कृषिमन्त्रालयलाई चिन्ताः कोरोनाले गर्दा तालिम पनि गर्न पाइएन



काठमाडौं । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले चालु आर्थिक वर्षमा गर्नुपर्ने महत्वपूर्ण कामलाई कोरोनाको बाहना बनाएर रोकेको छ । चालु आर्थिक वर्षको पहिलो ४ महिनाका लागि गर्नैपर्ने १३ वटा काम छुट्याएको भए पनि कोरोनालाई देखाउँदै उक्त काम हुन नसकेको देखिएको छ ।

मन्त्रालयले समग्र देशको कृषि उत्पादनमा सुधार ल्याउने कार्यक्रम, चर्चामा आउने खालका कार्यक्रम राखेपनि कोरोना र कर्मचारीको बाहना देखाउँदै काम गर्न सकेको छैन ।

मन्त्रालयले चार महिनाको अवधिमा राष्ट्रिय फलफूल विकास कार्यक्रम अन्तर्गतका काम कर्मचारीको अभाव, कोरोना, जग्गा प्राप्तिका काम नसकिएको कारण काम हुन नसकेको देखाएको छ ।

मन्त्रालयले शितोष्ण बागवानी विकास केन्द्र मार्फा मुस्ताङमा दरबन्दी अनुसार पदपुर्ति नहुँदा तलब तथा स्थानीय भत्ता बापतको ठूलो रकम खर्च गर्न नसकेको तर्क गरेको छ ।

साथै फल प्रशोधनका लागि आवश्यक पर्ने सामग्री कोरोनाको कारण किन्न नसकेको जनाएको छ । यस्तै कफी विकास केन्द्रका लागि आँपचौर गुल्मीमा जग्गा खरिदको काम सकिएको भएपनि मुआब्जा समिति गठन भएको भए पनि कफी विकास केन्द्रका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न बाँकी रहेको जनाएको छ ।

यस्तै राष्ट्रिय आलु तरकारी तथा मसला विकास कार्यक्रम पनि कोरोनाका कारण अघि बढाउन नसकेको तर्क गरेको छ । मन्त्रालयका अनुसार कोरोनाका कारण पिबिएस आलु बीउ सम्बन्धी तालिम, प्लाण्ट क्लिनिक, सर्भे, सर्भिलेन्स लगायतका तालिम चलाउन समेत नसकेको जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाकै कारण मत्स्य विकास कार्यक्रम पनि कोरोनाले नै रोकेको छ । यसको लागि टेन्डरको कार सकेको र निर्माणको काम सुरु हुन कोरोनाले रोकेको हो । निर्माणको मात्रै नभएर तालिम लगायतका काममा पनि कोरोनालाई अवरोध देखाइएको छ ।

यस्तै प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन कार्यक्रमका लागि छुट्याईएको पैसा चाँही दरबन्दी अनुसार कर्मूचारी नहुँदा खर्च गर्न समस्या भएको छ । बाली विकास तथा जैविक विविधता संरक्षण कार्यक्रमको लागि बीउ बिजन आपूर्ति तथा व्यवस्थापन निर्देशिका–२०७७ सरकारबाट स्वीकृत हुन बाँकी रहेकोले श्रोत बीउमा आउटपुट बेस इन्सेन्टिभ उपलब्ध गराउन नसकेको जनाएको छ । यस्तै कृषि विकास फार्म चन्द्रडाँगीमा इन्जीनियरको जनशक्ति अभाव हुँदा पुँजीगत निर्माण तथा सुधारका काम सञ्चालनमा आउन सकेको छैन ।

यस्तै कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन कार्यक्रम बहुवर्षिय ठेक्का सम्बन्धी मापदण्ड २०७७ अनुसार तारकेश्वर नगरपालिकाको कार्ययोजना अघि बढाउन अझै समय लाग्ने जनाएको छ ।

मोरङ, चितवन, धनगढी र सुर्खेतमा भएका प्रयोगशालामा कोरोना परिक्षणको काम हुँदा पशु स्वास्थ्य रोग अन्वेषण सेवा तथा क्वारेन्टाइन कार्यक्रम प्रभावकारी बन्न नसकेको जनाएको छ ।

त्यस्तै लाइभस्टक सेक्टर इनोभेशन आयोजनाको काममा पनि कोरोना नै बाधन बनेको छ । यसको लागि आवश्यक तालिम गोष्ठी, कृषक पाठशाला जस्ता कार्यक्रम कोरोनाका कारण रोकिएको छ । केन्द्रीय कृषि प्रयोगशाला कार्यक्रम पनि कोरोनाकै कोरण रोकिएको मन्त्रालयको दाबी छ । कोरोनाले गर्दा तालिम, गोष्ठी, घुम्ती शिविर चलाउन समस्या भएको छ ।


क्लिकमान्डु