होङसी सिमेन्ट उद्योगले बिजुली पाएन, प्राधिकरणका कामु कार्यकारी निर्देशक भन्छन्– जेठसम्म लाइन बन्छ



काठमाडौं । चिनियाँ लगानीको होङसी शिवम् सिमेन्ट उदोगले लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणसँग ८० मेगावाट विद्युत् माग गरेको भएपनि प्रसारण लाइनको अभावमा प्राप्त गर्न सकेको छैन ।

होङ्सी सिमेन्टमा बिजुली लैजान ५ हजार ६०० रुख काट्नुपर्नेछ । वन मन्त्रालयले आवश्यक सहजीकरण नगरिदिँदा उद्योगले डिजल प्लान्ट चलाएर विद्युत् उत्पादन गरिरहेको छ ।

नवलपरासीको बर्दघाटदेखि सर्दीसम्म १३२ केभीए प्रसारण लाइन निर्माणका लागि रूख कटान गर्नुपर्ने छ । वन मन्त्रालयले विद्युत् प्रसारण लाइन निर्माण क्षेत्रमा रूख काट्ने अनुमति दिइसकेको भएपनि कार्यान्वयनमा आउन सकेको छैन । यस्तै, प्रसारण लाइन निर्माणको जिम्मेवारी पाएको प्राधिकरणले पनि समयमा काम गरेको छैन ।

नवलपरासी पूर्वको विनयीत्रिवेणी गाउँपालिका–२ सर्दीमा हाङ्सी सिमेन्टको कारखाना छ । प्रसारण लाइनको लागि बर्दघाट सबस्टेसनदेखि दाउन्ने, दुम्कीबास हुँदै सर्दीका रुख कटान हुने छन् ।

सो उद्योग नेपालको सबैभन्दा ठूलो उक्त सिमेन्ट उद्योगका लागि आवश्यक विद्युत् सरकारले दिनुपर्ने परियोजना विकास सम्झौतामा उल्लेख थियो । सोही सहमतिअनुसार १३२ केभीए प्रसारण लाइनको निर्माण भइरहेको भएपनि उल्लेख्य प्रगति हुन सकेको छैन ।

उद्योगको दैनिक उत्पादन क्षमता १२ हजार टन छ । प्रसारण लाइन निर्माणको लागि सरकारले ४५ करोड रुपैयाँ विनियोजन गरेको थियो । प्रसारण लाइनमा ६६ वटा टावर निर्माण हुने छ ।

उद्योगले बिजुली नपाएपछि सरकार र प्राधिकरणको चौतर्फी आलोचना भएको छ । वैदेशिक लगानीका ठूला उद्योगमा विद्युत्, पानी, सडक र सुरक्षा नेपाल सरकारले दिनुपर्ने व्यवस्था छ ।

पाल्पामा क्लिङकर खानी रहेको उद्योग २०० सय विगाहा क्षेत्रफलमा फैलिएको छ । उद्योगमा ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी छ ।
प्रसारण लाइनको अभावमा बिजुली नपाएपछि उदोगले डिजल प्लान्ट चलाएर बिजुली निकालेको छ ।

यही आलोचनाका बीचमा मंगलबार लगानी बोर्डको कार्यालयमा बोर्ड,नेपाल विद्युत् प्राधिकरण र होङसी सिमेन्ट परियोजनाका पदाधिकारीबीच छलफल भएको थियो ।

छलफलमा विद्युत् प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्ने सहमति भएको छ । छलफलमा प्राधिकरणका कायममृकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आगामी जेठभित्र उक्त परियोजनाका लागि प्रसारण लाइन निर्माण गरी विद्युत् आपर्ति हुने व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका थिए ।

बोर्डका प्रवक्ता धमेन्द्रकुमार मिश्रले उद्योगलाई विद्युत् उपलब्ध गराउने बारेमा छलफल भएको बताए ।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले पनि प्रसारण लाइन शिघ्र निर्माण गर्ने प्रतिवद्धता जनाउँदै स्थलगत निरीक्षण गरेका थिए ।

सरकारले नेपालका उत्पादित बिजुली भारत र बंगलादेश निर्यात गर्ने विषयमा छलफल गरिरहेको छ । केही दिन अघि सम्पन्न नेपाल , भारत ऊर्जा सचिवस्तरीय बैठकमा समेत सो बारेमा कुराकानी भएको थियो ।

नेपालभित्रै बिजुलीको माग बढाउने तर्फ प्रयास नगरी विदेश निर्यात गर्न मात्रै हतारो गरिएको भन्दै उद्योगी व्यवसायीले आपत्ति जनाएका छन् ।

होङसीले मात्रै झण्डै १०० मेगावाट बिजुली खपत गर्न सक्छ । यस्तै विरगन्ज, भैरहवा औद्योगिक करिडोरमा समेत ५०० मेगावाट बिजुली खपत हुन सक्छ ।


पुष्प दुलाल