गौरवका आयोजनाले चौमासिक लक्ष्य ८० % पुरा गरेको योजना आयोगको प्रतिवेदन



काठमाडौं । राष्ट्रिय योजना आयोगको अनुसार चालु आर्थिक वषको पहिलो चौमासमा नौ वटा राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति ८० प्रतिशत भन्दा बढी रहेको छ । चालु आर्थिक वर्षको बजेटले प्रथम चौमासिक लक्ष्यको तुलनामा उक्त प्रगति भएको हो ।

त्यस्ता आयोजनामा सिक्टा सिंचाइ आयोजनाको भौतिक प्रगति ९६.९३, भेरी बबई डाईभर्सन बहुउद्देशीय आयोजनाको भौतिक प्रगति ८०.२६, बुढीगण्डकी जलविद्युत आयोजनाको भौतिक प्रगति १३३.८९, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको १००, लुम्बिनी विकास कोषको ९५, हुलाकी लोकमार्ग ८१.४१, राष्ट्रपति चुरे तराई मधेश संरक्षण ८३.१७, महाकाली सिंचाइ आयोजनाको भौतिक प्रगति ८६.६७ र सुनकोशी मरिन हाईभर्सन आयोजनाको भौतिक प्रगति ९८.६८ प्रतिशतले रहेको छ ।

सिक्टा सिंचाई आयोजना बाँके जिल्लाको पश्चिमतर्फ र राप्ती पूर्वका ४२ हजार ७ सय ६६ हेक्टर कृषि योग्य भूमिमा सिंचाई पुर्याउने भन्दै आर्थिक वर्ष २०६१/०६२ बाट सुरु भएको हो । यो आयोजना आर्थिक वर्ष आव २०७१÷०७२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त आवधिमा आयोजना नसकिएपछि आव २०७७/०७८ मा सम्पन्न हुने अपेक्षा गरिएको छ । चालु आवको पहिलो चौमासको निर्धारित लक्ष्यको ९६.९३ प्रतिशत काम भएको छ । उक्त आयोजनाको लागत सुरुमा १२ अर्ब ८० करोड रहेपनि अहिले २५ अर्ब २ करोड पुगेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा उक्त आयोजनाको लागि १ अर्ब ५२ करोड ३ लाख विनियोजन भएकोमा भौतिक प्रगति ७५.६८ प्रतिशत देखिएको थियो यो अवधिमा समग्र प्रगति ५८.८४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०६८/०६९ बाट सुरु भएर आव २०७६÷०७७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको भेरी बबई डाईभर्सन बहुउद्देशीय आयोजनाको भौतिक प्रगति चालु आवको चार महिनामा लक्ष्यको ८०.२६ प्रतिशत भएको छ । उक्त आवधिमा आयोजना सक्ने भनिएपनि यसको अवधि थपेर २०७८÷७९ सम्म पुर्याईएको छ । गत आवको अन्त्यसम्ममा ४० प्रतिशत भौतिक प्रगति भएको देखिएको छ ।

सुर्खेत, बाँके र बर्दिया जिल्लाका केही क्षेत्रमा बाह्रै महिना सिंचाई सुविधा उपलब्ध गराउने भनेर करिब १५० मिटर हेडबाट नियमित रुपमा ४८ मेगावाट जलविद्युत उत्पादन गर्ने समेत लक्ष्य रहेको छ ।

आयोजनाको सुरुमा १६ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान रहेपनि अहिले ३३ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

राष्ट्रिय गौरवको आयोनजामा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको भौतिक प्रगति चालु आवको पहिलो चौमासमा लक्ष्यको तुलनामा १३३.८९ प्रतिशत रहेको योजना आयोगले जनाएको छ ।
धादिङ र गोरखा जिल्ला भएर बग्ने बुढी गण्डकी नदीमा सञ्चालन रहेको यस आयोजनाबाट १ हजार २ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आव २०६९÷०७० मा सुरु भएर आव २०७७/०७८ मा सम्पन्न गर्ने लक्ष्य रहेपनि अहिले त्यो लक्ष्यलाई संशोधन गरेर २०८३÷०८४ सम्म पुर्याईएको छ । सुरुमा यो आयोजनाको लागत २ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान रहेको थियो ।
अर्थ मन्त्रालयका अनुसार गत आवको अन्तिमसम्ममा विनियोजित बजेट ५ अर्ब ८६ करोड ६७ लाख रुपैयाँमा भौतिक प्रगति १० प्रतिशत रहेको थियो । समग्रमा भौतिक १३ प्रतिशत मात्रै रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो चौमासमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको भौतिक प्रगति लक्ष्य अनुसार नै भएको छ । यो अवधिमा आयोजनाको काम १०० प्रतिशत नै भएको देखिएको छ । आर्थिक वर्ष २०७१/०७२ मा बारा जिल्लाको निजगढमा सुविधा सम्पन्न अन्तराष्ट्रिय विमानस्थल निर्माण सुरु भएको हो । आव २०७८/०७९ मा सम्पन्न गर्ने भनिएपनि अहिलेसम्म आयोजनाको काम अपेक्षा अुनसार काम हुन सकेको छैन । जसका कारण आयोजना अवधिलाई संशोधन गरेर आव २०९१/९२ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको सुरुमा १ खर्ब २० अर्ब रुपैयाँ लागत रहने अनुमान रहेको छ । अहिले आयोजनाको लागि रुख कटान, ११० बिगाहा जग्गा मध्ये ६५ बिगाहा जमिनको मुआब्जा वितरण करिक ६० प्रतिशत सकिएको छ । गत आव २०७६/०७७ मा १ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएकोमा भौतिक प्रगति १ प्रतिशत मात्रै भएको छ ।

यस्तै आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्न भनेर २०४२ सालदेखि लुम्बिनी क्षेत्र विकास कोषको काम सुरु भएको थियो । कपिलबस्तुमा भगवान गौतम बुद्धको परित्र जन्मस्थलमा बौद्धमार्गीहरुको लागि अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रुपमा विकास गर्ने दीर्घकालिन लक्ष्यका साथ काम सुरु गरिएको थियो । उद्यानका ४ वटा गोलाई पोखरी, ४२ वटा प्लट निर्माण गरी केहीमा बगैंचा निर्माण, केन्द्रिय नहर, बाटर टावर र बाटर सप्लाई सिस्टम, केही क्यानल तथा पोखरी, ३ जोडी सिम्बोलिक पेभिलियन, सांस्कृतिक क्षेत्रमा २ वटा संग्राहलय लगायत भौतिक पूर्वाधार बनाउने योजना रहेको छ ।
उक्त आयोजनाको काम सम्पन्न गर्नको लागि आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब विनियोजन भएकोमा त्यसको भौतिक प्रगति ९५ प्रतिशत मात्रै भएको अर्थ मन्त्रालयले जनाएको छ ।

हुलाकी लोकमार्गको भौतिक प्रगति चालु आवको पहिलो चौमासमा लक्ष्यको ८१.४१ प्रतिशत सम्पन्न भएको छ । तराइ मधेशका २१ वटा जिल्लालाई समेटने गरी करिब ८० लाख जनतालाई प्रत्यक्ष लाभ दिने उक्त आयोजनाको काम पूर्व निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ । उक्त मार्ग र सहायक मार्गमा १ हजार ७९२ किलोमिटर सडक र २५० वटा पुलहरु रहेका छन् । ती सबै निर्माण गर्नुपर्ने छ । यो आयोजना आर्थिक वर्ष २०६५/०६६ देखि आयोजना निर्माण सुरु भएको थियो । आयोजना निर्माणको काम आव २०७४/०७५ मा सम्पन्न गर्ने भनिएपनि यसको निर्माण अवधिलाई थप गरेर २०७९/८० मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको लागि प्रारम्भिक लागत ४७ अर्ब २४ करोड रहेकोमा त्यसलाई संशोधन गरेर ६५ अर्ब २० करोड लाग्ने अनुमान गरिएको छ । अहिलेसमम १ हजार ७९२ किलोमिटरस लम्बाइमध्ये ५१२ किलोमिटर सडकको कालोपत्रे र ९५ वटा पुल निर्माण कार्य सकिएको छ । आयोजना निर्माण गर्नको लागि गत आवमा १३ अर्ब ६३ करोड १६ लाख विनियोजन गरेकोमा त्यसको भौतिक प्रगति ५४ प्रतिशत मात्रै भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारको राष्ट्रिय गौरवका आयोजनामा राष्टपति चुरे तराई मधेश संरक्षण आयोजनाको काम चालु आवको पहिलो चौमासमा लक्ष्यको ८३.१७ प्रतिशत काम सम्पन्न भएको योजना आयोगले जनाएको छ ।

आर्थिक वर्ष २०७०/७१ बाट सुरु भएको हो । पूर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३७ जिल्लाको १८ लाख ९६ हजार २५६ हेक्टर भूभाग समेटेको छ । २ खर्ब ४९ अर्ब ७० करोड १ लाख रुपैयाँ लागत रहेको २० वर्षीय गुरुयोजना हो । आव २०७१/७२ देखि सालवसाली कार्यक्रमको रुपमा रहेको र २०७४ बाट आव २०७४÷०७५ देखि आव २०९३/९४ सम्मको सालवसाली कार्यक्रम रहने छ ।
गत आवमा १ अर्ब ७३ करोड ६९ लाख विनियोजन भएकोमा भौतिक प्रगति ८५.७६ प्रतिशत सकिएको छ । चालु आवको पहिलो चौमासमा आयोजनाको काम लक्ष्यको तुलनामा ८३.१७ प्रतिशत काम सम्पन्न भएको  आयोगले जनाएको छ ।

यस्तै आयोगका अनुसार सुनकोशी मरिन हाईभर्सन आयोजनाको भौतिक चालु आवको पहिलो चौमासमा लक्ष्यको ९८.६८ प्रतिशत रहेको छ । यो आयोजना आर्थिक वर्ष २०७३/७४ बाट सुरु भएर आव २०८०÷८१ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । सिन्धुली जिल्लाको खुर्कोट नजिक रहेको सुनकोशी–तामाकोशी दोभानबाट करिब १ किलोमिटर तल सुनकोशी नदीमा ब्यारेज निर्माणका साथै हेडरेगुलेटर, डिसेन्डर तथा १३.३ किलोमिटर टनेलबाट सुनकोशी नदिको पानीमध्ये ६७ क्यूमेक्स पानी मरिन खोलामा खसाली विद्युत उत्पादन गर्ने र सिंचाइ गर्ने योजना रहेको छ । आयोजनाबाट २८.६२ मेगावाट विद्युत उत्पादन गर्ने र बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका १ लाख २२ हजार हेक्टर जमिन बर्षैभरी सिंचाइ पुर्याउने योजना रहेको छ । आयोजनाको कुल लागत ४६ खर्ब १९ अर्ब रुपैयाँ रहेको छ ।

आयोजनाको काम आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब २७ करोड ७६ लाख बजेट विनियोजन गरेकोमा त्यसको भौतिक प्रगति ८३.८७ प्रतिशत रहेको छ । आयोजनाको हालसम्म भौतिक प्रगति ०.५ प्रतिशत मात्रै रहेको छ ।


क्लिकमान्डु