ऋणीलाई दुःख दिने एनआईसी एशियाको व्यवसाय विस्तारमा छलाङ,नम्बर वान बन्न नाफामा ध्यान
कोभिडको कारण ऋणको माग ठप्प भएपछि बैंकहरुमा पैसा बढी भयो । अघिल्लो वर्ष ऋण दिनका लगि पैसाको अभाव भएका बैंकहरुसँग अहिले ऋण दिने पैसा छेलोखेलो छ ।
बैंकसँग ऋण दिने पैसा बढी भएको र नयाँ परियोजना नआएपछि बैंकहरुले एउटा बैंकको ऋण अर्कोले खोस्न थाले । अर्थात् एक वर्षअघिसम्म निक्षेप खोसाखोस गर्ने बैंकहरु यो पटक कर्जा खोसाखोस गर्न थाले ।
अर्को बैंकको निक्षेप खोसेर बैंकिङ क्षेत्रमा बिकृति भित्र्याएको आरोप लागेको एनआईसी एशिया बैंकले यो पटक पनि अरुको कर्जा खोस्न सफल भयो ।
२ वर्षअघि बैंकिङ क्षेत्रमा तरलता संकट भएको बेला ऋणीको ब्याजदर अत्याधिक बढाएर आलोचना भोगेको एनआईसी एशिया बैंकमा ऋण सिफ्ट नहुने बुझाइ केही बैंकरको थियो । तर, एनआइसी एशियाले यसको उल्टो पछिल्लो ९ महिनामा निक्षेप पनि सर्वाधिक बढायो । र, कर्जा पनि ।
शाखा अत्याधिक खोले पनि एनआईसी एशिया निक्षेपमा एक नम्बर स्थानमा पुगेको थिएन । एनआईसीलाई राष्ट्रिय वाणिज्य बैंकले अगाडि आउन दिएको थिएन । ऋणमा अगाडि आए पनि गत वर्ष ग्लोबल आइएमई बैंकले जनता बैंकलाई मर्ज गरेपछि निक्षेप र कर्जाको आकारमा ग्लोबल आइएमई बैंक पहिलो भयो ।
एनआईसी एशियाले निक्षेप र कर्जाको आधारमा पहिलो स्थानमा रहेको ग्लोबल आइएमई बैंकलाई त्यो स्थानमा धेरै समय टिक्न दिएन । कोभिडको समय पछिल्लो ९ महिनामा एनआईसी एशिया बैंकले ७१ अर्ब ५ करोड रुपैयाँ निक्षेप बढायो भने कर्जा ५७ अर्ब १६ करोड रुपैयाँले बढायो ।
अहिले निक्षेप र कर्जाको आधारमा एनआईसी एशिया पहिलो बैंक बनेको छ । एनआईसी एशियासँग अहिले २ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप छ । यही रफ्तारमा हिड्न सफल भएमा एनआईसी एशियाले यो वर्षमा आफ्नो निक्षेपको आकार ३ खर्ब रुपैयाँ पुर्याउने छ ।
एनआईसी एशियाले २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा दिएको छ ।
राष्ट्र बैंकमा सबैभन्दा बढी गुनासो पनि एनआइसी एशियाकै बैंककै बारेमा जाने गरेका छन् । ऋणीले एक महिना किस्ता तिर्न ढिलो गर्दा लिलामीको सूचना निकाल्ने एनआईसी एशिया बैंकले ग्राहक तान्न सक्नुको पछाडिको कारण हो शाखा संख्या । एनआईसी एशियाको अहिले देशभर ३ सय ३३ वटा शाखा कार्यालय छन् ।
कुनैबेला अत्याधिक ‘कन्जरभेटिभ’ बैंकको पहिचान बनाएको एनआईसी बैंक अफ एशियासँग मर्ज गरेर एनआइएसी एशिया बन्यो ।
मर्ज भएको केही वर्षमा लामो समयसम्म बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका शसिन जोशीले बैंक छाडे । शसिनले बैंक छाडेसँगै एनआईसी एशियाले ‘कन्जरभेटिभ’ बैंकलाई एग्रेसन बैंकिङमा परिणत गर्यो । आक्रामक ढंगले शाखा विस्तारसँगै ब्रान्डिङ ।
कोभिड अगाडिसम्म हरेक महिना एनआईसी एशिया बैंकले कर्मचारी आवेदन माग गर्ने गरेको थियो । एनआईसी एशियामा हरेक दिन कर्मचारीको राजीनामा र नियुक्तीको क्रम चलिरहेको हुन्थ्यो ।
चैतमा सरकारले कोभिड १९ को कारण लकडाउन गरेपछि बैंकले आफ्नो रणनीतिमा परिवर्तन गर्यो । यसमा पहिलो काम ब्रान्डिङको खर्च घटाउनु थियो । एनआईसी एशियाको वार्षिक विवरण हेर्दा २० करोडजति ब्रान्डिङमा खर्च गरेको थियो । त्यसपछि बैंकले ३ वर्षदेखि करारमा रहेका कर्मचारी कोभिडको समयमा रुवाएर निकाल्यो । अर्थात् नाफा मात्र हेर्ने रणनीतिले करारमा रहेका २ सयभन्दा बढी कर्मचारीले कोभिडको समयमा जागिरबाट हात धुनुपर्यो ।
त्यसपछि एनआईसी एशियाले बचतको ब्याजदर कटौती गर्यो । विभिन्न योजना दिएर ६ प्रतिशत ब्याजदरमा उसले बचतमा पैसा उठाएको थियो । एकैपटक त्यसलाई एनआईसी एशियाले डेढ प्रतिशतमा झार्यो ।
कुल निक्षेपमा ३० प्रतिशत हिस्सा बचतको भएको एनआईसी एशियालाई त्यसले बेसरेट घटाउन मद्दत गर्यो । जसले गर्दा एनआईसी एशिया बैंकको बेसरेट ७ प्रतिशतभन्दा तल झर्यो । जसले गर्दा बैंकले अरु बैंकका ऋणीहरु तान्न सफल भयो । सबैभन्दा बढी शाखाले गर्दा बैंककलाई निक्षेप बढाउन कुनै असजिहलो भएन । जसले गर्दा बैंकले सजिलोसँग अरुको बिजनेश तान्न सफल भयो ।
‘एनआईसी एशियाले ग्राहकलाई दिने दुःखले गर्दा ऋणीहरु त्यो बैंकमा जादैनन् भन्ने बुझाइ हाम्रो थियो । तर, एनआईसी एशियाले त्यसलाई गलत सावित गरिदियो,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले क्लिकमाण्डूसँग भने ।
बैंकले गरेको बदमासीबारे मिडियामा चर्चा भए पनि शाखा सन्जालले गर्दा उसलाई व्यवसाय बढाउन सजिलो भयो ।
ऋण तान्नको लागि नै एनआईसी एशिया बैंकले विकास बैंकले २ करोड नदिएका ग्राहकलाई पनि १० करोडसम्मको ऋण दियो । जसले गर्दा बैंकको व्यवसाय अत्याधिक बढ्यो ।
बैंकले चालु आर्थिक वर्षमा अहिलेसम्ममा ७१ अर्ब निक्षेप र कर्जा ५७ अर्ब रुपैयाँ कर्जा बढायो । जुन सिभिल बैंकले अहिलेसम्म संकलन गरेको निक्षेप बराबर हो । सिभिल बैंकको अहिले कुल निक्षेप ७१ अर्ब ९४ करोड छ । कर्जा ६४ अर्ब ९७ करोड छ ।
एनआईसी एशिया बैंकले बनाएको रणनीति भनेको सबै सूचकमा नम्बर एक बन्ने हो । अहिलेसम्म निक्षेप र कर्जा तथा शाखा संजालमा नम्बर एक बने पनि नाफा तथा प्रतिफलमा एक नम्बर बन्न सकेको छैन । २७ वटा वाणिज्य बैंकमा सेयर बजारमा सबैभन्दा बढी मूल्य नबिलको नै छ ।
तर, सेयर बजारमा लगानीकर्ताको आकर्षण पनि पछिल्लो समय एनआईसी एशियामा भएको देखिन्छ । एनआईसी एशियाको अहिले बजार पूँजीकरण १ खर्बभन्दा बढी भएको छ । सेयर मूल्य तथा बजार पूँजीकरणको हिसाबले नबिल बैंकपछि दोस्रो स्थानमा एनआईसी एशिया बैंक आएको छ ।
पछिल्लो एक महिनामा मात्र एनआईसी एशिया बैंकको सेयर मूल्य २६९ रुपैयाँले बढेको छ ।
नाफा बढाउनको लागि एनआईसी एशियाले अहिले आफ्नो लगानी भएको विभिन्न संस्थाको सेयर मूल्य बिक्री गरेको छ । कोभिडको समयमा धितो लिलामी गरेको आरोपसमेत एनआईसी एशियालाई लागेको छ ।