पोखरामा थपियो अर्को बञ्जी, साथमा ‘टावर क्लाइमिङ’ पनि गर्न पाइने



काठमाडौं । पर्यटकीय नगरी पोखरामा ‘एडभेञ्चर टुरिजम’ अन्तर्गत थप अर्को संसरचना निर्माण गरिएको छ ।

लामो समयदेखि विभिन्न पर्यटकीय गन्तव्यका लागि ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गरेको पोखरामा पर्यटकको ‘स्टे’ बढाउनका लागि एकपछि अर्को गर्दै पर्यटकीय पूर्वाधार निर्माणको काम तीव्ररुपमा बढिरहेको छ ।

यसअघि प्याराग्लाइडिङ, बञ्जी, जीप फ्लायर सेवा उपलब्ध भएको पोखरामा अब केही समयपछि केबलकार पनि सञ्चालनमा आउँदैछ । त्यससँगै गत मंगलबारदेखि पोखरा–१७ रातोपैरामा बञ्जी नेपाल एड्भेञ्चर कम्पनीले ‘टावर क्लाइमिङ’ शुरु गरेको छ ।

कम्पनीका अध्यक्ष तथा प्रोफेसनल बञ्जी मास्टर सन्तोष भट्टराई र उनको टिमले उक्त सेवा शुरु गरेको हो । गत बैशाखमै सेवा सञ्चालनमा ल्याउने योजना अनुसार काम शुरु भए पनि कोरोना महामारी र त्यसपछि लागू भएको लकडाउनका कारण निर्धारित समयमै सेवा सञ्चालन हुन सकेको थिएन् ।

कम्पनीले निर्धारित समयभन्दा करिब ९ महिनापछि टावर क्लाइमिङ सेवा शुरु गरेको हो । कम्पनीमा ८ करोड लगानी गरिएको छ तर कोभिडका कारणले थप २० देखि ३० लाख रुपैयाँको लगानी बढ्ने उनको भनाइ छ ।

‘पोखरामा आउने पर्यटकको स्टे बढाइराख्न र एड्भेञ्चर टु्रिजमको अनुभव दिलाउनका लागि सेवा सञ्चालनमा ल्याइएको हो । अहिले टावर क्लाइमिङ मात्रै सञ्चालनमा छ भने योजना अनुरुप काम भयो भने एक महिनामा बञ्जी जम्प पनि शुरु गरिनेछ,’ भट्टराईले क्लिकमाण्डूसँग भने ।

उनका अनुसार टावर क्लाइमिङ ३५ मिटर अग्लो छ । जसका लागि हाललाई १ हजार रुपैयाँ शुल्क तोकिएको छ भने फोटो लिन चाहनेहरुले थप २ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

उनका अनुसार सुरक्षालाई उच्च प्राथमिकतामा राखने संरचना निर्माण गरिएको छ । विगत १२ वर्षदेखि बञ्जी मास्टरका रुपमा विभिन्न देशमा काम गरेको अनुभव संगालेका भट्टराईले पोखरामा बञ्जी र टावर क्लाइमिङ शुरु गरेका हुन् ।

उनका अनुसार अहिले बञ्जीका सामान तिब्बतमा रोकिएका छन् । कोरोना महामारीका कारण सामान आउनमा ढिलाइ भइरहेको छ ।

‘बञ्जीको सामान आइपुग्न अझैं १ महिना लाग्ने देखिएको छ, समयमै आयो भने १ महिनामा शुरु गर्न सक्छौं,’ उनले भने ।

उनका अनुसार बञ्जीको टावरदेखि जमिनसम्मको दुरी १२५ मिटरको छ भने ९६ मिटरसम्म बञ्जी जम्प हुनेछ । उनका अनुसार कम्पनीले अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार प्रयोग गरिएको छ भने सुरक्षामा विशेष ध्यान दिइएको छ ।

‘हामीले सुरक्षामा विशेष ध्यान दिएका छौं, ट्रयालका लागि १ हजारपटक जम्प गर्नुपर्ने हुन्छ । त्यसपछि बञ्जी शुरु हुन्छ,’ उनले भने, ‘एउटा रोपबाट १ हजारपटकसम्म बञ्जी गर्न मिल्छ भने हामीले ठ्याक्कै आधा अर्थात् ५ सय पटक रोप प्रयोग गर्छौ ।’

भट्टराईले आफू बञ्जी मास्टरका रुपमा अन्तर्राष्ट्रिय स्तरमा सर्टिफाइड हुने पहिलो व्यक्ति भएको दावी गरे । उनले यसअघि मकाउ, चीन, न्यूजिल्याण्ड, अष्ट्रेलिया र जापानमा बञ्जी मास्टरका रुपमा काम गरिसकेका छन् ।

हाल कम्पनीमा २० जना कार्यरत छन् । कर्मचारीहरुले लामो समयदेखि तालिम दिएर दक्ष बनाएर तयारी अवस्थामा राखिएको भट्टराईले बताए ।


क्लिकमान्डु