कोरोना प्रभावः औद्योगिकको आयात कर्जा र हायर पर्चेज कर्जा घट्यो
काठमाडौं । बैंक तथा वित्त कम्पनीहरुले प्रवाह गर्ने अधिकांश क्षेत्रको कर्जा घटेको छ । चालु आर्थिक वर्षको ५ महिनामा बैंक तथा वित्त कम्पनीले ३४ खर्ब ३३ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
जुन टर्म लोन, ओभर ड्राफ्ट, ट्रस्ट रिसिप्ट (आयात) लोन, चालु पुँजी कर्जा, रियल स्टेट लोन, हायर पर्चेज लोन, विपन्न वर्ग कर्जा, बिल पर्चेज, क्रेडिट कार्ड, एजुकेशन लोन र अन्य गरी ११ शिर्षकमा कर्जा प्रवाह भएको हो । जसमध्ये ६ वटा शिर्षकको कर्जा गत आवको असार मसान्तको तुलनामा कार्तिक मसान्तमा घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
गत आवको असार मसान्तसम्म यी शिर्षकमा ३२ खर्ब ६६ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । कुल कर्जा परिमाण कार्तिक मसान्तसम्म १ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँले बढेको छ । तर सो अवधिमा औद्योगिक संस्थाको ओभरड्राफ्ट, ट्रस्ट रिसिप्ट लोन तर्फ सबै शिर्षकमा, रियल स्टेट लोनमा १ करोड ५० लाख रुपैयाँ भन्दा तलमा प्रवाह हुने आवासीय घरजग्गा कर्जा र कर्मसियल कम्प्लेस एण्ड रेसिडेन्टल अपार्टमेन्ट लोन, हायर पर्चेज लोन र एजुकेशन लोन घटेको छ ।
कोरोना भाइसरको प्रभावले अर्थतन्त्र प्रभावित हुँदा आयातमा आधारित औधोगिक तथा व्यापारीक क्षेत्र र व्यक्तिगत प्रयोजनका कर्जा घटेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।
‘विशेष गरी आयातका लागि हुने प्रतित पत्रका आधारमा लिइने कर्जा उल्लेख घटेको देखिन्छ,’ प्रवक्ता भट्टले क्लिकमाण्डूसँग भने, ‘कोरोना भाइसरको संक्रमण जोखिमका कारण उद्योग, कलकारखानाहरु प्राय बन्द थिए ।’
अहिले कोरोना भाइसरको प्रभाव अर्थतन्त्र र मानविय गतिविधमा कम हुँदै गएको हुँदा विस्तारै आर्थिक गविधि चलायमान भएर यी क्षेत्रमा कर्जा विस्तार बढ्ने उनको विस्वास छ । वस्तु आयातका लागि लिइने कर्जाभन्दा सेवा आयातका लागि लिइने कर्जा असार मसान्तको तुलनामा काक्तिक मसान्तमा घटेको उनले जानकारी दिए ।
गत आवको असार मसान्तको तुलनामा चालु आवको काक्तिक मसान्तमा कुल ट्रस्ट रिसिप्ट (आयात) लोन २.८ प्रतिशत अर्थात् ३ अर्ब ८१ करोड रुपैयाँले घटेको छ । गत असार मसान्तमा १ खर्ब ३८ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा काक्तिक मसान्तमा १ खर्ब ३४ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ । सो शिर्षकबाट प्रवाह हुने औद्योगिक क्षेत्रका लागि आयात कर्जा ३.९ प्रतिशत अर्थात् ३ अर्ब २६ करोड ६० लाख रुपैयाँले घटेको छ । गत असारमा ८३ अर्ब ५ करोड ४६ लाख रुपैयाँ प्रवाह भएको औद्योगिक संस्थाका लागि आयात कर्जा काक्तिक मसान्तमा ७९ अर्ब ७८ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ ।
गत असारमा ५१ अर्ब ६९ करोड ४८ लाख रुपैयाँ व्यवसायिक संस्थाको आयात कर्जा प्रवाह भएकोमा काक्तिक मसान्तमा ०.३ प्रतिशतले घटेर ५१ अर्ब ५६ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ । साथै, गत असारमा सेवा क्षेत्रका संस्थाहरुका लागि ३ अर्ब १३ करोड ७४ लाख रुपैयाँ आयात कर्जा प्रवाह भएकोमा काक्तिक मसान्तमा १२.७ प्रतिशतले घटेर २ अर्ब ७३ करोड ९२ लाख रुपैयाँमा सीतित भएको छ । अन्य क्षेत्रका लागि प्रवाह हुने कर्जा समेत ४ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, गत आवको असार मसान्तमा कुल १ खर्ब ७४ अर्ब ५ करोड ७७ लाख रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह भएको थियो । जुन चालु आवको काक्तिक मसान्तसम्म आइपुग्दा ३.३ प्रतिशत अर्थात ५ अर्ब ७० करोड ३२ लाख रुपैयाँले घटेर १ खर्ब ६८ अर्ब ३५ करोड ४५ लाख रुपैयामा सीमित भएको छ । जसमा व्यवसायिक प्रयोजनका लागि १ खर्ब ११ अर्ब २० करोड ४१ लाख रुपैयाँ र व्यक्तिगत प्रयोजनका लागि ५७ अर्ब १५ करोड ४ लाख रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह भएको हो ।
असार मसान्तको तुलनामा कार्तिक मसान्तमा व्यवसायिक प्रयोजका लागि प्रवाह हुने हायर पर्चेज कर्जा ३.३ प्रतिशत अर्थात् ३ अर्ब ८० करोड ९१ लाख रुपैयाँ र व्यक्तिगत प्रयोजका लागि प्रवाहित हायर पर्चेज कर्जा ३.२ प्रतिशत अर्थात् १ अर्ब ८९ करोड ४१ लाख रुपैयाँले घटेको छ ।
मानिसले आफ्ना अतिरिक्त आवश्यकतालाई भन्दा आधारभुत आवश्यकतालाई प्रथमिकतामा राखेर खर्च गर्दा सवारी साधन खरिदका लागि जाने कर्जा घटेको राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले बताए ।
‘कोरोनाले गर्दा व्यक्तिगत आम्दानी घटेको छ, त्यसकारण यस अवधिमा प्राथमिकताको आधारमा आवश्यकता वर्गिकरण गरी खर्च गर्ने प्रचलन बढेको देखिन्छ ।’
विलासिलताका सामान खरिदमा खर्च कटौती गर्दा सवारी साधानका खरिद बिक्री घट्नुका साथै यो क्षेत्रमा जाने कर्जा समेत घटेको उनको भनाइ छ ।
यस्तै, सो अवधिमा शैक्षिक कर्जा समेत १०.८ प्रतिशतले घटेको छ । गत असारमा २० अर्ब ६७ करोड ९९ लाख रुपैयाँ शैक्षिक कर्जा प्रवाह भएको थियो । जुन कार्तिक मसान्तसम्म आइपुग्दा २ अर्ब २३ करोड २१ लाख रुपैयाँले घटेर १८ अर्ब ४४ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ । साथै, असार मसान्तमा औद्योगिक संस्थाका लागि ९२ अर्ब ९१ करोड ५६ लाख रुपैयाँ ओभरड्राफ्ट कर्जा प्रवाह भएको थियो । जुन चालु आवको ंमसान्तमा २.६ प्रतिशत अर्थात् २ अर्ब ३७ करोड २० लाख रुपैयाँले घटेर ९० अर्ब ५४ करोड ३६ लाख रुपैयाँमा सीमित भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।