कोरोनाको खोपमा कार्टेलिङ, धनी देशमा ४ करोड डोज पुग्दा गरिब देशमा छैन तयारी



एजेन्सी । संसारका धनी र शक्तिसम्पन्न देशले कोरोना भाइरसको खोपमा असाध्यै ज्यादती गरेको पाइएको छ ।

मानवीय स्वभाव प्रदर्शन गर्दै उनीहरुले पहिले आफूलाई र अनि मात्र अरुलाई भन्ने मान्यताका साथ काम गरेको पाइएको छ । पहिले म अघाउँछु अनिमात्र अरुलाई दिन्छु भन्ने मान्यताका साथ धनी राष्ट्रले व्योहोरा देखाएको पाइएपछि विश्व स्वास्थ्य संगठन नै बोल्नुपर्ने अवस्था आएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार विश्व स्वास्थ्य संगठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड १९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गनुको पछाडि सोही कारण रहेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम गेहब्रेयससले मलाई पहिला भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने समेत बताएका छन् । त्यसो गर्दा खोपको भाउ र जम्माखोरी बढ्ने उनले चेतावनी दिएका छन् । त्यसलाई अर्को भाषामा एकाधिकार वा कार्टेलिङ पनि भन्न सकिन्छ ।

पैसा र शक्तिको बलमा पालो मिच्ने, बीच बाटोबाट नै ठकैत शैलीमा खोप उठाएर लगिएको भन्ने समाचार समेत सार्वजनिक भएका छन् ।

विश्व सस्थ्य संगठनका महानिर्देशकले असमान खोप वितरणका कारण संसारभर नै चरम नैतिक संकट समेत देखिएको बताएका छन् । अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशको पूर्ण प्रतिबद्धता हुनुपर्ने भएपनि त्यस्तो देखिएको छैन ।

कोभ्याक्सअन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति थाल्ने तयारी गरिएको बिबिसीले जनाएको छ । उनले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ्य मानिसले खोप लगाउनु अनुचित रहेको बताइएपनि कुनै सुनुवाई भएको छैन ।

सोमवार डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै उनले भने ‘मैले केही खरो बोल्नु पर्ने भएको छ । विश्व नैतिक विफलताको डिलमा पुगेको छ । अनि यसको मूल्य विश्वका गरिब देशहरूका मानिसहरूले आफ्नो जीवन र जीविकाले तिर्नुपर्नेछ ।’

आफूलाई मात्र खोपको जोहो गर्ने शैली प्रति संकेत गर्दै उनले भने, ‘अन्ततः यस्ता कार्यले केवल महामारीलाई लम्ब्याइदिने छ । अनि त्यसका साथै महामारीका लागि आवश्यक निषेध अनि मानवीय र आर्थिक पीडा लम्बिनेछ ।’

संसारका ४९ धनी देशले ३ करोड ९० लाख मात्रा खोप लगाइसकेका छन् । तर न्यून आय भएको एउटा देशमा जम्मा २५ मात्रा खोप पनि पुगेको छैन ।

हालसम्म भारत, चीन, रुस, अमेरिका, यूके अनि केही बहुराष्ट्रिय टोलीले खोप विकास गरेका छन । सबैले आफैलाई मात्र खोप लगाउन लागिपरेका छन् ।

हालसम्म १८० देशहरू कोभ्याक्समा सामेल भएका छन्। यो सञ्जाललाई डब्लुएचओ तथा केही अन्तर्राष्ट्रिय निकायले सहयोग गरेका छन् ताकि देशहरूलाई एकताबद्ध पारेर औषधि कम्पनीलाई बढी नाफा नराख्ने गरी काम गर्ने वातावरण बनाउन सकियोस् भन्नेतर्फ ध्यान दिनु जरुरी देखिन्छ ।

यस अन्तर्गत न्यून वा मध्यम आय भएका ९२ देशहरूका निम्ति दाताहरूले खोपको पैसा तिरिदिने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विभिन्न पाँच खोप उत्पादक कम्पनीसँग २ अर्ब मात्राको खोप आपूर्ति सुनिश्चित गरिसकिएको छ । थप १ अर्ब मात्राको पनि विकल्प तयार पारिएको छ ।

उता हालसम्म इजरायलले २० लाखभन्दा धेरै वा एक चौथाइ जनसंख्यालाई खोप लगाइसकेको छ ।

क्यानडाको पनि आलोचना उत्तिकै भएको छ । उसले प्रत्येक क्यानडेलीलाई ५ पटक लगाउन पुग्ने मात्राको खोप अर्डर गरिसकेको बताइएको छ ।


पुष्प दुलाल