माघे संक्रान्तिमा नेपालकै तरुलले बजार धान्ने, कोरोनाले चाकुको खपत कम

आरिष्मा मोक्तान २०७७ पुष २९ गते ११:११ मा प्रकाशित

काठामाडौं । तिहार मसला, मिठाईको चाडपर्व भनेजस्तै चाकु, तीलको लड्डु र तरुलको पर्व हो माघे संक्रान्ति ।  हरेक वर्ष मागको शुरुवातमै मनाइने यो पर्व मनाइन्छ । माघमा विशेषगरी चाकु र तरुलको चाड पनि भन्ने गरिन्छ ।

त्यस्तै माघ नजिकिँदै गर्दा बजारमा तरुल, सख्खरखण्डा, पिडालु, स्कुसको जरा, सिमल तरुललगायत अन्य विभिन्न प्रकारका कन्दमुल देख्न सक्छौं । साथै, चाकु, तीलको लड्डु पनि व्यापारीहरूले माघको लागि तयार गरेर बेच्नका लागि राखिसकेका छन् ।

त्यस्तै, माघे संक्रान्ति पर्वलाई लक्षित गरेर कालिमाटी तरकारी तथा फलफुल बजारमा उल्लेखनीय कन्दमुल भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

चिसो मौसम अर्थात् माघे संक्रान्तिमा अत्याधिक मात्राले तरुलको माग हुने र बिक्री हुने भएकाले सोही अनुसार बजारमा तरुलको आगमन हुने गर्दछ । साथै, आन्तरिक बजारमा उत्पादन भएका अधिकांश तरुल यही चाडपर्वको बेलामा बिक्री हुने व्यवसायीहरू बताउँछन् ।

यस्तै माघे संक्रान्ति लक्षित यो वर्ष ९ सय ६३ टन तरुल, पिँडालु २ सय ३१ टन र सखरखण्ड २ सय ५४ टन भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास मितिका सुचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सबैभन्दा बढी आगमन पुस भएको हुनाले सोही तथ्याङ्कलाई आधार मानेर माघको लागि आयात भएको बताए ।

साथै, बजारमा तरुलको माग राम्रै भएकाले तरुलको खपत पनि राम्रै भइरहेको उनको भनाइ छ ।

‘हामीकहाँ धेरै थरीका तरुल पाइन्छ । घर तरुल, बन तरुल, हात्तिपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल, स्कुसको जरा । यससँगै पिँडालु, सख्खरखण्ड रहेको छ । यसले गर्दा विभिन्न प्रकारको मूल्य भिन्न भिन्नै छ,’ उनले क्लिकमान्डूसँग भने, ‘हाल बजारमा तरुलको प्रकार अनुसार ६० रुपैयाँ देखि २ सय ५० प्रतिकेजीमा बिक्री भइरहेको छ ।’ त्यस्तै, गत वर्षको तुलनामा यो वर्ष तरुलको मूल्यमा खासै फरक नरहेको उनले बताए ।

हरेक वर्ष पौषको महिनामा अत्याधिक मात्रामा देखा पर्ने तरुल आन्तरिक बजारमै उत्पादन भएको तरुल रहेको छ ।

‘चालु आवदेखि हालसम्ममा ११ सय १५ टन तरुल भित्रिएको छ,’ उनले भने, ‘जसमा ९६ प्रतिशत तरुल आन्तरिक बजारको छ भने बाँकी ४ प्रतिशत मात्रै भारतबाट आयात भएको छ ।’

यसले गर्दा नेपालको उत्पादनले नै बजार धान्न सक्ने अवस्था रहेको उनको अनुमान छ । त्यस्तै, बजारमा आउने अधिकांश तरुल सर्लाहीबाट उत्पादित तरुल भित्रिन्छ भने बारा, धार्दिङ, नवलपरासि, चितवन, तनहुँलगायत जिल्लाबाट पनि केही मात्रामा भित्रिने उनको भनाइ छ ।

कोरोनाले चाकुको खपत कम

त्यस्तै, माघे संक्रान्ति नजिकीएसँगै बजारमा चाकु, र लड्डुको व्यापार पनि बढ्ने गर्दछ । यस्तै, माघ नजिकिँदै गर्दा उपत्यकाको लागि चाकु उत्पादनमा प्रख्यात टोखाका चाकु उद्योगीलाई भ्याईनभ्याई छ ।

तर, यो वर्ष कोरोनाले गर्दा चाकुको माग र खपत कम भएको टोखाका चाकु उद्यामी हंशराज श्रेष्ठ बताउँछन् । पुर्खौली पेसाको रुपमा उद्योग सञ्चालन गर्दै आएको श्रेष्ठका अनुसार चाकु उत्पादनको लागि तराईबाट सख्खर ल्याएर बनाउनुपर्ने बाध्यता सुनाए ।

विगतको दिनमा टोखामै उखु उत्पादन गरेर सख्खर बनाउने परम्परा रहेकोमा अहिले भने टोखामा उखु उत्पादन नभएपछि तराईको कृष्णनगरबाट सख्खर उत्पादन गरी चाकु बनाइरहेको उनले बताए ।

‘चाकु संक्रान्तिमा मात्रै प्रयोग नभई जाडो महिना पनि बढी प्रयोग हुने गर्दछ,’ उनले भने, ‘ तर यो वर्ष जाडोमा पनि गत वर्षको जस्तो चाकु खपत हुन सकेको छैन ।’

त्यस्तै, सरोज टोखा लक्ष्मीपुर चाकु उद्योगका सञ्चालक सरोज श्रेष्ठका अनुसार कोरोनाले गर्दा २५ प्रतिशतले खपत तथा कम माग आएको बताए ।

विगतको दिनमा माघ संक्रान्तिलक्षित १५० बोरा चाकु तयार गरेको यो वर्ष करिब १०० बोरा मात्रै तयार गरेको उनले बताए । टोखा चाखुको लागि प्रख्यात भएकाले अहिले हरेक वर्ष उपत्यकाका लागि टोखाबाट आपूर्ति गरिएको उनको दाबी छ ।

तर, यो वर्ष कोरोनाले निकै प्रभावित भएकाले सख्खरमा केही मूल्य वृद्धि भएता पनि चाकुमा भने मूल्य वृद्धि नभएको उनको भनाइ छ । त्यस्तै, माघे संक्रान्तिमा मात्रै एक चाकु व्यवसायीले करिब २० लाखसम्मको व्यापार गर्दै आएकोमा यो वर्ष भने निकै कम भएको उनको अनुमान छ ।

अहिले टोखामा झण्डै दर्जनभन्दा बढीको हाराहारीमा चाकु उद्योगहरु रहेका सञ्चालनमा रहेका छन् । उक्त सञ्चालनमा रहेका चाकु उद्योगीले आज पनि पराम्परागत सैलीबाट उत्पादन गरिरहेका छन् । यसले गर्दा आगामी दिनमा चाकु उद्योगलाई व्यवस्थीत गर्दै आधुनिक मेसिनहरुको प्रयोगमा सरकारले पनि चासो देखाउनु पर्ने व्यवसायीहरूको भनाइ छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स