वाणिज्य बैंकहरुले नै हाम्रा ग्राहक खोस्न थाले: रवि गुरुङ



दश वर्षअघिसम्म पोखरामा मुख्य कार्यालय राखेर कारोबार गर्दै आएका विकास बैंक र फाइनान्स कम्पनीको संख्या दर्जन बढी थियो । जसमध्ये कतिपय संस्थाहरु मर्जर तथा एक्वायरमा सहभागी भएर आफ्नो अस्तित्व विलय गरिसकेका छन् भने कतिपय संस्थाहरु स्तरोन्नति भएर काठमाडौंमा मुख्य कार्यालय राखेर कारोबार गर्दै आएका छन् । तर, २०५३ सालमा स्थापना भएको पोखरा फाइनान्स भने न त मर्जर तथा एक्वायरमा नै सहभागी भएको छ न त मूख्य कार्यालय काठमाडौंमै सारेको छ । मोफसलबाट काम गर्दा के कस्ता कठिनाइहरु भोग्नु परेको छ । प्रतिस्पर्धी बजारमा पोखरा फाइनान्सले कसरी आफूलाई टिकाइराखेको छ । कम्पनीको आगामी रणनीति के छ ? लगायतका विषयमा केन्द्रित रहेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत रवि गुरुङसँग क्लिकमाण्डूले गरेको कुराकानीः

कुनै समय पोखरामा मूख्य कार्यालय राखेर काम गर्ने बैंक तथा वित्त कम्पनीको संख्या दर्जन बढी थियो । अहिले पोखरा फाइनान्स मात्रै छ नि ?

पोखरा फाइनान्स २०५३ साल चैत ३ गतेदेखि सञ्चालनमा आएको हो । पहिला पुँजी पनि थोरै थियो । कुनैबेला राष्ट्रियस्तरको फाइनान्स कम्पनीलाई २० करोड रुपैयाँ चुक्ता पुँजी भए पुग्थ्यो । अहिले न्यूनतम चुक्ता पुँजी ८० करोड रुपैयाँ तोकिएको छ । चुक्ता पुँजी बढाउनका लागि हामीले एकपटक मात्रै हकप्रद सेयर जारी गरेका थियौं । बोनस सेयरमार्फत् तै हामीले चुक्ता पुँजी ९२ करोड रुपैयाँ पुर्याइसकेका छौं । र, यो वर्ष हामी ५ प्रतिशत बोनस सेयर दिँदैछौं । पुसमा साधारणसभा हुन्छ । र, त्यसपछि ९६ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी हुन्छ ।

पुँजीअनुसार बिजनेशचाहीँ बढ्यो कि बढेन ?

पछिल्लो ४/५ वर्षमा जुन अनुपातमा चुक्ता पुँजी बढ्यो, त्यो अनुपातमा विजनेश ग्रोथ भएको छैन । हामी फाइनान्स कम्पनी भएकाले ठूल्ठूला कर्पोरेट लोन दिन हाम्रो क्षमता हुने कुरै भएन । हामी ठूलो लोनको जोखिम बहन गर्न सक्दैनौं । हामीले साना तथा मझौला र रिटेल लोन दिने हो ।

कोरोना भाइरस र लकडाउनले तपाईंहरुलाई कस्तो असर पार्यो ?

पहिला पोखरा फाइनान्स गण्डकी प्रदेशमा बढी केन्द्रित थियो । यो प्रदेशमा खासै ठूल्ठूला उद्योगहरु र कर्पोरेटहरु छैनन् भन्दा पनि हुन्छ । पोखरा पर्यटकीय हिसाबले निकै अघि छ । जसकारण यो क्षेत्रको बिजनेश र आर्थिक गतिविधि पर्यटनसँग बढी सम्बन्धित छ ।

पोहोरसालसम्म पोखरामा पर्यटकको संख्या उल्लेख्य मात्रामा बढिरहेकै थियो । त्यसको सकरात्मक प्रभाव सबैतिर परेको थियो । अहिले कोरोनाको सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको छ । जसकारण पोखराको व्यापार–व्यवसाय अत्यन्तै प्रभावित भएको छ । जसको असर बैंक तथा वित्तीय संस्थाहरुमा पनि परेको छ ।

व्यापार-व्यवसाय सञ्चालन गर्नका लागि दिएको ऋण उठाउन अहिले हामीलाई निकै समस्या परेको छ । राष्ट्र बैंकले नै पर्यटनलाई अतिप्रभावित क्षेत्रमा वर्गिकरण गरेर ०७८ असार मसान्तसम्म पनि ब्याजमात्रै तिरे हुने व्यवस्था गरिसकेको छ । पोखराको फाइनान्स कम्पनी भएपछि पर्यटनमा लगानी नहुने भन्ने कुरै भएन । हामी फाइनान्स कम्पनी भएकाले स-सानो लोनमात्रै छ । जसकारण हामीलाई धेरै ठूलो प्रभाव चाहीँ परेको छैन । यद्यपि प्रभावचाहीँ परेको छ ।

तपाईंहरुले एकातिर विकास बैंक र वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्नु परेको छ भने अर्कातिर सहकारी र लघुवित्त कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नु परेको छ । यस्तो अवस्थामा टिक्न निकै कठिन संघर्ष गरिरहनु परेको होला है ?

निश्चय पनि अहिले बजारमा तीब्र प्रतिस्पर्धा छ, जसकारण हामीलाई काम गर्न निकै गाह्रो भएको अवस्था हो । वाणिज्य बैंकहरुको आधार दर कम भएकाले हाम्रोभन्दा ब्याजदर निकै कम हुनु स्वभाविक नै हुने भयो । तर, फाइनान्स कम्पनीमा किन ग्राहकहरु आइरहनु भएको छ ? भन्ने प्रश्न आउन सक्छ ।

वाणिज्य बैंकको तुलनामा स्वाभाविकरुपमा ब्याजदर केही महंगो भएपनि हामीले ग्राहकलाई सरल र छिटो सेवा दिएका कारण हामीकहाँ ग्राहकहरु आकर्षित भइरहनुभएको छ । हाम्रा सीमित ग्राहक हुनुहुन्छ । जसकारण हामीले उहाँहरुलाई नजिकबाट नियाल्न पाएका छौं । स-सानो पोर्टफोलियो भएका ग्राहकहरु पोखरा पाइनान्स छोडेर अर्को संस्थामा जानु हुन्न । तर ठूला ग्राहकहरु चाहीँ ब्याजदरका कारण छाडेर जानुहुन्छ ।

ऋणको प्रस्ताव आएपछि हामी अत्यन्तै छिटो फाइल अघि बढाउँछौं । र, ऋण पनि डिस्भर्स गर्छौं । यो नै हाम्रो विशेषता हो । बिनाधितो दिने ऋण सबै कागजात मिलेको अवस्थामा एक दिनमै डिस्भर्स गर्छौं । धितो भएको ऋण दिन चाहीँ ३ दिन लाग्छ । हामी राष्ट्र बैंकको निर्देशनको हूबहू पालना गरेर पनि छिटो काम गर्छौं ।

वाणिज्य बैंकहरुले ग्राहक खोस्न थाले भन्ने तपाईंको गुनासो छ । कसरी खोसिरहेका छन् ?

कोरोना कहरपछि हामीलाई झनै गाह्रो भएको छ । हाम्रा ठूला ऋणीहरु वाणिजय बैंकले तान्न थालेका छन् । र, अर्को कुरा हामीले १ करोड नपत्याएका ऋणीलाई वाणिज्य बैंकहरुले २ करोड दिएर खोस्न थालेका छन् । यो चाहीँ बैंकिङ क्षेत्र र नियामक राष्ट्र बैंकको पनि चिन्ताको विषय हो ।

तर, केही वर्ष यतादेखि हामीले ठूलो आकारका ऋण विस्तारै कम गर्ने रणनीति अबलम्बन गर्दै आएका थियौं । जसकारण वाणिज्य बैंकहरुले खोस्दा आउने सक्ने ठूलो दुर्घटना कम भएको छ । हाम्रो नीति के थियो भने १०/१५ वटा साना कर्जा दिएपछि मात्रै एउटा ठूलो कर्जा दिने । यसको अर्थ इन्केश ठूलो फाइल अन्त गइहाल्यो भने पनि हामीलाई ठूलो असर नपरोस् भन्ने हो । हामीले कुनै शाखालाई १० करोड कर्जा विस्तार गर्नुपर्ने टार्गेट दियौं भने रकमको मात्रै टार्गेट दिँदैनौं । क्षेत्रगत र आकारको पनि टार्गेट दिन्छौं । जसकारण हामीसँग सानो फाइलको मात्रा धेरै भएकाले ठूला ऋणीले छोडेर जाँदा पनि टिकिरहनु सकेका छौं । बिजनेश शुरु गर्ने बेलामा हामीकहाँ ऋण लिन आउँछन् । र, अलि राम्रो बिजनेश गर्न थालेपछि र आकार पनि बढ्दै गएपछि वाणिज्य बैंकले लैजान्छन् । कर्पोरेटलाई शुरुमा पाल्ने मात्रै हामीले हो दूहुनो भएपछि त वाणिज्य बैंकले लगिहाल्छन् ।

जसरी वाणिज्य बैंकहरुले तपाईंहरुका ग्राहक खोस्छन्, त्यसैगरी तपाईंहरुले पनि त सहकारी र लघुवित्त कम्पनीका ग्राहक खोस्नुहुन्छ होला नि ?

सामान्यतया सहकारी र लघुवित्तका ग्राहक आउने गरेको केश १ प्रतिशतभन्दा कम नै छ । किनभने सहकारीमा कारोबार गरिरहेकाहरु फाइनान्स कमपनीको औपचारीक च्यानलमा आउन चाहँदैनन् । किनभने हामी राष्ट्र बैंकको बलियो नियमनमा छौं । जसकारण यो बैधानिक च्यानलमा उहाँहरु आउन हिच्किचाउनुहुन्छ ।

कतिसम्मको ऋणलाई तपाईंहरुले ठूलो मान्नुहुन्छ र समग्र पोर्टफोलियोमा त्यसको हिस्सा कति छ ?

हाम्रा लागि ३ करोडभन्दा माथिको ऋण ठूलो हो । कूल लोन पोर्टफोलियोमा २० प्रतिशतमात्रै यस्तो ऋणको हिस्सा छ । हामी ऋण बढाउँदा आकारमा भन्दा संख्यामा बढी जोड दिन्छौं ।

राष्ट्र बैंकले कोरोना प्रभावितलाई दिएको राहतले तपाईंहरुलाई कस्तो प्रभाव पार्यो ?

सरकार र राष्ट्र बैंकले कोरोना प्रभावितलाई बैंकमार्फत् राहतको घोषणा गरे । जसको प्रत्यक्ष असर हामीलाई परेको छ । शुरुमा हामीले १० प्रतिशत ब्याज छुट दियौं । त्यसपछि २ प्रतिशत ब्याजदर कम गर्यौं । र, कर्जा तिर्ने मिति पछि सारेका कारण अहिले तिर्न सक्नेहरुले पनि कर्जा तिरेका छैनन् । जसको असर पनि बैंक तथा वित्तीय संस्थाहरुलाई परिरहेको छ । अघिल्लो वर्षको भन्दा गत वर्ष हाम्रो प्रोभिजनिङ २३६ प्रतिशतले बढेको छ । औषतमा १९ प्रतिशत लाभांश दिँदै आएको पोखरा फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई जम्मा ५ प्रतिशत मात्रै लाभांशको घोषणा गरेको छ । यो नै हामी कति प्रभावित भयौं भन्ने सबैभन्दा बलियो उदाहारण हो ।

पोखरा फाइनान्सले लगानीकर्तालाई कस्तो प्रतिफल दिइरहेको छ ?

वितेका २ वर्षमा हामीले लगातार १४.२ प्रतिशत लाभांश दिएका थियौं । गत आवको नाफाबाट यो वर्ष भने जम्मा ५ प्रतिशतमात्रै दिँदैछौं । अहिले कोरोनाले असर गर्यो । वार्षिक औषतमा पोखरा फाइनान्सले १९ प्रतिशत लाभांश दिएको थियो । पछिल्ला महिनाहरुमा केही सुखद संकेतहरु देखिन थालेका छन् । जसकारण यो वर्षको नाफाबाट आगामी वर्ष दोहोरो अंकको प्रतिफल दिन सकिने अपेक्षा गरेका छौं ।

हामीले पोखराका केही पर्यटन व्यवसायीसँग कुराकानी गरेका थियौं । उहाँहरुको गुनासो के थियो भने यस्तो कठिन अवस्थामा पनि बैंकहरुले फोन गरेर दवाव दिइरहेका छन् । यसरी दवाव दिनु उचित होला र ?

सरकारले प्रभावितको वर्गिकरण गरिसकेको छ । र, सोही अनुसार हामीले काम गरिरहेका छौं । हामीले हाम्रो ग्राहकको विगत पनि हेर्छाैं । कोरोनाकै कारण तिर्न नसकेको हो कि अरु नै कारणले भने पनि हामी विश्लेषण गर्छौं ।

लकडाउनअघि नियमित किस्ता तिरिरहेका ग्राहकलाई हामीले कुनै पनि दवाव दिएका छैनौं । तर, त्यसअघि नियमित किस्ता तिर्न नसकेकाहरुलाई बैंकहरुले अहिले फलोअप गरिरहेको कुरा चाहीँ सत्य हो । हामीले कुनै पनि ग्राहकलाई दवाद दिएका छैनौं । बरु नियमित फलोअप गरिरहेका छौं । धेरै ठाउँमा फलोअपका लागि त म आफैं पुग्ने गरेको छ । कतिपय ठाउँमा हाम्रा ब्राञ्च म्यानेजर, रिस्क म्यानेजरहरु जानुहुन्छ । हामीले उहाँहरुलाई के कस्तो छ भनेर सोधीखोजी गर्छौं । किनभने बैंक तथा वित्त कम्पनीहरुले पनि बिजनेश नै गरिरहेका छन् । तर हामीलाई सरकारले कुनै पनि सहुलियत दिएको छैन । यस्तो अवस्थामा ऋणीले पैसा तिरिदिए हुन्थ्यो भन्ने आशा त हामीलाई पनि हुन्छ नै ।

पोखरा फाइनान्सका ग्राहक कति छन् त ?

हामीकहाँ ३० हजारको हाराहारीमा निक्षेपकर्ता हुनुहुन्छ भने ऋण लिनेहरुको संख्या ८ हजारको हाराहारीमा छ । अहिले हाम्रो निक्षेप ८ अर्ब ८० करोड र कर्जा ७ अर्बको हाराहारीमा छ । कोरोनाको महामारी नभएको भए गत वर्ष नै हाम्रो निक्षेप १० अर्ब र कर्जा साढे ८ अर्बको हाराहारीमा हुन्थ्यो । २३ वटा शाखा र १६९ जना कर्मचारी छन् ।

पछिल्लो समय निक्षेप कर्जा दुबै बढ्न थालेको हो ?

असोजपछि बढ्न थालेको छ । पछिल्लो ३ महिनामा मात्रै हामीले ८० करोडको हाराहारीमा निक्षेप बढायौं । रेमिट्यान्स सोचेजति नघटेका कारण निक्षेपमा ठूलो असर परेन । तर, त्यो अनुपातमा कर्जा बढाउन सकिएको छैन । मान्छेहरु अझै पनि ऋण लिएर व्यवसाय सञ्चालन गर्ने हिम्मत गर्न सकिरहेका छैनन् । कोरोनाअघि नै बिजनेश गर्ने योजना बनाएकाहरु पनि अहिले होल्ड गरिरहेका छन् । आशा गरौं केही महिनापछि कर्जाको माग पनि बढ्ने छ ।

२४ वर्षको इतिहास बोकेको पोखरा फाइनान्सको आकार त धेरै सानो भएन र ? बिजनेश ग्रोथ गर्न नसक्नुको कारण के होला ?

निश्चय पनि यति लामो इतिहास बोकेको संस्थाको बिजनेशको आकार सानो भएको चाहीँ हो । त्यो कुरा हामीले पनि फिल गरेका छौं । तर, यसका पछाडि केही कारण छन् । बिजनेश गर्न नसक्दा चुक्ता पुँजी बढेपछि त्यो अनुपातमा प्रतिफल दिन सकिरहेका छैनौं । यद्यपि पछिल्ला केही वर्षमा बिजनेश ग्रोथ पनि सन्तोषजनक नै भइरहेको छ ।

कुनै समय २/३ वटा कर्जाका फाइलमा समस्या आएका कारण खराब कर्जाको अनुपात ५ प्रतिशतभन्दा बढी भयो र राष्ट्र बैंकले पोखरा फाइनान्सलाई पीसीए लगायो । जसकारण हामीले केही वर्ष शाखा खोल्न सकेनौं । शाखा नबढाइ त बिजनेश बढ्दैन । जुन बेला पिक अप दिनुपर्ने थियो त्यो समयमा शाखा खोल्न नसकेका कारण बिजनेश ग्रोथ हुन नसकेको हो । पछिल्लो समयमा त्यो समस्याको समाधान भइसकेको छ । अहिले हाम्रो संस्थाको खराब कर्जा अनुपात १ प्रतिशतभन्दा कम छ । पोखरा र गण्डकीमा मात्रै केन्द्रित नभई तराई र काठमाडौंमा पनि हामीले शाखा विस्तार गरिसकेका छौं । जसकारण बिजनेश बढ्न थालेको छ । आगामी दिनमो यो क्रम अझ तीब्र हुनेछ । काठमाडौंमा खिचापोखरी, गोंगबु र कुमारीपाटीमा हाम्रो उपस्थिति छ भने तराईमा भैरवहा, बुटवल, मनिग्राम, सुनवल, कावासोती, नारायणगढमा पनि शाखा विस्तार गरेका छौं ।

कुनै समय पोखरामा मूख्य कार्यालय रहेका विकास बैंक र फाइनान्स कम्पनीको संख्या दर्जन बढी थियो । सबै संस्था मर्जर र स्तरोन्नति गरेर पोखरालाई छाडेर गए । तर, पोखरा फाइनान्सचाहीँ जहाँको त्यहीँ छ नि, किन ?

हाम्रो सञ्चालक समिति र प्रवद्र्धकहरुको धारणा पोखराको एउटा संस्था बचाइराख्नुपर्छ भन्ने छ । आर्थिक वर्ष ०७२/७३ को मौद्रिक नीतिले चुक्ता पुँजी बढाउने नीति लिँदा अलिकति अफ्ठेरो परेको भए त्यसबेलै पोखरा फाइनान्स मर्जर वा एक्वायरमा गइसकेको हुन्थ्यो । यो संस्थामा ५८ जना प्रवद्र्धक हुनुहुन्छ । उहाँहरुलाई पुँजी थप गर्न खासै समस्या छैन । अलिकति बिजनेश बढाउन सक्ने हो भने मोफसलमा बसेर राम्रैसँग काम गर्न र टिक्न सकिन्छ भन्ने उहाँहरुको धारणा छ ।

बैंकहरु आक्रमक हुनुपर्छ तर पूर्णरुपमा कम्प्लाइड हुनुपर्छ । जसकारण अब बैंकहरुले पहिलाको जस्तो ४०/५० प्रतिशत प्रतिफल दिनसक्ने अवस्था छैन । अबको प्रतिफल भनेको १० देखि २० प्रतिशत हो । र, पोखरा फाइनान्सले पनि १० देखि २० प्रतिशतसम्मको प्रतिफल दिन सक्छ ।

त्यसोभए तत्कालै मर्जर वा एक्वायरमा जाने सोच छैन ?

सोचाइ नै नभएको भन्ने होइन । पोहोर साल पनि र यो साल पनि हाम्रो साधारणसभामा मर्जर तथा एक्वायरको एजेण्डा हुनु भनेको हामी तयार छौं भन्ने हो । तर हामीले हतार नगरेको चाहीँ सत्य हो । राम्रो जोडी पाए त मर्जरमा जान पनि सक्छौं । आगामी दिनमा राष्ट्र बैंकले कस्तो नीति लिन्छ हामी सोही अनुसार अघि बढ्नैपर्ने हुन्छ ।

मोफसलमा बसेपछि आगामी ३ वर्षभित्र हामी पहिलो नम्बरको फाइनान्स कम्पनी बन्छौं । अबको ५ वर्षपछि कम्तिमा पनि हाम्रो निक्षेप २० अर्ब र कर्जा १८ अर्ब रुपैयाँ कर्जा नाघिसकेको हुन्छ ।

सहकारीलाई पनि सर्वसाधारणले फाइनान्स भन्ने गरेको पाइन्छ । सहकारीमा विभिन्न किसिमका विकृतिहरु छन् । यसले तपाईंहरुजस्ता फाइनान्स कम्पनीलाई कस्तो असर पारेको छ ?

सहकारीका कारण हामी फाइनान्स कम्पनीहरुलाई व्यापारका हिसाबले ठूलो असर त परेको छैन । तर सहकारीलाई पनि सर्वसाधारणले फाइनान्स भन्ने गरेकाले हाम्रो इमेजमा चाहीँ ठूलै असर परेको छ । सहकारीले ठगी गर्यो भने पनि फाइनान्सले ठग्यो भन्छन् । त्यसबेला हामीलाई चसक्क हुन्छ । तर, पोखरामा हाम्रो फाइनान्सलाई अलि भिन्न ढंगले हेरिन्छ । पोखरा फाइनान्स धेरै पूरानो भएकाले हामीलाई पोखरामा हाम्रो इमेजमा खासै समस्या छैन । तर अन्य क्षेत्रमा भने परेको छ ।

आगामी चुनौतिहरु के के देख्नुभएको छ ?

कोरोनाको असर बाहेकका चुनौतिहरु कुरा गर्दा सबैभन्दा पहिलो चुनौति हो नीतिगत तहबाटै सम्बोधन हुनुपर्ने विषयहरु छन् । वाणिज्य बैंक र फाइनान्स कम्पनीले गर्ने काम ९९ प्रतिशत एउटै हुन् । लक्षित ग्राहक पनि उही हुन् । जबसम्म नीतिगतरुपमै अलिकति सेग्रिगेशन हुँदैन, तबसम्म फाइनान्स कम्पनीलाई काम गर्न धेरै गाह्रो हुन्छ । र, अर्को कुरा राजनीतिक अस्थिरताले ल्याउने चुनौतिको सामना त हामीले फेरि पनि गर्नुपर्ने भएको छ । दक्ष जनशक्ति अभावको चुनौति दिनानूदिन थपिइरहेको छ ।


पुष्प दुलाल